पत्र सच्याउँदै भरतपुर महानगरले भन्यो- इच्छा हुने र व्यवस्थापन गर्न सकिने भएमात्र विद्यार्थीलाई र्‍यालीमा सहभागी गराउनू – Nepal Press

पत्र सच्याउँदै भरतपुर महानगरले भन्यो- इच्छा हुने र व्यवस्थापन गर्न सकिने भएमात्र विद्यार्थीलाई र्‍यालीमा सहभागी गराउनू

चितवन । भरतपुर महानगरले भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको र्‍यालीमा माध्यामिक तहका विद्यार्थी शिक्षकलाई अनिवार्य आउनु भनेर गरेको निर्देशन सच्याएको छ ।

महानगरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले निर्देशन जारी गरि हिजो महानगरका माध्यामिक तहका सबै विद्यार्थी र शिक्षकलाई र्‍यालीमा सहभागी हुन भनेको थियो । सो विषयमा नेपाल प्रेसले समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनपछि सामाजिक सञ्जालमा समेत महानगरले प्रधानमन्त्रीले उद्घाटन गर्ने भ्रमण वर्षमा विद्यार्थीको विद्यालय छुटाएर हिँडाउन नहुने भन्दै आलोचना भएको थियो ।

महानगरले मात्रै होइन वडा नम्बर २५ र २१ का वडाध्यक्षले समेत क्षेत्राधिकार मिचेर आफ्नो वडामा विद्यालय नै बन्द गर्ने सूचना समेत निकालेका थिए । चारैतिर चर्को आलोचना भएपछि नगर शिक्षा अधिकारी पौडेलले अर्को सूचना जारी गरेका छन् ।

उनले जारी गरेको सूचनामा शुक्रबार बुक फ्रि डे भएकोले सबैलाई अनिवार्य नभएको तर व्यवस्थापन गर्न सकिने र विद्यार्थीको पनि रुचि भएमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई बिहान ११ बजेदेखि हुने भ्रमण वर्ष २०२४ को र्‍यालीमा सहभागी हुन सक्ने बताएका छन् ।

उनले जारी गरिएको सूचनामा भनिएको छ– आधारभूत तहको बालबालिकाहरुलाई कार्यतालिका अनुसार विद्यालयमा नै व्यवहारिक सिकाइका क्रियाकलाप गराउने निर्णय भएकोले उक्त दिन विद्यालय बन्द नहुने र कुनै वडाले विद्यालय बन्द सम्बन्धी कुनै निर्णय नगर्न नगराउन जानकारी गराइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *