भक्तपुरकै पहिलो फोटोग्राफर परिवारका तीन पुस्ताले खिचेका फोटोहरु प्रदर्शनी हुने
भक्तपुर । जिल्लाकै पहिलो फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपालीको तीन पुस्ताले खिचेको विभिन्न कालखण्डका फोटोहरु भक्तपुर दरबार क्षेत्रमा प्रदर्शनी हुने भएको छ ।
भक्तपुर पर्यटन विकास समितिले ‘ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी’ शीर्षकमा स्व. बनेपालीले करिब ८० वर्ष अगाडि खिचेका फोटोसँगै उनका छोरा केदार, नाति किशन र नातिनी सुनी बनेपालीले खिचेका फोटोहरुको प्रदर्शनी आयोजना गरेको हो ।
समितिका अध्यक्ष दीपेशराज शर्माले भक्तपुर दरबार क्षेत्रमा फागुन १८ र १९ गते दुई दिन हुने प्रदर्शनीमा बनेपालीको तीन पुस्ताले खिचेका ६८ वटा श्यामश्वेत फोटो राखिने जानकारी दिए ।
उनले बनेपालीहरुको तीन पुस्ताले खिचेका फोटोहरुमार्फत भक्तपुरको परिवर्तित स्वरुप र विकास नयाँ पुस्तालाई देखाउन खोजिएको बताए ।
उनका अनुसार तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा सँगसँगै सर्वसाधारणको जीवनशैली, रीतिरिवाज, जात्रापर्व र धर्म-संस्कृति झल्कने फोटोहरु प्रदर्शनीमा राखिनेछन् ।
‘विभिन्न कालखण्डका फोटोहरु नयाँ पुस्ताका लागि भरपर्दो र दरिलो अभिलेख हो’, अध्यक्ष शर्माले भने, ‘यस्तै फोटोहरुको कारण चोरिएका धेरै नेपाली सम्पदा फर्किएका छन् । त्यसैले नयाँ पुस्तालाई भक्तपुरको विगतबारे जानकारी दिन फोटो प्रदर्शनी आयोजना गरेका हौं ।’
प्रदर्शनीमा आफ्ना बुबा बद्रीप्रसादले १९८६ सालपछि खिचेका फोटोहरु रहने फोटोग्राफर केदार बनेपालीले जानकारी दिए ।
उनका अनुसार आफूले ५०, छोरी सुनीले ३० र छोरा किशनले २० वर्षअघि खिचेका फोटोहरु प्रदर्शनीमा राखिनेछन् । तीन पुस्ताले फरक फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदासमेत प्रदर्शनीमा रहने उनले बताए ।
फोटोग्राफर बनेपालीले प्रदर्शनीमा राखिने सम्पदाका फोटोहरुमध्ये अहिले केही अस्तित्वमै नरहेको बताए । ‘जुन फोटोको सहयोगमा स्थानीय तहरुलाई उक्त सम्पदाको पुनर्निर्माण गर्न सघाउ पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।
उनका अनुसार बुबा बद्रीप्रसादले नेगेटिभबाट खिचेको फोटोहरुको प्रदर्शनी सन् २०१६ मा क्यानडामा भइसकेको छ ।
१९७२ सालमा जन्मिएका बद्रीप्रसादले १४ वर्ष उमेरमै भारतसम्म पुगेको फोटोग्राफी तालिम लिएको छोरा केदा बताउँछन् । उनका अनुसार सुरुसुरुमा घरघरमा गई फोटो खिचेका बद्रीले २०१० सालमा भक्तपुरको दत्तात्रय मन्दिरसँगै आफ्नै घरमा दत्तात्री स्टुडियो सञ्चालनमा ल्याएका थिए । उक्त स्टुडियो छोरा केदार हुँदै अहिले नाति किशनले सञ्चालन गर्दै आएका छन् ।
बुबाको प्रेरणाले १२ वर्षमै फोटोग्राफी पेसामा आएका केदारले २०४३ सालमा नेपाल टेलिभिजनका लागि भक्तपुर र काभ्रेको स्थानीय संवाददाता भएकार काम गरेका थिए । २०६६ सालमा नेपाल टेलिभिजन छाडेका उनका छोरी सुनी र छोरा किशनले पनि नेपाल टेलिभिजनको लागि भक्तपुरको स्थानीय संवाददाता भइ काम गरेका थिए ।
सुनीले नेपाल समाचारपत्र र मजदुर दैनिकमा फोटो पत्रकार भएरसमेत काम गरिन् । किशनले भने च्यानल नेपालको भक्तपुर संवाददाता पनि भएर काम गरेका थिए ।
आयोजक भक्तपुर पर्यटन विकास समितिले एउटै परिवारको तीन पुस्ताले खिचेका फोटोहरुको प्रदर्शनी नेपालकै पहिलो हुनसक्ने दाबी गरेको छ ।
समितिका निवर्तमान अध्यक्ष रामसुन्दर भेलेले भक्तपुरको सम्पदाको स्वरुप, स्थानीयको जीवनशैलीमा आएको चरणबद्ध परिवर्तन झल्काउन फोटो प्रदर्शनी गर्न लागिएको बताए ।
दुई दिने खुला प्रदर्शनी बिहान १० देखि बेलुका ५ बजेसम्म रहने समितिले जनाएको छ ।