ओखलढुंगामा अन्तरपालिका भलिबल प्रतियोगिता हुँदै : महिला र पुरुष टोलीलाई एकै राशीको पुरस्कार
काठमाडौं । ओखलढुङ्गाको लिखु गाँउपालिकाको आयोजनामा ‘लिखु अध्यक्ष्य कप’ महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यही फागुन ३० देखि चैत ३ सम्म हुने प्रतियोगितामा महिला तथा पुरुषको लागि समान आकारका पुरस्कार प्रदान गरिने भएको छ ।
पालिकाले सार्वजनिक गरेको फागुन १५ को सूचनाअनुसार प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कारको राशी क्रमशः डेढ लाख, एक लाख, ७५ हजार तथा ४० हजार तोकिएको छ । फागुन १४ गतेको सूचनामा भने महिलालाई पुरुषको भन्दा कम राशीको पुरस्कार तोकिएको थियो ।
उक्त सूचना अनुसार प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार राशी क्रमशः ८० हजार, ६० हजार, ४० हजार र २० हजार तोकिएको थियो । उपाध्यक्ष अस्मिता थापाले समानताको लागि समान राशीको पुरस्कार बनाइएको बताइन् ।
उनले भनिन्, ‘यो महिलाको सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुनसक्छ ।’
‘सामाजिक सद्भावना तथा एकताका लागि खेलकुद’ नारा दिइएको प्रतियोगिताको दर्ता फागुन २९ भित्र गराइसक्नुपर्ने तथा खेल लिखु गाँउपालिका वडा नम्बर ५ को बसपार्क भन्दा माथिको खुला स्थानमा हुने बताइएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत डा. रोशन पौडेलका अनुसार प्रतियोगिताको सहभागिताको दर्ता शुल्क दश हजार तोकिएको छ भने सहभागिता जनाउन पालिकाको सिफारिस अनिवार्य गरिएको छ ।