उपकुलपति सिंहले निकटस्थलाई नियुक्ति दिएको भन्दै आंशिक शिक्षकद्वारा मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा आंशिक शिक्षकहरूले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरूमा तालाबन्दी गरेका छन् । आंशिक शिक्षकहरूले विभिन्न माग राख्दै विभागहरूमा तालाबन्दी गरेका हुन् ।
शिक्षकहरूले पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका आंशिक शिक्षकहरूलाई करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै आएका छन् ।
उपकुलपति सिंहले आफ्नो कार्यकाल सकिन लाग्दा भ्रष्टाचार अनुसारका नीति बनाएर गएको आन्दोलनरत आंशिक शिक्षक छवि बोहराले जानकारी दिए ।
‘न त विधि छ, न प्रक्रिया छ नीतिगत भ्रष्टाचारका विरुद्धमा आन्दोलन गरेका छौँ । ३२ जना आंशिक शिक्षकहरू आन्दोलनमा उत्रिएका छौ’, बोहराले भने, ‘विश्वविद्यालयमा परीक्षा र प्रयोगात्मक कक्षाका रूपमा आंशिक शिक्षकका रूपमा पढाउन थालेको १० वर्ष भयो । आफ्ना नजिक र आफन्तलाई करार नियुक्ति दिनुभयो । तर, हामीलाई नीतिगत रूपमा अन्याय भयो ।’
उनका अनुसार करारमा दुईपटक विज्ञापन भएपनि उपकुलपति सिंहले कार्यान्वयन नगरेको बताए । आफूहरुले पनि प्रतिस्पर्धाका रूपमा परीक्षामा सहभागी हुने भनेर आवेदन दिएको भए पनि आजका दिनसम्म उपकुलपति सिंहले नियम बनाउन नसकेको उनको भनाइ छ ।
उपकुलपति सिंह विश्वविद्यालयबाट बाहिरिँदै गर्दा आफ्नै निवासमा (विस्तारित कार्यालय) भित्र कोरम पुग्ने गरी कार्यकारीको अन्तिम बैठकबाट व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरू भएको र सो निर्णयहरूमा उपकुलपति एवम् कार्यकारी सदस्यहरूको स्वार्थ केन्द्रित केही निकटस्थ आंशिक शिक्षकहरूलाई मात्र करार नियुक्ति दिइएको आंशिक शिक्षकहरूको आरोप छ ।
उनका अनुसार उपकुलपति सिंहले डिल्लीकुमारी फौजा, (उपकुलपति सिंहको बुहारी), (डिन कार्यालयमा कार्यरत) भीम रोकाया, (उपकुलपतिका स्वकीय) उपप्राध्यापक नियुक्त, र (रजिस्टारका स्वकीय) जगत ढकाल र एक जना दैनिक ज्यालादारी भनेर नियुक्ति दिएको नेपाल प्रेसलाई जानकारी दिएका छन् ।
हामीले बारम्बार आधिकारिक निकायहरूमा बुझ्दा केही जानकारी नभएको भन्ने गैर जिम्मेवार जवाफ दिएकाले हामी मर्माहित भएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘झुटो आश्वासन र बन्द कोठा भित्र कार्यकर्ता पूर्ण स्वार्थ केन्द्रित निर्णयहरुले हामीलाई आन्दोलित बनाउन बाध्य बनाएको छ ।
तसर्थ, सत्य तथ्यलाई सार्वजनिक गर्न हुन अनुरोध गर्दै सम्पूर्ण आंशिक शिक्षकहरूलाई अविलम्ब करारमा नियुक्तिको माग राख्दै भोलिका दिनदेखि तपसिल बमोजिमका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको ध्यानाकर्षण गराउँदछौँ ।
साथै हाम्रो समस्यालाई सहजीकरण गरिदिनुहुन सम्पूर्ण सरोकारवाला पक्षहरूलाई पनि अनुरोध गर्दछौ । अन्यथा विश्वविद्यालयमा पर्ने असरको जिम्मेवारी स्वयं विश्वविद्यालयका पदाधिकारीले लिनु पर्ने जानकारी गराउँदछौँ ।’
आंशिक शिक्षकहरूले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मुलढोका, शैक्षणिक क्रियाकलापहरू बन्द, शुक्रबार केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरूमा ताला लगाएका छन् ।