रोमाञ्चक खेलमा नामिबियासँग नेपाल २० रनले पराजित – Nepal Press

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २र२ विकेट लिए ।

नेपाललाई अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो भने दीपेन्द्रसिंह ऐरी र करण केसी क्रिजमा थिए। तर १९ औँ ओभरको चौथो बलमा दीपेन्द्र आउट भए भने पाचौँ बलमा अविनाश बोहरा बोल्ड भए।

विशाल लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो बलमै विकेट गुमाएको थियो। कुशल भुर्तेलले खाता खोल्न सकेनन् भने आसिफ शेखले ६ रन जोडे। गुल्सन झा १२ र सन्दिप जोरा ५ र विवेक यादब ६ रनमा आउट भए।

यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो। नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जोडे। उनले ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

मलान क्रुगर ५९ रनमा अविजित रहे। लफ्टी इटोन र क्रुगरबीच चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी भएको थियो।

सुरुको १० ओभरमा केवल ६० रन जोडेको नामिबियाले अन्तिम १० ओभरमा एक सय ४६ रन जोडेको थियो।
लफ्टी इटोन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले केवल ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन्। शतक पुरा गर्नेक्रममा उनले ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

नेपालका कुशलले गत सेप्टेम्बर २७ तारिखमा मंगोलियाविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए। करिब ५ महिनामै मल्लको कीर्तिमान तोडिएको हो।

नेपालका करन केसीले ३ ओभरमा ३२, सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, रोहित पौडेलले ४ ओभरमा ३०, अविनाश बोहराले चार ओभरमा ४९ र गुल्सन झाले एक ओभरमा १८ रन खर्चिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर