सुदूरपश्चिममा दुग्ध उत्पादन गर्ने किसानले ५ करोड बढी भुक्तानी पाएनन्, दूध पोखेर गरे प्रदर्शन – Nepal Press

सुदूरपश्चिममा दुग्ध उत्पादन गर्ने किसानले ५ करोड बढी भुक्तानी पाएनन्, दूध पोखेर गरे प्रदर्शन

कैलाली । सुदूरपश्चिमका दुग्ध उत्पादन गर्ने किसान आन्दोलनमा उत्रिएका छन् । असोज १६ देखि माघ मसान्तसम्मको करिब ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ र फागुन १५ गतेसम्मको गरि पाँच करोड बढीको भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

किसानहरूले बिहीबार कैलालीको अत्तरियामा प्रदर्शन गरेका छन् । अखिल नेपाल किसान महासङ्घ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने माग गर्दै सडकमा दूध पोखेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा आएका किसानहरूले आफूहरूले उत्पादन गरेको दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । दुग्ध विकास संस्थानले दूध खरिद गर्ने सम्झौता गरेर उत्पादित सबै दूध नकिन्ने र किनेको दूधको पनि भुक्तानी नपाउँदा मर्कामा परेको गुनासो गोदावरीका किसान मोहनराज जोशीले बताए ।

किसानहरूले दूध बिक्री गर्न नपाएको तथा बिक्री भएको दूधको मूल्य नपाएको भन्दै सडकमा आन्दोलन गर्नुपरेको अखिल नेपाल किसान महासङ्घ, सुदूरपश्चिम समितिले जनाएको छ । महासङ्घले बिहीबार अत्तरियामा सात बुँदे माग राख्दै प्रदर्शन गरिएको हो ।

दुग्ध विकास संस्थानले किसानको उत्पादित दूध नकिन्ने र थोरै खरिद गरेको दूधको पनि भुक्तानी ६्६ महिनासम्म भुक्तानी नदिनु गलत भएको भन्दै प्रदर्शन गर्नुपरेको अखिल नेपाल किसान महासङ्घका प्रदेश अध्यक्ष मदनराज रेग्मीले बताए। उनले किसानहरूले भुक्तानी नपाउँदा जीविकोपार्जनमै समस्या भएकाले आन्दोलन गर्नुपरेको बताए ।

दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीका सङ्कलन शाखा प्रमुख चन्द्रमोहन लेखकले विगतमा किसानलाई महिनामा दुई पटक दूधको भुक्तानी दिने गरेको भए पनि असोज १६ बाट बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नभएकाले किसानलाई भुक्तानी दिन नसकेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर