धैर्यता गुमाउँदा ४ बलमा ५ रन लिन चुकेकाे नेपाल – Nepal Press

धैर्यता गुमाउँदा ४ बलमा ५ रन लिन चुकेकाे नेपाल

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले बुधबार नेदरल्यान्ड्ससँग बिर्सनालयक हार व्यहोरेको छ ।

त्रिवि मैदानमा १८५ रनको लक्ष्य पाएको नेपाल अन्तिम समयमा जित नजिक देखिएको थियो। तर नेपालले अन्तिम ४ बलमा आवश्यक ५ रन जोड्न सकेन र २ रनको हार व्यहोर्यो ।

नेपाललाई अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक रहेका बेला स्ट्राइकरमा थिए दीपेन्द्रसिंह ऐरी। ननस्ट्राइकमा थिए करण केसी । नेपालले केवल ६ विकेट मात्र गुमाएको थियो । नेदरल्यान्ड्सले ३९ वर्षीय स्पीनर रोलेफ भान डर मार्वेलाई निर्णायक ओभर बलिङको जिम्मा दिएको थियो ।

दीपेन्द्रले सुरुका दुई बलमा छक्का र चौका प्रहार गर्दै नेपाललाई जित नजिक पुर्यामएका थिए । नेपालले बाँकी ४ बलमा ५ रन चाहिएको थियो ।

तेस्रो बलमा दुई रन जोड्न खोज्दा करण रन आउट भए। चौथो बलमा दीपेन्द्रले अगाडि बढेर खेल्न खोज्दा बोल्ड हुन पुगे । त्यसपछि क्रिजमा आएका थिए प्रतिस जिसी। उनले पाचौँ बल कता गयो भनेर ठम्याउन समेत सकेनन् । अन्तिम बलमा उनले रिभर्स स्वीप गर्न खोजेपनि बल स्टम्पभन्दा धेरै पर पुग्न सकेन ।

त्यसअघि नेपाललाई अन्तिम तीन ओभरमा ४८ रन आवश्यक रहेका बेला १८ औँ ओभरमा १८ र १९ औँ ओभरमा १५ रन जोडेको थियो । शृंखलामा लगातार दोस्रो हारपछि नेपाललाई फाइनल पुग्ने गाह्रो देखिएको छ ।

नेपालले अब नेदरल्यान्ड्स र नामिबियासँग एक एक खेल खेल्ने छ । एक एक खेल खेलेका नेदरल्यान्ड्स र नामिबियाको समान २ अंक छ । नेपालले २ खेल खेलेपनि अंक जोड्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर