सुवास नेम्वाङका छोरा सुहाङको कटु स्मृति- हस्पिटल जानुपर्ने गाडी च्यासल मोडिएपछि खङ्‌ग्रङ्ग भएँ (भिडिओ) – Nepal Press
नेपाल टक

सुवास नेम्वाङका छोरा सुहाङको कटु स्मृति- हस्पिटल जानुपर्ने गाडी च्यासल मोडिएपछि खङ्‌ग्रङ्ग भएँ (भिडिओ)

‘परिस्थितिले राजनीतिमा धकेल्दैछ, बुवाको निर्वाचन क्षेत्रमा पार्टीले अघि सारे खुट्टा कमाउँदिन’

गत भदौ २६ गते नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्बर २ खाली छ । र, त्यहाँ आगामी वैशाख १५ का लागि उपचुनावको मिति घोषणा भइसकेको छ । उपचुनावको तयारीबीच सुवासका कान्छा छोरा सुहाङ यतिखेर चर्चामा छन् ।

वकालत पेशामा रहेका उनी करिबकरिब गुमनाम नै थिए । बुवासँग हरेक बिहान राजनीति र पारिवारिक विषयमा कुराकानी हुने गरेको सुहाङ सम्झिन्छन् । बुवा पदमा भइञ्जेल कुनै पनि लाभको पदमा नरहने आफूहरूबीच सम्झौता रहेको उनले सुनाए । समाज बुझेदेखि नै राजनीतिमा रुचि रहेको भन्दै उनले १०/१५ वर्ष राजनीति सिकेर सबै कुरा बुझेर आउँछु भन्ने सोचमा भएपनि परिस्थितिले अहिले नै आउनुपरेको हामीसँग बताएका छन् । 

उपचुनावका लागि दाबेदारी, तयारी, बुवासँगका क्षणगायतका विषयमा सुहाङसँगको कुराकानी नेपाल टकमा –

– हिजोआज के कसरी बितिरहेको छ दिनचर्या

परिवारलाई धेरै समय दिने गरेको छु । सँगसँगै मेरो आफ्नो कान्तिपुर ल एशोशिएटलाई समय दिन्छु । परिवारलाई माया गर्नुहुने शुभचिन्तक शुभेच्छुकसँगको भेटघाटलाई समय दिन्छु ।

– बुवा गुमाउनुभएको ६ महिना बित्यो । यो अवधि पारिवारिक रूपमा र व्यक्तिगतरूपमा तपार्ईंका लागि कत्तिको कष्टप्रद रह्यो ?

मानव जातिमा कष्टको कुरा त नयाँ नयाँ थपिरहेकै हुन्छ । बुवाको अनुपस्थितिमा परिवारमा धेरै नै कष्ट त परेकै छ । तर, हाम्रो परिवार आफन्तजन हामीलाई माया गर्नुहुने अग्रज अभिभावको साथ सहयोगले त्यति सार्‍हो कष्ट भएको छैन ।

– बुवाको असामयिक देहावसानको क्षणलाई अहिले कसरी सम्झिनुहुन्छ ? आफूलाई सम्हाल्न कत्तिको गाह्रो भएको थियो ?

अझैपनि बुवाको कुरा गर्दा मन चस्स पोल्छ । प्लेनमा चढ्ने बेलादेखि ओर्लिन्जेलसम्म धेरै कुरा दिमागमा चलिरहेको थियो । बुवा अझै जीवितै हुनुन्छ होला, केही त चान्स होला, डाक्टरहरूले बचाउनुभो होला भन्ने खालका कुराहरू मनमा खेलिरह्यो । प्लेनबाट झरिसकेपछि छिटोछिटो च्यासल जाउँ भनेपछि म खङगरङ्ग भयो । हस्पिटल जानुपर्ने किन च्यासल ? भन्ने भयो । च्यासलमा पुगेपछि मात्र रियालिटी चेक भयो । त्यो बीच्चको बाटोमा के भयो कसो भयो भन्ने केही थाहा भएन । त्योबेला केही सोच्न सक्ने हालतमा थिइनँ । परिवारले, अग्रजहरूले आजभोलि साथ दिएर शक्ति दिइराख्नुभएको छ । त्यसैले आत्मबल दर्‍हो बनाएर अघि बढिरहेको छु ।

बुवा सुवासको अन्तिम बिदाईको क्रममा च्यासलमा जेठो छोरा मिक्सो र सुहाङ ।

– उहाँको स्वास्थ्य अवस्था कस्तो थियो ? आफ्नो स्वास्थ्यको कत्तिको ख्याल राख्नुहुन्थ्यो ?

बुवा आप्नो हेल्थ मेन्टनमा धेरै इच्छुक व्यक्तिमा गनिनुहुन्छ । ए ! यो त मैले खानुहुन्न डाक्टरले नखानुभनेको छ भन्नुहुन्थ्यो । एकदमै बार्नुहुन्थ्यो । मिठ्ठाइ एकदमै मन पराउने व्यक्ति कहिलेकाहीँ मिठ्ठाइ दिँदा मैले धेरै खाइसकेँ अब तिमेरु खाऊ भन्नुहुन्थ्यो । स्वास्थ्यको मामलामा उहाँ आफ्नो धेरै केयर गर्नुहुन्थ्यो । समस्या केही थिएन । एकदिनअघि मात्र हँसीठट्टा गरेर कुरा भएको सम्झना छ । हाँसीहाँसी फोन गर्‍यौं । भोलिपल्ट म अलि व्यस्त भएँ, त्योबेला ज्वरो आएको रहेछ । तर, ज्वरोले मान्छे लान्छ भनेर कसैले कल्पना गर्न सक्दैन ।

– बुवाले तपाईंलाई राजनीतिमा लाग्न कत्तिको प्रेरणा दिनुभएको थियो ? बुवा पार्टीको उच्च पदमा हुँदा पनि तपाईं किन एमालेको कुनै कमिटीमा रहनुभएन ?

बुवा र मेरो धेरै अगाडिदेखिको कुरा- छोरा वकिल बन्नुपर्छ भन्नुहुन्थ्यो । मैले एसएलसी गरिसकेपछि बुवा म वकिल बन्छु भन्दा त्यो अनुहार झल्झली याद छ- उहाँले खुसी लुकाउन सक्नुभएको थिएन । उहाँकै सल्लाहमा अष्ट्रेलिया पुगेँ ब्याचलर पढेर आएर एलएलबी पढ्छु भनेर । ल बीएलएलबी यहाँ सुरू हुनेछ भनेर बोलाउनुभो अनि काठमाडौं आएँ । हाम्रो बीचमा कानूनी, राजनीतिदेखि पारिवारिक सबै कुरामा बिहान छलफल हुन्थ्यो । अब तिम्रो इच्छा के हो त ? भन्ने विषयमा कुरा भइरहन्थ्यो । उहाँको देहान्त हुनुभन्दा एक/डेढ हप्ताअगाडिको कुरा हो- बुवा ! न्यायपालिका-कार्यपालिका ध्वस्तजस्तै भयो । के गर्नुभएको ? यहाँ त बस्ने खालको ठाउँ नै बनेन । राजनीतिमा आउनु त राम्रो हैन जस्तो छ युवा पुस्ताहरूले के गर्नुभएको ? चरम रूपमा बिग्रिसक्यो, हामीलाई आउन पनि अप्ठ्यारो हुने भयो भन्दा भन्दा अब तिमीहरू छौ त सक्षम आएर बदल न भन्नुभयो । तिमीले जेसुकै भन मेरो साथीहरूले औंला समाएर तिमीलाई डोर्‍याउँछन् भनेर हाँस्नुभएको थियो । राजनीतिको विषयमा हामीबीच कुरा भइरहन्थ्यो । संघसंगठनमा म नहुनुको कारण बुवाको कारण म कुनै ओहोदामा नआउने किनभने यसले बुवालाई काम गर्न सहज हुने, परिवारलाई पनि बलियो भएर उभिन सहज हुनेगरी हामीबीचमा सम्झौता भइरह्यो ।

– सुवासचन्द्र नेम्वाङलाई एउटा राजनीतिकर्मीका रुपमा कसरी मूल्यांकन गर्नु हुन्छ ?

उहाँ इमान्दार, बफादार, स्वच्छ छविको नेता हुनुन्थ्यो । जे गर्नुभयो दृढताका साथ गर्नुभयो । उहाँले गर्नुभएको सबै काममा औंला उठाउने ठाउँ छैन । अहिलेको परिस्थितिमा अत्यावश्यक व्यक्तिको रूपमा हेर्ने गर्छु ।

– राजनीतिकर्मीभन्दा बाहेक बुवाका रुपमा सुवास नेम्वाङलाई कसरी सम्झिनु हुन्छ ?

उहाँले हामी घरभित्रका नभएर नजिकका पूरै परिवारलाई अत्यन्तै माया गर्नुहुन्थ्यो । उहाँको सम्झाउने तरिका पनि फरक थियो । हामीलाई कहिल्यै गाली गर्नु पनि भएन । र गल्ती गरिहाल्यौं भने सम्झाउने तरिका पनि फरक थियो । शान्त व्यक्तित्व हुनुन्थ्यो । परिवारलाई एकठाउँमा राख्ने काम गर्नुभयो ।

– सुवास नेम्वाङ हुँदासम्म गुमनामजत्तिकै हुनुहुन्थ्यो । अहिले राजनीतिमा आउन खोज्दै हुनुहुन्छ । बुवाको बिँडो थाम्ने प्रयास हो कि तपाईंलाई पहिल्यैदेखि रुचि थियो ?

जबदेखि समाज बुझ्न थालेँ राजनीतिमा पहिल्यैदेखि रुचि हो । राजनीतिमा सबैको रुचि हुनुपर्छ सबैले बुझ्न जरुरी छ । यसले समाजमा सकारात्मक परिवर्तन ल्याउनुहुन्छ । बुवाले सधैँ दोहोर्‍याउनुहुन्थ्यो- राजनीति पेशा हैन, राजनीति गर्न आफू बलियो हुनुपर्छ । आफ्नो पेशा पनि बलियो हुनुपर्छ भन्नुहुन्थ्यो । अघि नै मैले भनिहालेँ बुवा र मेरोबीचको सम्झौता । त्यो सम्झौता र उहाँको भनाइलाई आत्मसात राखेर बुवासँग १०/१५ वर्ष सिक्ने मौका छ, सिक्छु भनेर चुनावमा पनि बुवासँग हिँडे । सबै इलामेली उहाँका शुभचिन्तक सबैसँग भेट गरेँ । म १०/१५ वर्ष राजनीति सिकेर सबै कुरा बुझेर आउँछु भन्ने विचार थियो । हुनेलाई कसले टार्नसक्छ भनेजस्तै अहिले जे घटना भयो त्यसले अलि अगाडि नै राजनीतिमा आउने परिस्थित बन्यो । त्यो भन्दैमा बुवाकै विरासत थाम्नका लागि मात्र नभएर समाज परिवर्तनको लागि अगाडि बढ्न युवाहरू चाहिन्छ भनेर राजनीतिमा आउन खोजेको हो ।

– बुवाको नामका कारण तपाईंलाई कत्तिको दबाब महसुस हुन्छ ? बुवाको उचाइ छुन सक्छु भन्ने लाग्छ कि लाग्दैन ?

बुवाको छत्रछाया नै एकदमै ठूलो छ । मैले बुवाको ल फर्म (पायोनियर ल एशोशिएट्स) छाडिसकेपछि म आफ्नो नाम बनाउँछु है बुवा भनेर कान्तिपुर ल एशोशिएट्स मेरो मिल्ने मित्र दाइ आरसी गौतमसँग मिलेर सुरू गरेँ । सुवास नेम्वाङको छोरा भन्दा मलाई गर्व लाग्छ । म जति नै राम्रो जति नै ठूलो बनेपनि सुवास नेम्वाङको छोरा भन्ने हुने नै भयो । बुवाजत्तिको व्यक्तित्व चाहिँ हुने प्रयास रहने नै छ । भविष्यले पनि देखाउनेछ । आफ्नो क्षमता रहनेछ । त्यो दिन आउँछ ए सुहाङ नेम्वाङ भनेर चिन्ने पनि हुन्छ साथसाथै सुवास नेम्वाङको छोरा सुहाङ पो हो भन्ने दिन पनि आउँछ । त्यही हिसाबले अगाडि बढेको छु ।

– इलाम २ मा उपचुनावको घोषणासँगै चर्चामा हुनुहुन्छ । उम्मेदवारीका लागि तयार हो तपाईँ ?

सुरूमै म तयार छु भन्नु भन्दा । इलाममा र मिडियाले हामीप्रतिको माया र विश्वासका कारण सुहाङ पनि त्यहाँ दाबेदार हुनसक्छ भनेर माया देखाउनुभएको हो । अर्को कुरा, बुवाको शुभेच्छुक र हाम्रो परिवारलाई माया गर्ने सबैलाई धन्यवाद भनेर हिँड्नेक्रममा उहाँहरूले पनि उत्तिकै माया देखाउनुभयो । राजनीतिमा आउने मेरो रुचि र इच्छाबारे अगाडिदेखि भन्दै आएको छु । तर, यति चाँडो परिस्थिति आउँछ भन्ने मलाई थिएन । पार्टीले छलफल गरि नै रहेको छ । सही मूल्यांकन गरेर परिस्थितिहरूलाई नापेर, इलामको जनताको म्याण्डेट के छ, जिल्ला कमिटीको म्याण्डेट के छ, अग्रजहरूको सरसल्लाह गरेर ‘सुहाङ अघि बढ्नुपर्छ’ भन्नुभयो भने म खुट्टा कमाउँदिन भनेको छु ।

– पार्टीले टिकट दियो भने परिवारवादको आरोप लाग्ला कि ! कसरी फेस गर्नुहुन्छ ?

यसमा मेरो जवाफ के भन्दै आएको छु भने- हाम्रो परिवार धेरै अगाडिदेखि नेकपा एमाले, राजनीतिसँग जोडिएको परिवार हो । हाम्रो परिवारको अप्रत्यक्ष योगदान छ । बुवा जेल परेदेखि उहाँ जुनसुकै अवस्थामा पनि हामी सँगै छौं । एमाले पार्टीसँग हाम्रो पारिवारिक नाता पनि छ । नातावाद भनेर जुन कुरा भइरहेको छ यो उठाउनैपर्ने कुरा थियो । क्षेत्र नम्बर २ बाट पार्टीको छलफलबाट मेरो नाम अघि सार्नुभयो भने कसरी परिवारवाद भन्ने ? परिवारवादको अर्थ बुझ्न जरुरी छ । पार्टीले टिकट दिँदैमा म सांसद भइहाल्ने हो त ? हैन नि ! मैले त जनताको अगाडि गएर म्याण्डेट लिनुपर्छ, जिल्ला कमिटीसँग मैले छलफल गर्नुपर्छ । मैले प्रतिस्पर्धाको संघर्षपछि जनताले अनुमोदन गरेपछि बल्ल सांसद हुने हो त्यहाँ लामो दौड छ । एकजनाको मृत्यु भयो यसको छोरालई ल्याउनुपर्छ भनेर टपक्क ल्यायो भने पो परिवारवाद भयो त !

म १०/१५ वर्ष राजनीति सिकेर सबै कुरा बुझेर आउँछु भन्ने विचार थियो । हुनेलाई कसले टार्नसक्छ भनेजस्तै अहिले जे घटना भयो त्यसले अलि अगाडि नै राजनीतिमा आउने परिस्थित बन्यो । त्यो भन्दैमा बुवाकै विरासत थाम्नका लागि मात्र नभएर समाज परिवर्तनको लागि अगाडि बढ्न युवाहरू चाहिन्छ भनेर राजनीतिमा आउन खोजेको हो ।

– पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा यहाँको भौतिक उपस्थिति बाक्लिएको देखिन्छ । त्यहाँ तपाईँकै नेतृत्वमा स्पोर्ट्स गतिविधि पनि भइरहेको छ क्यारे । कस्तो पाउनुभएको छ इलामेली नेता-कार्यकर्ता र जनताको रेस्पोन्स ?

बुवा र मेरो छलफलबाटै हामीले स्पोर्टिङ इलाम दी मेची राखेको हो । खेलकुद, कला/संस्कृति मेरो रुचिका कारणले गएको हो । त्यतिखेर मेरो धन्यवाद भन्दै हिँड्ने क्रम थियो । हाम्रा शुभेच्छुक, जनता, पार्टीका अग्रजहरू सबैले माया देखाउनुभयो सकारात्मक कुरा गर्नुभयो ल है बाबु अब तिमी आउनुपर्छ पनि हामी सहयोग गर्छौं भन्नुभयो । त्यो हाम्रो परिवारप्रतिको मायाले स्वाभाविक हो जस्तो लाग्छ ।

– अन्य आकांक्षी/दाबेदारहरूलाई के भनेर कन्भिन्स गर्नुहुन्छ ?

उहाँहरू हाम्रा अग्रजहरू भन्छु म । मेरो दाइ, अंकलहरू जोजो इच्छुक हुनुन्छ । त्यो स्वाभाविक हो । पार्टीमा धेरै अगाडिदेखि उहाँहरूको लगानी हो । स्कुल/कलेज पढ्दादेखि नै पार्टीमा खट्नुभएको हो । पार्टीलाई जिताउन अहोरात्र योगदान दिनुभएको छ । बुवाकै लागि पनि उहाँहरूले सहयोग गर्नुभएको छ । उहाँहरू क्षमतावान् हुनुन्छ । मैले उहाँहरूलाई अवसर प्राप्त गर्नुभएको खण्डमा यसरी बुझाइरहनुपर्छ जस्तो लाग्दैन । अहिलेको अवस्थामा परिस्थिति हेरेर त्यहाँको सबै अवस्था हेरेर जितको लागि सही दाबेदार को हुनसक्छ त भनेर पार्टीले निर्णय कुरालाई उहाँहरूले आत्मसात् गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।

राजनीतिको विषयमा हामीबीच कुरा भइरहन्थ्यो । संघसंगठनमा म नहुनुको कारण बुवाको कारण म कुनै ओहोदामा नआउने किनभने यसले बुवालाई काम गर्न सहज हुने, परिवारलाई पनि बलियो भएर उभिन सहज हुनेगरी हामीबीचमा सम्झौता भइरह्यो ।

– बुवाको समकक्षी एमालेका एमालेका शीर्ष नेताहरूसँग भेटघाट, कुराकानी भइरहेकै होला । के कुराकानी हुन्छ ?

एउटा नेपाली उखान नै छ- ‘बलेको आगो सबैले ताप्छन्’ हाम्रो परिवार यो भनाइबाट निकै पर छ । हाम्रा अग्रज र अभिभावकले हाम्रो परवारलाई माया देखाइरहनुभएको छ । हालखबर सोधिरहनुहुन्छ, आउनु है भेट्न/चिया खान भन्नुहुन्छ । उहाँहरूको मायाममताप्रति कृतज्ञ छौं, सधैँ यही अभिभावकत्वको अपेक्षा गरेका छौं । तर, उहाँहरूसँग मेरो राजनीति कुरा त्यति हुँदैन, राजनीति कुरा गर्न पनि रुचाउँदिन । उहाँहरूको छोरा, भाइजस्तो उमेरको मान्छे । खाली हालखबर पारिवारिक कुरा हुन्छ, राजनीतिक कुरा एकदमै कम हुन्छ ।

– अहिले अस्थिर राजनीति र नेताहरूप्रति विशेषगरी युवाहरूमा फ्रस्टेसन देखिन्छ । युवा पलायन पनि उत्तिकै छ । तपाईँ पनि युवाको प्रतिनिधिको रूपमा राजनीतिमा आउन खोजिरहनुभएको छ । के भन्नु हुन्छ ती युवालाई ?

विदेश म आफैँ पनि गएको हो । त्यहाँ साढे २ वर्ष बस्दा कपडा बेच्ने, भाँडा माझ्नेदेखि स्याण्डवीच बनाउनेसम्म सबैखाले काम गरेँ । त्यहाँको जीवन सोचेजस्तो चाहिँ छैन । कमिलाको जीवन भन्ने गरेको छु मैले । २४सै घण्टा खटिराख्नुपर्ने । यति भन्दै गर्दा त्यहाँको तलब/सुविधा राम्रो छ । आकर्षण गर्छ नै यसलाई नकारात्मक लिन्न । सबैजना सुविधाको खोजीमा जान चाहनुहुन्छ नै । म युवा भएको नाताले हामी युवा सबै एकठाउँमा उभिएर अहिलेको परिस्थितिलाई बदल्न सक्छौ भन्ने विश्वास छ । विदेश पलायन विश्वास टुटेको कारण नभई उहाँहरूको परिस्थितिको कारण जानुभएको हुनसक्छ । हामी युवाहरूको ऊर्जा, अभिभावक, अग्रजहरूको अनुभव सबैलाई मिलाएर एकैठाउँ उभिएर राष्ट्रको मुहार फेर्न सक्छौं । राष्ट्र बदलिएको परिकल्पना गर्न सक्छौं । हामी सबैजना मिलेर, सल्लाह गरेर कार्यदिशा/कार्ययोजना बनाएर हामी एकैठाउँमा उभिनु नै अहिलेको आवश्यकता हो । विदेशमा हुनुभयो भन्दैमा उहाँहरूको कुनै कन्ट्रिब्युसन हुँदैन भन्ने सोच्नुहुँदैन । उहाँहरू बाहिरैबाट पनि कन्ट्रिब्युसन, सरसल्लाह दिन सक्नुहुन्छ । त्यसरी नै देशको मुहार फेर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर