एन्फाले प्राथमिकतामा राख्यो भने नेपाली महिला फुटबलले राम्रो नतिजा निकाल्छ : कप्तान सुब्बा
हेटौंडा । नेपाली महिला फुटबल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली महिला फुटबललाई प्राथमिकतामा राख्न सके राम्रो नतिजा निकाल्न सक्ने बताएकी छिन् । साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता भएर स्वदेश फर्केपछी सामजिक संजालमा स्टाटस लेख्दै कप्तान सुब्बाले देशलाइ ३८ वर्षपछि उपाधि नसकेपनि हार भने नमानेको उल्लेख गरेकी छिन् ।
उनले सामजिक संजालमा लेखेकी छिन् – पहिलो पटक उपाधि जित्ने एउटा सुनौलो अवसर थियो । त्यो अवसरलाई अन्तिम सेकेन्डमा पूरा गर्न फेरी पनि चुकेका छौं । देशलाई ३८ वर्षपछि उपाधि जिताउन पुनः असफल भयौं । तर, हार मानेका छैनौं ।
महिला फुटबललाई सरकार, परिषद् र एन्फाले नै प्राथमिकतामा राख्ने हो भने राम्रो नतिजा निकाल्न सक्छौं भन्ने यो राम्रो सन्देश हो । मसहित ६ खेलाडी भारतीय लिग र साम्बा फ्रेन्च लिगमा छ । घरेलु लिग हुने हो भने अरु खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सक्छन् । दीपा शाही, प्रीति राईसहित नयाँ खेलाडीको उत्कृष्ट प्रदर्शनले हौसला बढाएको छ ।
कप्तान तथा गोलकिपरको रुपमा प्रमाणित गर्ने अवसर थियो । तर, भएन । त्यसको लागि क्षमाप्रार्थी छु । सबै खेलाडीको नेतृत्व गर्दै कप्तानको रुपमा सबैसँग क्षमा माग्छु । यो अवसरको लागि एन्फा अध्यक्ष ज्यूसँगै सबै पदाधिकारी, प्रशिक्षक, अफिसियल सबैलाई धन्यवाद ।
आजबाट पुनः ब्यवसायीक फुटबल सुरू भएकाे छ । भारत आईपुगेको छु । सबैको माया, सद्भाव सधै पाउनेमा आशावादी छु ।