बडीमालिका नगरपालिकाभित्र महिला कर्मचारीबीच मुक्का हानाहान र कपाल लुछालुछ – Nepal Press

बडीमालिका नगरपालिकाभित्र महिला कर्मचारीबीच मुक्का हानाहान र कपाल लुछालुछ

कैलाली । बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको छ । पालिकाको मेड्पा कार्यक्रममा कार्यरत दुई कर्मचारीबीच कुटाकुट भएको हो । सो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मेड्पा परियोजना प्रमुख रन्जीता शाही र अर्का कर्मचारी कविता सूर्यवंशीबीच परियोजनाकै बारेमा आपसी विवाद बढेपछि कुटाकुट भएको नगरपालिका कार्यालयले जानकारी दिएको छ । दुवै जना एउटै परियोजना र एउटै शाखामा कार्यरत कर्मचारी हुन् ।

‘कार्यसम्पादन मूल्याङ्कन र दैनिक कार्य योजना बारे छलफल भइरहँदा कसले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि विवाद बढेको हो’, नगरपालिकाका एक कर्मचारीले भने, ‘विवादले पछि कुटाकुटको रूप लियो ।’

कार्यकक्षमा पहिला कविता सूर्यवंशीले जहिले पनि हेपेर कुरा गर्ने भन्दै सुरुमा मुक्का प्रहार गरेको र पछि प्रतिवादमा रन्जीता शाहीले पनि प्रहार गरेको ती कर्मचारीले बताए ।

कार्यालय प्रमुख समेत रहेका प्रमुख प्रशासनीय अधिकृत बमबहादुर केसीले केही कर्मचारी र विवादमा संलग्न दुवै कर्मचारीलाई सँगै राखेर मिलाएका थिए ।

दुवै जनाले मिलेर काम गर्ने, एकले अर्कालाई सम्मान र सहयोग गर्ने सहमति पनि भएको थियो । कुटाकुट भएकै बेला केही कर्मचारीले विवाद समाधान तर्फ नलागी उल्टै भिडियो खिच्नतिर लागेका थिए ।

भिडियो सार्वजनिक भएपछि घटना सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । घटना भएको दिन नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा कुमारी थापा जिल्ला बाहिर थिए ।

दुवै जनाले सामाजिक सञ्जालमा भिडियो आइसकेपछि मात्रै जानकारी पाएको बताए ।

‘यो सामान्य विषय हो हामीले भिडिओ आएपछि थाहा पाएका हौँ’, उपप्रमुख नन्दा कुमारी थापाले भनिन्, ‘यस विषयमा छानबिन गर्छौ ।’

उनले कुन विषयमा झगडा गरेका हुन् भन्ने विषयमा जानकारी नभएको बताइन् । आगामी दिनमा यस्तो नगर्ने भनेर कार्यालय प्रमुखले मिलाएर पठाएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले आफू पनि मिलाएर जिल्ला बाहिर गएको बताए । उनले भने, ‘यस विषयमा हामी गम्भीर छौँ छानबिन गर्छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर