दुई रनको अन्तरालमा तीन विकेट लिँदै खेलमा फर्कियो नेपाल
काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टि–२० मा नेपालले अप्ठ्यारो स्थितिबाट कमब्याक गरेको छ । दीपेन्द्रसिंह ऐरीले लगातार बलमा दुई महत्वपूर्ण विकेट लिँदै नेपाललाई खेलमा फर्काएका हुन् ।
१५ ओभरको समाप्तिमा नामिबियाले १३३ रन बनाइएको थियो भने ७ विकेट हातमा थिए । बाँकी ५ ओभरमा नामिबियालाई ४८ रन चाहिएको थियो, जुन सामान्य हो । यसरी जिततर्फ लम्किरहेको नामिबियालाई १६ औं ओभरमा ऐरीले झट्का दिए । ओभरको पहिलो बलमा उनले २५ बलमा ५० रन बनाएका जेजे स्मिटलाई आउट गरे ।
लगत्तैको बलमा जेफ लोफ्टी इटोन पनि दिपेन्द्रको शिकार भए । इटोन उनै ब्याट्सम्यान हुन्, जसले अघिल्लो म्याचमा नेपालको बलिङ धुजाधुजा पार्दै विश्वकिर्तिमानी शतक बनाएका थिए । यो ओभरमा दिपेन्द्रले दुई रन मात्र दिए ।
त्यसपछि १७ ओभरमा अविनाश बोहराले नेपाललाई अर्को विकेट दिलाए । दुई रनको अन्तरालमा तीन विकेट गुमाएसँगै नामिबिया ब्याकफुटमा आएको छ । यो समाचार लेख्दासम्म नामिबियाले १७ ओभरको खेलमा ६ विकेट गुमाएर १४० रन बनाएको छ । अब बाँकी १८ बलमा नामिबियाले ४१ रन जोडनुपर्ने छ ।