बुवाको फोटो खोज्न पनौतीबाट भक्तपुर – Nepal Press

बुवाको फोटो खोज्न पनौतीबाट भक्तपुर

भक्तपुर । काभ्रेका वरिष्ठ पत्रकार मधुसुदन गुरागाईं शुक्रबार भक्तपुर दरबार क्षेत्रमा अति हतारमा भेटिए । काभ्रेको पनौती नगरपालिकास्थित खोपासी मूल घर भएका उनी एउटा उद्देश्य लिएर भक्तपुर दरबार क्षेत्र पुगेकाले हतारमा थिए ।

उनको उद्देश्य थियो- भक्तपुरकै पहिलो फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपालीले खिचेका फोटोमा आफ्ना बुवालाई हेर्नु । शुक्रबार भक्तपुरकै पायोनियर फोटोग्राफर परिवारका तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोहरुको प्रदर्शनी भक्तपुर दरबारमा राखिएको थियो । तर, वरिष्ठ पत्रकार गुरागाईं भक्तपुर दरबार क्षेत्र पुग्दा फोटो प्रदर्शनीको औपचारिक उद्घाटन बाँकी थियो । त्यसैले उनलाई प्रदर्शनीमा राखिएका फोटोहरुमा आफ्नो बुवालाई हेर्ने हुतहुती थियो ।

केही क्षणमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्व. बनेपालीले ८० वर्षअघि खिचेका फोटोसँगै उनका छोरा केदार, नाति किशन र नातिनी सुनीले खिचेका फोटोहरुको प्रदर्शनी उद्घाटन गरे । उद्घाटनलगत्तै गुरागाईंले भक्तपुर दरबार क्षेत्रस्थित तवः सत्तलमा लहरै राखिएका ६८ वटा फोटोमा नजर लगाए ।

तर, उनले कुनै पनि फोटोमा आफ्ना बुवालाई देख्न पाएनन् । तैपनि गुरागाईं निराश देखिएनन् । ‘बुवा भएको फोटो प्रदर्शनीमा होला कि भनेर बडो उत्सुक भएर आएको, देखिनँ । तर, पनौतीका लुप्त सम्पदाको फोटो देखेर औधी खुशी भएँ । अब त्यो फोटोको आधारमा उक्त सम्पदा पुनर्निर्माण गर्न घच्घच्याउनुपर्छ’, उनले भने ।

उनका अनुसार अहिले अस्तित्वमा नभएको पनौतीको बस्नेत पाटीको फोटो भने प्रदर्शनीमा भेटियो । ‘अब त्यो पाटी मौलिक स्वरुपमा पुनर्निर्माण गर्न पहल गर्नुपर्छ’, उनले भने ।

वरिष्ठ पत्रकार गुरागाईंका अनुसार स्व. बद्रीप्रसादले पनौतीको त्रिवेणीमा लाग्ने १२ वर्षे मकर मेलाको फोटो खिच्दा आफ्ना बुवा पनि सँगै भएको सुनेका थिए । त्यसैले त्यस बेलाको फोटो पनि प्रदर्शनीमा राखिएको होला भनेर पनौतीबाट भक्तपुर दरबार क्षेत्र पुगेको प्रतिक्रिया दिए ।

‘प्रदर्शनीमा मकर मेलाको फोटो त राखिएको रहेछ । संयोगले मेरो बुवा भएको फोटो परेन’, गुरागाईंले थपे ।

उनले फोटोको आविस्कार हुनुअघिको चित्रकला पनौतीका विभिन्न मठमन्दिरमा रहेको र त्यसको पनि संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताए ।

‘पनौतीको त्रिवेणीमा रहेको ब्रह्मायणी मन्दिरभित्र र अन्य सम्पदा बाहिर उत्कृष्ट भित्तेचित्र थिए’, उनले भने, ‘तर, ती भित्तेचित्र संरक्षण गर्न सकिएन । अब त्यसलाई पुनर्जीवन दिनेतर्फ पनि लाग्नुपर्छ ।’

शनिबारसम्म चल्ने प्रदर्शनीमा बनेपालीको तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा सँगसँगै सर्वसाधारणको जीवनशैली, रीतिरिवाज, जात्रापर्व र धर्म-संस्कृति झल्कने फोटोहरु राखिएका छन् ।

भक्तपुर पर्यटन विकास समितिले ‘ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी’ शीर्षकमा स्व. बनेपालीले करिब ८० वर्ष अगाडि खिचेका फोटोसँगै उनका छोरा केदारले ५०, नातिनी सुनीले ३० र नाति किशनले २० वर्षअघि खिचेका फोटोहरु प्रदर्शनीमा राखेको छ ।

प्रदर्शनीमा स्व. बद्रीप्रसाद, उनका छोरा केदार र नातिनी सुनीले फरक फरक समयमा एउटै कोणबाट खिचेको भक्तपुरका सम्पदाहरुको फोटो रहेका छन् । जसले भक्तपुरका सम्पदाहरुको फेरिएको स्वरुप तथा जीर्णोद्धार र पुनर्निर्माणको चरणबारे स्पष्ट जानकारी दिने फोटोग्राफर केदार बनेपाली बताउँछन् ।

उनका अनुसार स्व.बद्रीप्रसादले १९८६ सालपछि खिचेका फोटोहरु प्रदर्शनमा रहेका छन् । जसमा राजा महेन्द्र भक्तपुरको तलेजु भ्रमणमा आएको, भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी नेपाल भ्रमणका क्रममा भक्तपुर दरबार क्षेत्र पुगेको फोटोसमेत समावेश छ ।

स्व.बद्रीप्रसाद, उनका छाेरा केदार र नातिनी सुनी बनेपालीले खिचेकाे भक्तपुर दरबार क्षेत्रस्थित सिलु महादेवकाे फरक फरक समयकाे फाेटाे ।

फोटोग्राफर सुनी बनेपालीले प्रदर्शनीमा राखिएका सम्पदाका फोटोहरुमध्ये अहिले केही अस्तित्वमै नभएकाले उक्त फोटोको मद्दतले ती सम्पदा मौलिक स्वरुपमै पुनर्निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

फोटो प्रदर्शनी हेर्न भनेरै भक्तपुर पुगेकी कीर्तिपुर उद्योग वाणिज्य महासंघकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले ऐतिहासिक फोटोहरुको छुट्टै ग्यालरी नै बनाउनुपर्नेमा जोड दिइन् ।

‘नयाँ पुस्तालाई आफ्नो क्षेत्रको सम्पदा एवं जीवनशैलीको सिलसिलेवार जानकारी दिने यस्ता फोटोहरुको प्रदर्शनी एकदुई दिन गरेर हुँदैन’, उनले भनिन्, ‘सधैं हेर्न मिल्ने गरी सके स्थानीय सरकार मातहत नसके निजीस्तरमा ग्यालरी नै बनाएर प्रदर्शनीमा राख्नुपर्छ ।’

आयोजक भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्माले भक्तपुरको सम्पदाको स्वरुप, स्थानीयको जीवनशैलीमा आएको चरणबद्ध परिवर्तन झल्काउन फोटो प्रदर्शनी गरिएको बताए ।

‘विभिन्न कालखण्डका फोटोहरु नयाँ पुस्ताका लागि भरपर्दो र दरिलो अभिलेख हो’, समितिका अध्यक्ष शर्माले भने, ‘यस्तै फोटोहरुको कारण चोरिएका धेरै नेपाली सम्पदा फर्किएका छन् । त्यसैले नयाँ पुस्तालाई भक्तपुरको विगतबारे जानकारी दिन फोटो प्रदर्शनी आयोजना गरेका हौं ।’

उनले उक्त प्रदर्शनी काठमाडौंमा नेपाल पर्यटन बोर्ड, ललितपुरको पाटन संग्रहालय, कीर्तिपुरमा लायकूसँगै काभ्रेको बनेपा र पनौतीमा पनि गर्न पहल भइरहेको जानकारी दिए ।

शनिबारसम्म चल्ने खुला प्रदर्शनी बिहान १० देखि बेलुका ५ बजेसम्म रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर