तेस्रो कर्णाली एक्सपो भोलिदेखि सञ्चालन हुने
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सञ्चालन हुने भनिएको तेस्रो कर्णाली एक्सपो मङ्गलवारदेखि सञ्चालन हुने भएको छ ।
अदालतको आदेशपछि महोत्सव मङ्गलवार भोलि नै उद्घाटन हुने आयोजकले जानकारी दिएको छ । बिहान ११ बजे मंगलगढी चोकबाट झाँकीसहित शोभा यात्रा हुने बताइएको छ । महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले गर्ने छन् ।
फागुन १० गते अधिवक्ता प्रकाशबाबु ऐडीले बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकार हनन हुनसक्ने भन्दै महोत्सव सञ्चालन कार्य रोक्न अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सोमबार भएको आदेशमा कर्णाली एक्स्पो सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेकोले बालमन्दिर विद्यालयको पठनपाठन सकिएर मिति २०८० चैत १ गतेदेखि परीक्षा सञ्चालन हुने देखिएकोले अल्पकालीन अन्तरिम आदेशको निरन्तरता दिन नपर्ने आदेशमा उल्लेख छ ।
सोमबार उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र न्यायाधीश खड्क बहादुर केसीको संयुक्त इजलासले कानुन बमोजिम एक्सपो सञ्चालनको कार्य गर्न आदेश दिएको हो ।
सोमबारको इजलासमा निवेदकका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडी, अधिवक्ताहरू दुर्गाप्रसाद सापकोटा, मातृकाप्रसाद खनाल, गीता कुमारी कोइराला, विनोदमणि भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए ।
रिट निवेदनमा विपक्षी बनाइएको वीरेन्द्रनगर नगरपालिका लगायतको तर्फबाट अधिवक्ता कृष्णबहादुर हमाल, ध्रुवकुमार श्रेष्ठ र उत्तम प्रसाद आचार्यले बहस गरेका थिए ।