पाँच प्रश्नोत्तरमा बुझौं विश्वले नियाल्ने चीनको ‘टु सेसन्स’
काठमाडौं । हरेक वर्षको मार्च महिनाका दुई हप्ता चीनको विश्व समाचार बन्ने एक प्रमुख वार्षिक घटना हुन्छ दुई सत्रको सञ्चालन । यो वर्ष दुई सत्र आगामी मार्च ४ र ५ मा सुरु हुँदैछ ।
चिनियाँ भाषामा ‘लियाङ हुए’ र अंग्रेजीमा ‘दि टु सेसन्स’ भनेर चिनिने दुई सत्र चीनको वार्षिक दशा र दिशाको जनाउ दिने एक बृहत् बैठक हो । यसमा चिनियाँ जनकंग्रेस अर्थात चाइनाज नेशनल पिपल्स कंग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक सल्लाहकार सभा अर्थात चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)ले संयुक्त सत्र चलाउँछन् ।
चीनको राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपलमा बस्ने यी सत्रबाट चीनको वार्षिक कार्यक्रम तय हुन्छ । जसमा चीनको राजनीति, कूटनीति, विकास, व्यापारसँग सम्बन्धित विभिन्न कार्यक्रम तय हुन्छन् । तीनै कार्यक्रमको आधारमा चीनको कार्यदिशा तय हुन्छ ।
यसैकारणले यी दुई सत्रलाई विश्वले नियालिरहेको हुन्छ । संयुक्त राष्ट्रसंघको स्थायी सदस्य, विश्वको ठूलो अर्थतन्त्र र नेपालको उत्तरी छिमेकी देश चीनको यी दुई सत्रका बारेमा संक्षिप्त जानकारी पाँच प्रश्नोत्तरमा प्रस्तुत गरिएको छ ।
१) के हुन् चिनियाँ जनकंग्रेस र चिनियाँ जनराजनीतिक सल्लाहकार सभा ?
चिनियाँ जनकंग्रेस चीनको संसद हो । यहाँ चिनियाँ नीति निर्माणका कामहरु हुन्छन् । यो चिनियाँ कम्युनिष्ट पार्टीको राजकीय विद्यायिकी सभा हो भन्न सकिन्छ ।
जसरी नेपालको संघीय संसदले कानून बनाउँछ, ठीक त्यसैगरी चीनको जनकंग्रेसले पनि कानून बनाउँछ । यसको स्थापना सन् १९५४ मा भएको हो । यसका सदस्यहरु चीनका ५६ जाति र सबै प्रान्तको प्रतिनिधित्व हुने गरी चुनिन्छन । उनीहरु पाँच वर्षको कार्यकालको लागि चुनिएर आएका हुन्छन् । यो वर्ष चिनियाँ जनकंग्रेसको सत्र मार्च ५ मा सुरु हुनेछ ।
चिनियाँ जनराजनीतिक सल्लाहकार सभा भनेको चै चीनका विभिन्न पक्षहरुका अनुहारहरु समेटेर बनाइएको सभा हो । यसको कानून बनाउने हैसियत त हुन्न । तर, यसका सल्लाहहरु प्रभावकारी हुन्छन् । बेलायतको हाउस अफ लर्ड जस्तै चिनियाँ सभाको रुपमा यसलाई लिन सकिन्छ । यसको स्थापना चीन जनवादी गणतन्त्र घोषणा भएकै साल सन् १९४९ मा भएको हो ।
चिनियाँ जनकंग्रेसभन्दा यो जेठो संस्था हो । यसका सदस्यहरु दुई हजार हाराहारी हुन्छन् । यसमा चीनका अरु राजनीतिक दलहरु पनि सहभागी हुन्छन् । यसमा चीनका स्वतन्त्र व्यक्तित्व, चिनियाँ कम्युनिष्ट पार्टीका जनसंगठनका प्रतिनिधिहरु पनि हुन्छन् । यस वर्ष चिनियाँ जनराजनीतिक सल्लाहकार सभाको सत्र मार्च ४ मा सुरु हुनेछ ।
२) के चीनमा चिनियाँ कम्युनिष्ट पार्टीबाहेक अरु पनि दलहरु छन् ?
छन् । चीनमा चिनियाँ कम्युनिष्ट पार्टीबाहेक अरु आठ दल छन् । चिनियाँ कम्युनिष्ट पार्टीले सैन्य विद्रोह सुरु गरेर अन्तिम चरण पुगेको साल सन् १९४८ बाट यी आठ दलले कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने बताएका थिए । त्यही समयदेखि यी दलहरु सहयोगी भूमिकामा अहिलेसम्म रहेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार ती आठ दलहरु यी हुन्:
- चाइना डेमोक्रेटिक लिग (चिनियाँ प्रजातान्त्रिक लिग)
- चाइना नेशनल डेमोक्रेटिक कन्स्ट्रक्सन एसोसियसन (चिनियाँँ राष्ट्रिय प्रजातान्त्रिक निर्माण संघ)
- चिउसान सोसाइटी
- रिभोलुसनरी कमिटी अफ चाइनिज कोमिन्ताङ (चिनियाँ कोमिन्ताङ क्रान्तिकारी समिति)
- चाइनाज पिजेन्ट्स एण्ड वर्कस डेमोक्रेटिक पार्टी (चिनियाँ किसान तथा मजदुर प्रजातान्त्रिक पार्टी)
- चाइना एसोसियसन फर प्रमोटिङ डेमोक्रेसी (चिनियाँ लोकतन्त्र प्रवर्द्धन संघ)
- चाइना चि कोङ पार्टी
- ताइवान डमोक्रेटिक सेल्फ गभरमेन्टर लिग (ताइवान लोकतान्त्रिक स्वशासन लिग)
चीनमा यी आठ दल भए पनि तिनीको सरकार भने कुनै नगर र प्रान्तमा छैन । तिनीहरुको भूमिका सत्ताधारी दल चिनियाँ कम्युनिष्ट पार्टीको सल्लाहकारको मात्र हुन्छ । त्यो सल्लाहको एक वार्षिक वैधानिक मञ्च चिनियाँ जनराजनीतिक सल्लाहकार सभा पनि एक हो । चीनका अरु आठ दल चिनियाँ कम्युनिष्ट पार्टीको निर्णयमा समर्थन गर्छन् । उदाहरणको लागि सन् २०१८ मा चिनियाँ राष्ट्रपति दुई कार्यकालमात्रै हुने नियम अन्त्य हुँदा आठै दलले पक्षमा मतदान गरेका थिए । हरेक वर्षको दुई सेसनमा यी आठ दलका दर्जनौं प्रतितिधि चिनियाँ जनराजनीतिक सल्लाहकार सभामा पुग्छन् ।
उदाहरणको लागि सन् २०२३ को दुई सत्रमा सहभागी २ हजार १७२ सदस्यमा सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीका ९९ सदस्य थिए । अरु आठ दलमा चिनियाँ प्रजातान्त्रिक लिग, चिनियाँँ राष्ट्रिय प्रजातान्त्रिक निर्माण संघ र चिनियाँ कोमिन्ताङ क्रान्तिकारी समितिका ६५-६५ सदस्य थिए भने चिनियाँ लोकतन्त्र प्रवर्द्धन संघ, चिनियाँ किसान तथा मजदुर प्रजातान्त्रिक पार्टी र चिउसान सोसाइटी पार्टीका ४५-४५ सदस्य थिए । चाइना चि कोङ पार्टीका ३० र ताइवान लोकतान्त्रिक स्वशासन लिगका २० सदस्य सहभागी थिए ।
३) दुई सत्रले हरेक प्रस्ताव पारित गर्छ कि फरक मत पनि राख्छन् ?
दुई सत्रले मूलत: हरेक प्रस्ताव सर्वसम्मत पारित गर्छन् । पारितमा फरक मतका घटना पनि आएको इतिहास देखिन्छ । उदाहरणको लागि सन् १९९२ मा भएको मतदानमा एक तिहाइ सदस्यले चीनको थ्री गर्जेज बाँधको विपक्षमा मतदान गरेका थिए । विपक्षी मत एक तिहाइमात्रै भए पनि त्यो बलियो फरक मत थियो ।
४) के फरक मत राख्नेलाई कारबाही हुन्छ ?
सत्रमा बोलेका कुरा, दिएका मतको कारणले कारबाही हुन नसक्ने कानूनी प्रावधान नै भएको चाइना डेलीले उल्लेख गरेको छ । मूलत: सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीकै कार्यक्रमका पक्षमा मत जाने भएकोले यस्ता कारबाहीको सम्भावना कम हुन्छ । यो सत्रमा चिनियाँ प्रधानमन्त्रीलाई विदेशी पत्रकारहरुले प्रश्न पनि गर्न पाउँछन् । त्यसैले यो सत्र चिनियाँलाई मात्रै नभएर विदेशीलाई पनि सरोकारको सत्र हो ।
५) दुई सत्रको संस्थागत विकास कहिले भयो ?
चिनियाँ दुई सत्रको स्थापना फरक फरक समयमा भएको हो । फरक फरक समयमा यसको बैठक हुने गरेको थियो । तर, यसलाई एकै सत्रमा ल्याएर दुई सत्र चलाउने संस्थागत चलन भने सन् १९७८ बाट कानून नै बनाएर भएको हो । मार्चमै संयुक्त बैठक सञ्चालन गर्ने प्रचलन भने सन् १९८५ मा सुरु भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।