कीर्तिपुर मैदानमा लफ्टी इटनको ३३ बलमा शतक, नेपालका कुन बलरलाई कति छक्का र चौका ? – Nepal Press

कीर्तिपुर मैदानमा लफ्टी इटनको ३३ बलमा शतक, नेपालका कुन बलरलाई कति छक्का र चौका ?

काठमाडौं । नामिबियाका जान निकोल लफ्टी इटनले मंगलबार टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने विश्व कीर्तिमान बनाए ।

त्रिवि क्रिकेट मैदानमा लफ्टी इटनले नेपालविरुद्ध ३३ बलमा शतक पूरा गर्दै नेपालकै कुशल मल्लको नाममा रहेको ३४ बलको कीर्तिमान तोडेका हुन् । लफ्टी इटन ११औं ओभरको पाँचौं बलमा क्रिजमा आएका थिए ।

रोहित पौडेललाई पहिलो बल सामना गरेका उनले टोलीका लागि रनको योगदान वाइडबाट सुरु गरे । उक्त ओभरको अन्तिम बलमा एक रन लिएर पहिलो वैध बल सामना गरेका उनले त्यसपछि छक्का र चौकाको वर्षा गर्न थाले । १२औं ओभरमा उनले गुल्शन झाको बलमा दुई छक्का र एक चौका प्रहार गरे ।

१३औं ओभरमा रोहित पौडेलको बलमा मलान क्रुगरले दुई छक्का प्रहार गरेपछि लफ्टी इटनले पनि एक चौका हिर्काएका थिए । १४औं ओभरको अन्तिम बलमा अविनाश बोहरालाई छक्का प्रहार गरेका लफ्टी इटनले १५औं ओभरमा दीपेन्द्रसिंह ऐरीलाई एक छक्का र दुई चौका हिर्काए ।

१६औं ओभरमा उनले सोमपाल कामीको बलमा लगातार एक छक्का र दुई चौका प्रहार गरेका थिए । १७औं ओभरमा करण केसीको बलमा पनि लगातार दुई चौका र छक्का हिर्काए । १८औं ओभरमा अविनाश बोहरालाई दुई चौका र एक छक्का प्रहार गरेका लफ्टी इटनले २८ बलमा ९० रन जोडेका थिए । उक्त ओभरमा उनले थप दुई बल सामना गरे पनि ब्राउन्ड्री प्रहार गर्न सकेनन् ।

दीपेन्द्रसिंह ऐरीलाई १९औं ओभरको पहिलो बलमा छक्का प्रहार गरेपछि लफ्टी इटनलाई शतक पूरा गर्न केवल चार रन चाहिएको थियो । दोस्रो बलमा रन लिन नसकेका उनले तेस्रो बलमा चौका प्रहार गरेर विश्व कीर्तिमानी शतक बनाएका हुन् ।

२३ वर्षीय लफ्टी इटनले यो खेलमा अविनाशलाई दुई छक्का र दुई चौका, दीपेन्द्रलाई दुई छक्का र तीन चौका, करण केसीलाई एक छक्का र दुई चौका, सोमपाल कामीलाई एक छक्का र दुई चौका, रोहित पौडेललाई एक चौका तथा गुल्शन झालाई २ छक्का र एक चौका प्रहार गरे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लफ्टी इटनको यो पहिलो शतक हो ।

नेपालका कुशल मल्लले ५ महिनाअघि मात्र तुलानात्मक रुपमा निकै कमजोर मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए । यस पटक लफ्टी इटनले आसन्न टी-२० विश्वकप खेल्न लागेको आईसीसीको बलियो एसोसिएट टोलीविरुद्ध विश्व कीर्तिमानी प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर