नेकपा एसलाई गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीको प्रस्ताव, माधव नेपालले पोखे यस्तो असन्तुष्टि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । नेपालको निवासमै पुगेर उनले सो प्रस्ताव गरेका हुन् ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक छोडेर प्रचण्ड माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित नेपाल निवास पुगेका थिए । नेताहरुबीच अहिले छलफल जारी छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको प्रस्तावमा नेपालले पार्टीमा छलफल नगरी निर्णय दिन नसक्ने जवाफ दिएका छन् ।
नेपालले यत्रो राजनीतिक घटनाक्रममा आफ्नो पार्टीलाई उपेक्षा गरिएकोमा असन्तुष्टि पोखेको स्रोतले बतायो ।
‘यो गठबन्धन कसरी बन्यो, किन बन्यो हामीलाई जानकारी छैन । सबै निर्णय लिँदा हामीलाई सम्झिनुभएन । तर, गणित पु¥याउन सकस भएपछि मात्रै प्रस्ताव गर्नुभयो’, उनले प्रधानमन्त्रीसँग गुनासो गरे ।
प्रधानमन्त्रीले आफूहरुबाट त्रुटि भएको स्वीकार्दै सल्लाह गरेर अघि बढ्ने आश्वासन दिएका छन् ।