अर्थमन्त्री महत लक्षित प्रधानमन्त्रीको टिप्पणी- मनोगत ढंगले लक्ष्य निर्धारण गर्दा परिणाम देखिएन (भिडिओ) – Nepal Press

अर्थमन्त्री महत लक्षित प्रधानमन्त्रीको टिप्पणी- मनोगत ढंगले लक्ष्य निर्धारण गर्दा परिणाम देखिएन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार आफैँको काम कारबाहीप्रति आफैंले असन्तुष्टि व्यक्त गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको खटपटको चर्चाबीच प्रधानमन्त्री दाहालले आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हाँसिल हुन सकेन ? भन्ने प्रश्नको उत्तर चित्तबुझ्दो नभएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा सरकारको नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरूअनुसार काम हुन नसकेको बताए । योजना तथा कार्यक्रमहरू निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको भन्दै उनले मनोगत ढंगबाट लक्ष्यहरू निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको सुनाए ।

प्रधानमन्त्री दाहालले अर्थमन्त्री अर्थमन्त्री लक्षित गर्दै मनोगतरूपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताएका छन् । माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालू अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको अवस्था रहेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले भने, ‘हाम्रा प्रतिवद्धताहरू अर्को ठाउँमा छन् । हामीले गएको श्रावण महिनामा आफैँले तयार पारेका माइलस्टोनहरु जसरी तोकियो, त्यो त हामीले नै बसेर तोकेको हो । त्यतिबेला पर्याप्त वस्तुगत र वस्तुवादी हुन सकेनौँ । अलि बढी मनोगत भयो । ती माइलस्टोनहरू अहिले हेर्दा परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको छ । हामीले जसरी लक्ष्य निर्धारण गर्नुपर्ने हो, त्यो लक्ष्य निर्धारण गर्ने कुरामा पनि मनोगत भएका छौं । यथार्थ धरातलसँग त्यति मिलेका छैनन् भन्ने कुरा देखियो । हामीले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालू अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको देखियो ।’

प्रधानमन्त्रीले थपे, ‘चालू आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालू आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरू नै हुन नसक्नुले हाम्रो कार्य क्षमताामाथि नै प्रश्न उठेको छ । माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको देखिन्छ । अझ पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको छ । पुँजी निर्माण नभइ विकासले गति लिँदैन भन्नेकुरा सबैलाई थाहा छ । अर्थतन्त्र पनि त्यो स्थितिमा चलायमान हुन सक्दैन । आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हाँसिल हुन सकेन हामीसँग अहिले पनि चित्तबुझ्दो उत्तर छैन ।’

प्रधानमन्त्री दाहालले माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशतमात्र संकलन भएको बताए । उनले पुँजीगत खर्च त २४ प्रतिशतभन्दा कम भएको भएको भन्दै पूँजी निर्माण नभई विकासले गति नलिने प्रष्ट्याए । सो स्थितिमा अर्थतन्त्र चलायमान नहुने उनको जिकिर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर