टीयूको पिचले यसपटक ब्याट्सम्यानलाई किन धोका दियो ? – Nepal Press

टीयूको पिचले यसपटक ब्याट्सम्यानलाई किन धोका दियो ?

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न विश्वकप लिग–२ को पहिलो त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत भएका ६ खेलमा टस जित्ने टोलीले हरेकपटक पहिला बलिङ गर्ने निर्णय लिए । यो शृंखलामा टस जित्ने टोलीले ५ खेल जिते ।

नेदरल्यान्ड्सविरुद्ध मात्र नामिबियाले टस हारेर पहिला ब्याटिङ गर्दै खेल जितेको थियो। त्यसबाहेकका अन्य ५ खेलमा पहिला ब्याटिङ गर्ने टोली धरासयी बनेका थिए । त्रिवि क्रिकेट मैदानमा ८ वटा पिच छन्। तीमध्ये ३, ५ र ६ नम्बर पिचमा विश्वकप लिग–२ को यो शृंखलाका खेलहरु खेलाइएको थियो ।

यो शृंखलाअघि क्यानडा र नेपालबीच त्रिवि मैदानमै तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरु भएका थिए । तर पिचले यसरी ब्याट्सम्यानलाई धोका दिएको थिएन । पहिला ब्याटिङ गर्ने टोलीले राम्रै योगफल तयार गरेका थिए । त्रिवि मैदानको पिचलाई ब्याटिङ मैत्री मानिन्छ । घाँस नभएकाले ब्याट्सम्यानलाई अनुमान गरेर खेल्न सजिलो हुने मानिन्छ ।

तर नेपालसहित नामिबिया र नेदरल्यान्ड्स तीनवटै टोलीलाई यहाँ पहिला ब्याटिङ गर्नु सकसपूर्ण रह्यो। लगातारको यो प्रदर्शनपछि हामीले त्रिवि क्रिकेट मैदानमा पिच निर्माणमा खटिएका अधिकारीलाई सोध्यौँ की त्यसो के गर्नु भयो र यो शृंखलामा पहिला ब्याटिङ गर्ने टोलीलाई गाह्रो बन्यो । ती अधिकारीले पिचमा कुनै गडबढी नभएको बताए ।

‘क्यानडाका लागि जसरी पिच तयार गरिएको थियो, यो शृंखलाका लागि पनि हामीले त्यसरी नै पिच तयार गरेका हौँ’, पिच तयारीमा खटिएका क्युरेटर मधु लामा भन्छन्, ‘पहिला ब्याटिङ गर्दा सुरुका एक डेढ घण्टा ब्याट्सम्यानलाई गाह्रै हुन्छ। जति नै ड्राई देखिएपनि बिहानको समयमा केही न केही मोइस्चर हुन्छ । घाम लाग्दै जाँदा सुक्ने भएकाले ब्याट्सम्यानलाई खेल्न क्रमश सजिलो हुन्छ । यसपटक सबै टोलीका ब्याट्सम्यानलाई पहिला ब्याटिङ गर्दा गाह्रो भएको देखियो । तर क्यानडाविरुद्धको शृंखलाका लागि जसरी तयार गरिएको थियो, त्यसरी नै तयार गरेका थियौँ यो शृंखलाका लागि ।’

आइतबार नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्दै एक सय ७२ रनमा अलआउट भएर पछि ८ विकेटले खेल हारेपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले चुनौतीपूर्ण पिचमा टिकेर खेल्ने ब्याट्सम्यानसिप नेपाली ब्याटरमा कमि भएको उल्लेख गरेका थिए ।

लामो समयसम्म चलेको प्रधानमन्त्री कप महिला र पुरुष क्रिकेटका कारण पनि पिचले स्वभाव परिवर्तन गरेको नेपाली टोलीभित्रको सदस्यहरु बताउँछन् । प्रधानमन्त्री कप क्रिकेटका कारण मात्र करिब एक महिना त्रिवि मैदान प्रयोगमा आएको थियो । त्यो सकिएको ३/४ दिनमै क्यानडाविरुद्धको शृंखला सुरु भएको थियो ।

पीचको तयारीलाई स्वीकार गर्छन् क्युरेटर लामा ।

‘सामान्यतया पिचलाई तयार गर्न १५ दिनको समय चाहिन्छ। हामीले सुरुमा गरेको तयारीले प्रधानमन्त्री कप र क्यानडाविरुद्धको शृंखलासम्म काम गरेको हुनुपर्छ। तर क्यानडासँगको शृंखला सकिएको २÷३ दिनमै हामीले विश्वकप लिग–२ को शृंखलाका लागि पिचलाई रेडी गर्नु पर्ने भयो’, लामा भन्छन् । उनका अनुसार प्रधानमन्त्री कप क्रिकेटका लागि १,७ र ८ नम्बरका पिचहरु प्रयोग भएका थिए ।

‘पानी र रोलर चलाएर पिच तयार गरिन्छ । ब्याटिङ पिच तयार हुन हामीलाई कम्तिमा पनि १५ दिनको समय चाहिन्छ’, उनले भने । पिचको चार इन्च गहिराई ‘कम्प्याक्ट’ भएपछि त्यो ब्याट्सम्यानका लागि राम्रो मानिने बताइन्छ। किला जस्ता धारिला बस्तु गाडेर कति र कहाँसम्म कम्प्याक्ट भयो भनेर जाँच्ने गरिन्छ ।

‘पिच त्यसरी चार इन्चसम्म कम्प्याक्ट भयो भने ब्याट्सम्यानलाई बल अनुमान गर्न सजिलो हुन्छ। तर जस्तो कि बल फरक फरक उचाईमा बाउन्स भइरहेको छ भने त्यो ब्याट्सम्यानका लागि सजिलो हुँदैन’, उनी भन्छन् ।

क्युरेटर लामाका अनुसार सामान्यतया पिच तयार गर्दा सुरुमा २÷३ दिनसम्म लगातार पानी लगाइन्छ। त्यसले करिब चार इन्च तलसम्म भिजेपछि अनि रोलर चलाइन्छ। विस्तारै पिच सुक्दै गएपछि त्यसमा रोलर र पानीको तालमेल मिलाएर पिचलाई चार इन्चसम्म ‘कम्प्याक्ट’ मिलाइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *