बिरामी माधव नेपाल स्लाइन लिँदै बैठकमा बसे, घरमा उपेन्द्रदेखि प्रचण्डसम्मको लर्को – Nepal Press

बिरामी माधव नेपाल स्लाइन लिँदै बैठकमा बसे, घरमा उपेन्द्रदेखि प्रचण्डसम्मको लर्को

बिहान नारायणकाजीले फकाए, बेलुका प्रधानमन्त्री नै पुगे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले अस्वस्थ छन् । उनी दुई दिन अस्पताल भर्ना भएर हिजो साँझ डिस्चार्ज भएका हुन् ।

स्रोतका अनुसार नेपाललाई श्वासप्रश्वासको समस्या तथा भाइरल ज्वरोले गाँजेपछि उनलाई अस्पताल भर्ना गराएको थियो । अहिले उनको अवस्था सुधार भए पनि पूर्ण स्वस्थ भइसकेका छैनन् । आज दिउँसो पनि उनलाई अलिकति ब्यथाले अलिक च्यापेपछि डाक्टरहरूले घरमा आएर हेरेका थिए ।

नेपालको स्वास्थ्यका कारण आज पार्टीको पदाधिकारी बैठक कोटेश्वरस्थित उनकै निवासमा बसेको थियो । नेपालले स्लाइनबाट औषधि लिँदै सुतिसुती बैठकमा सहभागी भएका हुन् । बैठक करिब १५–२० मिनेट मात्र चल्यो । बैठकमा नेपालले नेताहरूलाई गठबन्धन फेरबदलको निर्णयबारे कसैलाई पूर्व जानकारी थियो भनेर सोधेका थिए । तर, नेताहरूले केही थाहा नपाएको बताए । बैठकले पर्खने र हेर्ने भन्दै ठोस निर्णय गरेन ।

अस्वस्थताका बाबजुद आज नेपाल दिनभरि व्यस्त भए । बिहान माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपालको निवासमा आएको थिए । श्रेष्ठले नेपालसँग सरसल्लाह नगरीकन गठबन्धन फेरबदलको निर्णय गरिएकोमा प्रधानमन्त्रीलाई गल्तीबोध भएको सुनाए । उनले माओवादी पदाधिकारी बैठकको निर्णय जानकारी गराउँदै गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । श्रेष्ठले वामपन्थीहरू एक ठाउँमा आउनुपर्ने भन्दै नेपाललाई फकाउने प्रयास गरे । तर, नेपालले सकारात्मक जवाफ दिएनन् ।

‘सुरुबाट हामीसँग सल्लाह गरेको भए एउटा कुरा हुन्थ्यो, तर सबै कुरा गरिसकेर हामीलाई औपचारिकतावश प्रस्ताव गर्नुको अर्थ छैन,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले मुखले मात्र वामपन्थी सरकार भनेर नहुने बताए ।

‘व्यवहारमा वामपन्थी हुनुपर्‍यो । रास्वपादेखि जसपासम्मलाई बोलाउने, तर कम्युनिष्ट पार्टीलाई उपेक्षा गर्ने पनि वामपन्थी चरित्र हुन्छ ?’ नेपालले भने ।

आजै जसपा अध्यक्ष उपेन्द्र यादव पनि नेपालको घरमा पुगेका थिए । उनले नेपाललाई सरकारमा नजान सुझाव दिएका थिए । यस्तो सुझाव दिनुमा उनको आफ्नै चाल थियो । नेकपा एस सरकारमा नगएमा आफ्नो पार्टी सरकार निर्माणका लागि निर्णायक हुन्छ भन्ने यादवलाई थाहा छ । निर्णायक शक्ति भएको खण्डमा सबै कुरामा बार्गेनिङ गर्न पाइन्छ भन्ने सोचले उनले म्यानुपुलेट गर्न खोजेको नेपालले नबुझ्ने कुरै थिएन ।

यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरुसँग सल्लाह नै नगरी प्रचण्डले यत्रो निर्णय गरे, किन सरकारमा जानुहुन्छ अब ? सकेसम्म त हामी पनि जाँदैनौैं । जानैपर्यो भने पार्टीबाट एकजना कसैलाई पठाउने हो, म जान्न ।’

यसरी नेपाललाई भाँड्न खोजेका यादव लगत्तै बालुवाटारको गठबन्धन बैठकमा सहभागी भएर प्रचण्डसँग फोटोसेसन पनि गरेका थिए ।

नेपालको निवासमा सीके राउत र रेशम चौधरी पनि पुगेका थिए । उनीहरूले पनि सरकारमा जाने–नजानेबारे नेपालको धारणा बुझ्न खोजे । आफूहरू पनि यही अवस्थामा सरकारमा नजाने राउतले बताएको स्रोतको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर