‘गुमनाम’ लुम्बिनी विश्वविद्यालय चम्काएका डा.तिलकराम
रुपन्देही । स्थापनाको करिब एक दशकसम्म गुमनामजस्तै बनेको लुम्बिनी विश्वविद्यालय अहिले स्वदेशमा मात्र होइन विदेशी विद्यार्थीको पनि उत्तिकै रोजाईमा पर्न थालेको छ । लुम्बिनीमा सन् १९९८ मा १६ राष्ट्रका प्रतिनिधिको सहभागितामा भएको विश्व बौद्ध सम्मेलनबाटै यो विश्वविद्यालय स्थापना गर्ने योजना बनेर यसको काम थालिएको हो ।
त्यो सम्मेलनमा विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको भूमिमा आध्यात्मिक वातावरणमा बसेर उच्च तहको बौद्ध शिक्षा अध्ययन गर्न विश्वका धेरै देशका बौद्धमार्गीको रोजाई हुनसक्ने आंकलनका साथ यहाँ उच्च तहको बौद्ध विश्वविद्यालय आवश्यक ठानिएको थियो ।
तर यसको परिकल्पनाअनुसार ०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयको ०६७ सालबाट मात्रै शैक्षिक कार्यक्रम सुरु भएको थियो । प्रारम्भमा पिएचडीका कार्यक्रम मात्र सुरु भएको विश्वविद्यालयको नाम लुम्बिनी राखिएपनि सुरुमा यसको केन्द्रीय कार्यालय काठमाण्डौंमा राखिएको र लुम्बिनीमा सम्पर्क कार्यालयका रूपमा एउटा भवनमा सीमित थियो ।
साढे दुई बिगाह जग्गा छुट्याइए पनि अन्य कामले गति लिन सकेको थिएन नाम मात्रको विश्वविद्यालय बनेको थियो । ०७० बाट स्नातकोत्तर तहको अध्ययनसहित लुम्बिनीमा शैक्षिक कार्यक्रम सुरु भयो । प्रारम्भमा एक दशकसम्म काठमाडौंमा रहेको केन्द्रीय कार्यालय लुम्बिनीमा ०७३ मा सारिएसँगै विश्वविद्यालयले विकासको लय समात्न सकेको हो ।
अहिले यसको सन्जाल विस्तार मात्रै भएको छैन पढ्नका लागि विद्यार्थीले पालो कुर्नुपरेको छ माथिल्लो तहमा । हाल बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स गरी तीनवटा संकाय सञ्चालनमा छन् ।
दुईवटा आंगिक क्याम्पस छन् । केन्द्रीय क्याम्पसमा चालू शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहमा बौद्ध अध्ययन, अक्र्यालोजी र म्युजोलोजी सञ्चालनमा छन् । त्यस्तै स्नातक तहमा भोट बौद्ध अध्ययन, ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडीको अध्ययन हुँदै आएको छ ।
बौद्ध विश्वविद्यालयको बुटवलमा सिटी क्याम्पस सञ्चालनमा आएको छ । त्यहाँ बिए, एलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । बुद्धसँग सम्बन्धित देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्सअन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा रहेको छ ।
विश्वविद्यालयले आठ कलेजमा सम्बन्धन दिएको छ । तीनवटा सहकार्यमा सञ्चालित क्याम्पस रहेका छन् भने हाल करिब एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् । यीमध्ये ३२ जना विदेशी विद्यार्थी (चीन, श्रीलंका, बर्माका विद्यार्थी) छन् । यस विश्वविद्यालयबाट ३५ जनाले बौद्ध दर्शनमा पिएचडी (विद्यावारिधि) गरिसकेका छन् । यतिमात्रै होइन विश्वविद्यालयले केही वर्षयता आन्तरिक सुुशासनमा पनि लगातार सबै विश्वविद्यालयलाई जित्दै आएको छ ।
करारको शिक्षकबाट इन्ट्री, दुई पटक रजिष्टार
गुमनाम यो विश्वविद्यालयलाई यो अवस्थामा पुर्याउने मुख्य जस पाएका छन् करार शिक्षकबाट प्रवेश गरेर दुई पटकसम्म रजिष्टार बनेका डा. तिलकराम आचार्यले । यो जस उनले निरन्तरको मेहनतले पाएका हुन् । दोस्रोपटक विश्वविद्यालयको रजिष्टारको जिम्मेवारी सम्हालेका आचार्यको निरन्तरको संघर्षको प्रतिफल रहेको उनका समकक्षीहरुको विश्लेषण छ ।
भौगोलिक हिसाबले रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने र नियमित यातायातको व्यवस्था पनि कम हुने, अन्य कलेज र विश्वविद्यालय पनि नजिकमा नभएको र घना बस्ती पनि नभएको त्यो ठाउँमा बौद्ध शिक्षाको जागरुगता ल्याउने काम नै महत्वपूर्ण मानिएको छ ।
विश्वविद्यालयमा राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री तथा अन्य मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराउने योजना बनाउने, बजेट पार्ने र त्यसको कार्यान्वयन गराउने काममा उनले दुई कार्यकाल बिताएको र त्यसको परिणाम राम्रो निस्केको हो ।
त्रिभुवन विश्वविद्यालयबाट बौद्ध दर्शनमा स्नातकोत्तर गरेका आचार्य २०७१ सालमा आंशिक शिक्षकका रूपमा बौद्ध विश्वविद्यालयमा प्रवेश गरेका हुन् । प्रायः काठमाडौंमै बस्ने पदाधिकारीहरु पर्यटकजस्तै आउने ठाउँ थियो लुम्बिनी । विद्यार्थी, पूर्वाधार, जनशक्ति सबै अभावमा आचार्यले त्यतिबेलाका क्याम्पस प्रमुख इन्द्र काफ्लेसँग दिनरात खटेर काम गरे । अहिले विद्यार्थीको चाप हुने विश्वविद्यालयमा त्यतिबेला विद्यार्थी र अभिभावकलाई बुझाउन उस्तै कठिन थियो ।
‘त्यो बेला विद्यार्थी जुटाउनै समस्या थियो, बौद्ध दर्शन पढ्नुपर्यो भन्दा धेरैले यसको भविश्यमा प्रश्न उठाउँथे, सबैतिरका विद्यार्थी लुम्बिनीमा पुर्याउनुपर्ने उस्तै समस्या थियो, आफ्नै साधनमा पनि धेरैलाई पुराइयो’ आचार्यले स्मरण गर्छन् । २०७२ सालमा उनी सहायक क्याम्पस प्रमुख बनेपनि पढाउने कामसँगै उनी यसको भौतिक संरचनाका लागि जग्गा व्यवस्थापनमा लागे ।
स्थानीय भूगोल र राजनीतिक क्षेत्रका व्यक्तिहरूको नाडी छामेका आचार्यले मन्त्री, नेता, प्रशासकसँग पुगेर निरन्तर काम गरिरहे । दुई दशक सक्रिय पत्रकारिता गरेका उनले २०६२ सालमा त्रिविबाट बुद्धिज्ममा एमए र २०७५ सालमा पीएचडी गरेका हुन् । बुद्धिज्ममा एमए गरेको १० वर्षपछि बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसको सहायक प्रमुख हँुदै दुई कार्यकाल रजिस्ट्रार सम्हालेर देशविदेशमा यसको पहिचान स्थापित गराएका हुन् ।
केन्द्रीय कार्यालयमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूसहित श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजापाक्षेलाई समेतलाई भ्रमण गराएर उनले यसलाई चलायमान बनाएका हुन् । पछिल्लो समय सुविधासम्मन्न ठाउँमा रहेका विश्वविद्यालयलाई उछिन्दै उनले आर्थिक अनुशासनको पुरस्कार पाइरहेका छन् । बेरुजु शून्यमा लगातार पुरस्कार पाइरहेका छन् ।
‘विश्वविद्यालय चलाउनका लागि पूर्वाधार मात्रै भएर हुँदैनथ्यो । पढाउने विषय र पढ्ने विद्यार्थी अनिवार्य शर्त थियो । बौद्ध दर्शनको कोर विषयमा मात्रै सीमित रहेको विश्वविद्यालयलाई बहुविषयमा लैजान निकै मेहनत गरियो, नयाँ विषय पढाएर विद्यार्थीलाई विश्वविद्यालयमा आकर्षित गर्ने र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने थियो । संघीय संसदले ऐन संशोधन गर्दै विश्वविद्यालयलाई पूर्ण सरकारी स्वामित्व र बहुविषयमा लग्यो’ उनले भने ।
विश्वविद्यालयमा अहिले २ हजारभन्दा बढी विद्यार्थी छन् । विदेशी विद्यार्थीको उस्तै चाप छ । लुम्बिनी, कपिलवस्तु, देवदह, बुटवल र दाङमा आंगिक र इकाई क्याम्पसहरू चलिरहेका छन् । काठमाडांैमा ७ वटा सम्बन्धन प्राप्त कलेजले पढाइरहेका छन् । ट्राभल एण्ड टुरिज्म, बीएएलएलबी जस्ता नयाँ विषयमा विद्यार्थीको भर्ना थेगिनसक्नुभएको छ । देश तथा विदेशमा गरी ६० भन्दा बढी संस्थासँग सहकार्य सम्झौता भएको छ । २८ वटा कार्यक्रमहरु तय भएका छन् ।
‘अहिले देशविदेशमा विश्वविद्यालयको चिन्ता हुन थालेको छ, सरकारी निकायहरू विश्वविद्यालय खोज्दै आउने अवस्था बनेको छ, अब लयमा गाडी गुडेको छ इन्धन भरेर चलाए मात्र हुन्छ, पछिल्लो केही महिना मात्रै चीन, जापानका कलेजसँग गरिएको सम्झौताले ठूलो उपलब्धी भएको छ’ आचार्यले थपे ।
विश्वविद्यालयमा बौद्ध अध्ययन संकायअन्तर्गत विद्यावारिधि कार्यक्रम चालू रहेको छ भने शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेको छ । सबै कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालित छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय प्राज्ञिक थलोका रूपमा विकास गर्न लागिपरेका रजिष्टार आचार्य बताउँछन् । स्थापनाको पहिलो दशकमा गति लिन नसके पनि पछिल्लो समयमा निकै महत्वपूर्ण काम भएको उनको भनाइ छ ।
अहिले तीनवटा संकाय बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स सञ्चालनमा छन् ।
‘संसारभरका बौद्ध दर्शनमा ज्ञान राख्न चाहनेका लागि विश्वविद्यालय राम्रो अध्ययनको केन्द्र बनिरहेको छ, नेपालका सातवटै प्रदेशमा रिसर्च सेन्टरहरूको स्थापनाका लागि अध्ययनका काम भइरहेका छन्, शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेका छन्’ उनले भने ।
उनका अनुसार अनुसन्धान केन्द्रले बौद्ध दर्शनका पुराना ग्रन्थहरूको अनुवाद गरिरहेको, पाली संस्कृतिमा रहेका बुद्धिजमसँग सम्बन्धित महत्ववपूर्ण ग्रन्थहरूको नेपालीकरण गरिएको, लगभग एक दर्जन तयार भएको र तीमध्ये केही प्रकाशितसमेत भएका छन् ।
‘चीन, कोरिया, जापान, श्रीलंकामा रहेका धेरै कलेजहरुमा सहकार्य सम्झौता भएको छ, यसको परिणाम देखिने गरी हामीले ल्याएका छौं’ उनले भने–‘ बाहिरका विद्यार्थी यहाँ पढ्न आउने र यहाँका विद्यार्थीले सुविधामा बाहिर पढ्नजानेगरी विश्वका धेरै देशका कलेजहरुसँग सम्झौता गरिएको छ ।’
विदेशी विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गइरहेको यस विश्वविद्यालयलाई अझ व्यवस्थित गर्न विभिन्न योजना अगाडि सारिएको छ । अहिले आवश्यक स्रोतको व्यवस्थापन गर्न सकिए विदेशी विद्यार्थी थप आकर्षित हुने उनको भनाइ छ । अहिले विश्वविद्यालयले श्रीलंका, म्यानमार, भारत, चीन, अमेरिकासहितका विभिन्न देशबाट विज्ञहरू ल्याएर अध्ययनका काम अगाडि बढाउँदै आएको छ ।
साढे २ बिघा जमिनमा सुरु भएको विश्वविद्यालयको अहिले ११३ बिघा जमिन छ । विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलका अनुसार विश्वविद्यालय स्थापना गर्दा करिब साढे दुई बिघा जमिन थियो । तर, अहिले लुम्बिनीसहित विभिन्न स्थानमा विश्वविद्यालयको ११३ बिघा जमिन रहेको छ । विश्वविद्यालयको देवदहमा ९२ बिघा जमिन रहेको छ । त्यहाँ संरचना बनिरहेको छ । बुटवल–१२, नयाँगाउँमा करिब ६ बिघा जमिन र लुम्बिनीमा करिब १५ बिघा जमिन रहेको छ ।
केन्द्रीय क्याम्पस, सिटी क्याम्पस, केन्द्रीय कार्यालय, केन्द्रीय पुस्तकालय, पदाधिकारी आवास, शिक्षक आवास, छात्रछात्रावास निर्माणका काम सम्पन्न भएका छन् । पदाधिकारीका लागि आवास गृहदेखि १६ जनाका लागि शिक्षक आवास भवन बनेको छ भने करिब सय जना विद्यार्थीका लागि छात्रावास बनेका छन् । त्यस्तै विश्वविद्यालयलाई अझ व्यवस्थित गर्ने क्रममा अनुसन्धान केन्द्र लुम्बिनी र देवदहमा प्रशासनिक भवन निर्माण कार्य जारी रहेको छ । विश्वविद्यालयमा ६ जना मात्रै स्थायी शिक्षक छन् ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि १९ जना करारका शिक्षक रहेका छन् । विश्वविद्यालयले गति बढाउँदै लगे पनि यहाँ पर्याप्त शैक्षिक जनशक्ति व्यवस्थापन हुन सकेको छैन । सरकारबाट दरबन्दी व्यवस्थापन हुन नसकेको र सीमित आर्थिक स्रोत–साधनबाट भए पनि गति बढाउँदै लगिएको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । दरबन्दी व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोगमा, मन्त्रालयमा प्रस्ताव पेस गरिएको र विश्वविद्यालय सभाले २४३ जनाको दरबन्दी स्वीकृत गरेको छ ।