घरेलु शृङ्खलामा निराशा : कहाँ चुक्यो नेपाल ?
काठमाडौं । विश्वकप लिग-२ को पहिलो त्रिकोणात्मक शृङ्खलामा नेपालले घरेलु मैदानमा नै निराशा व्यहोरेको छ । नेदरल्यान्ड्स र नामिबिया सम्मिलित प्रतियोगितामा नेपालले खेलेका ४ खेलमा तीन हार स्वीकार्न बाध्य भयो ।
यो प्रतियोगितामा नेपालले शतप्रतिशत जितको लक्ष्य राखेको थियो । त्यो कुनै महत्वाकांक्षी लक्ष्य पनि थिएन । प्रतियोगिता अगाडिसम्म यस्तो भाष्य बनिसकेको थियो कि घरेलु मैदानमा हुने म्याचमा नेपालले कुनै पनि एसोसिएट्स टिमलाई सजिलै घुँडा टेकाउँछ । हुन पनि नेपालले घरेलु मैदानमा हार्न बिर्सिसकेको थियो । प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा लगातार १५ वटा एकदिवसीय म्याचमा जित हासिल गरेको थियो ।
क्यानाडाविरुद्ध ३ खेलको मैत्रीपूर्ण शृङ्खला क्लीनस्वीप गर्दै उच्च आत्मविश्वाससहित नेपाल लिग-२ को पहिलो साइकलमा प्रवेश गर्यो । तर, पहिलो म्याचमै अनपेक्षीतरुपमा नामिबियाले झट्का दियो । त्यसपछिका तीन मध्ये नेपालले नेदरल्यान्ड्सविरुद्ध एक खेल जित्यो भने दुईवटामा पराजय व्यहोर्यो । प्रतियोगितामा नेपालको ब्याटिङ फ्लप भयो भने बलिङले पनि कुनै चमत्कार देखाउन सकेन ।
नेदरल्यान्ड्स एसोसिएट्समा बलियो टीम मानिन्छ । भर्खरै विश्वकपमा दक्षिण अफ्रिका र बङ्गलादेशलाई हराएर उसले आफ्नो क्षमता उजागर गरेको छ । नामिबिया भने औसत टीम हो । नेपालले नामिबियाविरुद्ध दुई जितको आशा राखेको थियो । तर, उल्टो भयो । नामिबियाले नेपाललाई दुवै खेलमा मात दियो ।
त्रिविको पिचलाई अलिकति दोष दिन सकिन्छ । विगतमा सधैँ नेपाली ब्याट्सम्यानहरुले खुलेर ब्याटिङ गर्ने टीयुको पिचले यसपाला आफ्नो स्वभाव परिवर्तन गरेको पाइयो । पहिले ब्याटिङ गर्ने टिमले रन बनाउन निकै संघर्ष गर्नुपर्ने अवस्था थियो । दोस्रो इनिङमा भने ब्याटिङ सहज देखियो । फलतः प्रतियोगितामा ६ खेलमध्ये ५ वटा दोस्रो ब्याटिङ गर्ने टीमले जितेका छन् । तीन खेलमा टस हार्नु नेपालको दुर्भाग्य भयो । तर, यसो भनेर टीमको कमजोरी ढाकछोप हुन सक्दैन ।
आफ्नो घरेलु मैदानमा पिचको स्थिति अनुसार ब्याटिङ शैली परिमार्जन गर्न नेपाली टीम तयार रहनुपर्थ्यो । यो ३०० रन बन्ने पिच होइन भन्ने बुझेपछि त्यही अनुसार सुझबुझपूर्ण तरिकाले खेल्नु पर्थ्यो । जसरी पनि पूरा ५० ओभर ब्याटिङ गर्ने रणनीति हुनुपर्थ्यो । यसमा ब्याट्सम्यानहरू चुकेको देखिन्छ । नेपालले पहिलो ब्याटिङ गरेका तीनवटै खेलमा ५० ओभर टिक्न सकेन । जबकि नेपालको ब्याटिङ लाइन अप निकै गहिरो थियो । ११ नम्बरका ललित राजवंशी बाहेक सबैले ब्याटिङ गर्न सक्थे । तर, कसैले पनि जिम्मेवारी लिएर खेल्न सकेनन् ।
पहिलो म्याचमा नामिबियाविरुद्ध बाहेक बाँकी तीन खेलमा ओपनिङ जोडी कुशल भुर्तेल र असिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् । प्रतियोगिता अघि आउट अफ फर्म रहेका आसिफले आफ्नो फर्म भेट्टाउनु नेपालका लागि सुखद समाचार बन्यो । उनले दुई खेलमा ब्याक टु ब्याट अर्धशतक हाने । कुशलले आक्रामक सुरुवात दिलाउने प्रयास गरे भने अन्तिम खेलमा आफ्नो शैलीमा परिमार्जन गर्दै संयमित इनिङ खेले ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका अनिल शाहले पनि एउटा अर्धशतक बनाए । नेदरल्यान्ड्विरुद्ध दोस्रो इनिङमा बनाएको अर्धशतकलाई बिर्सिने हो भने उनको ब्याटिङ निराशाजनक रह्यो । क्यानाडाविरुद्धको शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै उनलाई लेट आवरमा लिग-२ मा समावेश गरिएको थियो । नेपालले तेस्रो नम्बरमा नियमित खेल्ने ब्याट्सम्यान नभेटिरहेको अवस्थामा अनिलले त्यसको समाधान दिन सक्ने आशा जगाएका थिए । तर, कठिन पिचमा उनको टेक्निक अधुरो रहेको यो प्रतियोगितामा उजागर भएको छ । फ्ल्याट पिचमा बलरहरूमाथि हाबी भएर खेल्न सक्ने अनिल स्लो पिचमा भने टिक्न सकेनन् । नेपालले पहिलो ब्याटिङ गरेका तीन खेलमा उनले जम्मा १५ रन मात्रै जोड्न सके ।
कप्तान रोहित पौडेलका लागि पनि यो शृङ्खला बिर्सनलायक रह्यो । उनले तीन खेलमा ब्याटिङ गर्दा जम्मा १७ रन जोड्न सके । रोहित प्राविधिकरुपमा नेपालका सबैभन्दा कुशल ब्याट्सम्यान हुन् । उनी नचल्दा नेपालको मध्यक्रम कमजोर बन्यो । कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा जस्ता आक्रामक ब्याट्सम्यानहरू पनि फेल भए । भीम सार्कीले दुईवटा म्याचमा नेपाललाई सम्हाल्ने प्रयास गरे, तर लामो इनिङ खेल्न सकेनन् ।
नेपालको ब्याटिङ पङ्तिमा धेरै फेरबदल गरियो । ओपनर र तीन नम्बरका ब्याट्सम्यानबाहेक अरू कसैको पनि पोजिसन स्थिर रहेन । यसले पनि खेलाडीमाथि मनोवैज्ञानिक प्रभाव परेको हुन सक्ने विश्लेषण गरिएको छ । यद्यपि, ब्याट्सम्यानहरू टीमको आवश्यकता र खेलको स्थितिअनुसार जुनसुकै पोजिसनमा ब्याटिङ गर्न पनि तयार रहनुपर्छ । ब्याटिङ पोजिसनलाई ‘एक्स्क्यूज’ बनाउन मिल्दैन ।
समग्रमा नेपालमा नेपालको ब्याटिङ चलेन । तीन खेलमा पहिले ब्याटिङ गर्दा कुनै पनि खेलमा नेपालले २ सय रन छुन नसक्नु नै यसको द्योतक हो । त्रिवि मैदानमा लामो समयपछि नेपाल ब्याट्सम्यानहरुले संघर्ष गरेको देखियो ।
बलिङतर्फ पनि नेपाल फितलो नै साबित भयो । नेपालले फास्ट बलिङमा नयाँ प्रतिभाको खोजी गर्नुपर्ने आवश्यकता यो श्रृंखलाबाट अझै टड्कारो देखिएको छ । सोमपाल कामी र करण केसीको बलिङबाट मात्रै नेपाली क्रिकेटले टी-२० विश्वकपमा बलिया टिमहरूको सामना कसरी गर्ला भन्ने प्रश्न उठ्छ ।
स्पिनतर्फ नेपाली टिममा अप्सनहरुको कमी छैन । यो शृङ्खलामा ललित राजवंशी मात्रै विशेषज्ञ स्पिनर थिए । बाँकी कप्तानले अलराउन्डरहरुलाई प्रयोग गरे । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल राम्रै स्पिन फ्याँक्छन् । पछिल्लो समय स्वयम् कप्तान रोहितले पनि आफूलाई राम्रो स्पिनरका रूपमा उभ्याएका छन् । तर, पनि स्टार स्पिनर सन्दीप लामिछाने नहुनुको मनोवैज्ञानिक प्रभाव टिममा परेको देखिन्छ ।
घरेलु शृङ्खलामा सोचेको नतिजा नआएपछि लिग २ मा नेपालको आगामी यात्रा चुनौतीपूर्ण हुने भएको छ । नेपालले अब बाहिरका सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ ।