‘रत्नकुमारको हत्या भएकोले सुरुङ युद्ध हुनै पाएन’ – Nepal Press

‘रत्नकुमारको हत्या भएकोले सुरुङ युद्ध हुनै पाएन’

काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट इटहरीको जनता बहुमुखी क्याम्पसमा पढ्न आउने विद्यार्थीहरुले अर्जुन उप्रेतीलाई एक प्राध्यापक तथा प्राध्यापकका पनि नेताको रुपमा चिन्छन् । रेडियोको समाचार सुनेर हुर्किएका पूर्वेलीहरुले उनलाई एक बेलाको शक्तिशाली रेडियो सप्तकोशीका समाचार वाचकको रुपमा चिन्छन् । रेडियोबारेका पुस्तक पढ्नेहरुले उनलाई रेडियो लेखक भनेर चिन्छन् । नेपाली रेडियोहरुमा संघोर नाटक सुनेका पुस्ताले उनलाई नाट्य क्षेत्रको अनुहारको रुपमा पनि चिन्छन् । उसो त विद्यार्थी कालदेखि प्राध्यापन कर्मसम्म उनलाई वाम नेता, वौद्धिक व्यक्तिको रुपमा चिन्ने तप्का पनि छ ।

यी र यस्ता थुप्रै परिचयका विम्बहरुमा चिनिएका उप्रेतीले हालसालै खोज पुस्तक बजारमा ल्याएका छन् । पूर्वसञ्चारकर्मी, सप्तकोशी एफएमका सहकर्मी जसकुमार राईसगँको सहकार्यमा उनले रत्नकुमार बान्तवाबारेको किताब बजारमा ल्याएका छन् । उनै अर्जुन उप्रेतीसँग नेपाल प्रेसकर्मी विराट अनुपमले उनको पुस्तक यात्रा, सहलेखन र रत्नकुमार बान्तवासँग जोडिएका विभिन्न पक्षमा औपचारिक तथा अनौपचारिक कुराकानी गरेका छन् । उप्रेती हाल पितृशोकमा छन् । तर, यो कुराकानी पितृशोकको घटनाभन्दा अगाडि गरिएको हो ।

– हाम्रो हरेक भेटमा तपाईं आफ्ना आगामी कार्यक्रमहरु साझा गर्नुहुन्थ्यो । यही माघमा आएको जसकुमार राईसँग मिलेर प्रकाशन भएको तपाईंको किताब ‘नेपालमा सुरुङ युद्धः रत्नकुमार बान्तवाको सङ्घर्ष र बलिदानको वृत्तान्त’को मामिलामा चै मलाई कुनै सूचना चुहाउनु भएन । किताब पढेरमात्रै मैले यो जानकारी पाएँ । यसो हुनु संयोग हो कि नियत ?

तपाईंसँग हरेक भेटमा हामी आमसञ्चार, राजनीति, सामाजिक, समसामयिक कुरामा घण्टौं छलफल गर्थ्यौं । त्यो सही हो । तर, त्यो बेला हाम्रो निजी कुरामा खासै ध्यान जाँदैनथ्यो र कमै छलफल हुन्थ्यो, जसका कारण यो पुस्तक सुरुङ युद्धको विषयमा चर्चा भएन । त्यो सत्य हो । दोस्रो कुरा, यो किताबको लेखन आजभन्दा करिब ५ वर्ष अगाडिबाटै सुरु भएको हो, जुनबेला हामीले १ वर्षभित्र यो किताब बजारमा ल्याउने भनेर लेखन थालेका थियौं । तर, २०७९ सालसम्म पनि त्यो काम गर्न सकिएन र हामीलाई साह्रै आत्मग्लानी पनि भयो कि एकदुई वटा बसाइमा २-४ जना साथीलाई पनि हाम्रो किताब आउँदैछ भन्यौं । तर, किताब निस्किएन, जसले गर्दा अरुलाई भन्न पनि हामीलाई अप्ठेरो भयो र लज्जाबोध भइरह्यो ।

तेस्रो कारण, किताब आजभन्दा दुई वर्ष अगाडि नै तयारी भएको थियो । एउटा पब्लिकेशसनले छाप्ने जिम्मा पनि लियो । तर, लामो समयसम्म पनि होल्डमात्रै गरिदियो, जसले गर्दा हामीलाई झन अप्ठेरोमा पार्‍यो कि किताब लेखेरमात्र हुने रहेनछ, प्रकाशन गर्न पनि पहाड पल्टाउनु जत्तिकै रहेछ भन्ने लाग्यो र अनि निकट तपाईं जस्ता मित्रहरुलाई पनि भन्नसक्ने हिम्मत हामीमा नआएको हो । तर, कुनै गलत आशय चाहिँ होइन ।

– ‘साझे कि बाजे’ भन्ने नेपाली लोकोत्ति छ । नेपाली सहकार्य खासै टिक्दैन भन्ने छ । जसकुमार राई र तपाईंको सहकार्य कसरी मजाले टिक्यो ?

नेपालमा साझे काम वा व्यवसाय टिक्दैन भन्ने थुप्रै उदाहरण छन् । तर, हामीले ६ वर्ष अगाडि डकुमेन्ट्री बनाएका थियौं । त्यहीबेला डकुमेन्ट्रीसँगै एउटा किताब पनि लेखौं भन्ने कुरा घटनास्थलमा गइसकेपछि महसुस भयो र सँगसँगै किताब र डकुमेन्ट्रीको काम सुरु गर्‍यौं । डकुमेन्ट्रीको सबै काम आफैंले गर्ने भएकोले तुरुन्तै रिलिज भयो । तर, किताबमा त धेरै कुरा मिलाउनु पर्ने, प्रकाशक खोज्नुपर्ने, बजार व्यवस्थापनको चुनौती पनि हुने भएकाले अलि ढिला भयो ।

यत्रो लामो समयसम्म सहकार्य कसरी टिक्यो भन्ने कुराको पछाडि थुप्रै कारण होलान् ! तर, मुख्य कारण मलाई लागेको चाहिँ दुबै जनामा सीमित स्वार्थ नहुनु हो जस्तो लाग्छ । हामी दुबै जनाले मैले चाहिँ बढी क्रेडिट पाउनुपर्छ, फाइदा पाउनुपर्छ भनेर कहिल्यै पनि सोचेनौं । सामूहिक स्वार्थ भएकै कारणले यहाँसम्म आइपुगिएको होला ।

– २४ वर्षको उमेरमा कम्युनिष्ट आन्दोलनमा लागेका बान्तवाले भियतनामी कम्युनिष्टले अमेरिकी सत्तासँग लड्दा अपनाएको सुरुङ युद्धको सवाल किताबमा रोचक आएको छ । तर, किताबभित्र सुरुङ युद्ध हुनै नपाएको देखिएको छ । सुरुङ युद्ध किन हुन सकेन ?

तत्कालीन समयमा मालेको को.के. (कोर्डिनेसन कमिटी)को सम्पर्क र जिम्मेवारीमा पुगिसकेपछि रत्नकुमारलाई नेपालमा तत्कालीन राज्यसत्ताको चरम दमन, एकतन्त्रीय शासन व्यवस्था र वर्गीय असमानताको अन्त्य गर्न जनस्तरबाट विद्रोह आवश्यक छ भन्ने कुरा महसुस भएको बुझिन्छ । त्यहीबेला भारत पश्चिम बंगालमा पनि सशस्त्र विद्रोह नक्सलबाडी आन्दोलन चलिरहेकोले त्यसको प्रभाव पनि उनमा परेको हुनुपर्छ । यो परिदृश्यले रत्नकुमारलाई भियतनाममा हो चि मिन्हले सुरुङ युद्धको माध्यमबाट अमेरिकी सेनालाई परास्त गरेको कुरा कम्युनिष्ट स्कुलिङबाट थाहा पाएर रत्नकुमारले अन्तिम लडाइँको तयारी भन्दै सुरुङ खन्न थालेका थिए ।

उनको घरभित्रबाट खनिएको सुरुङभित्र १० जनासम्म बसेर बैठक गर्ने हल छ । त्यहाँ बत्ती (टुकी) राख्ने ठाउँ पनि बनाइएको छ र त्यो सुरुङलाई उनको घरमुनिको बारीको कान्लामा निकालिएको छ । अर्काे एउटा सुरुङ चाहिँ घर परतिरको खोल्सामा निकाल्ने र दुश्मन आए त्यतैबाट निस्किएर जंगलैजंगल भाग्ने योजनासाथ सुरुङ बनाइएको थियो । तर, त्यो पूरा नहुँदै रत्नको हत्या भयो र सुरुङ युद्धसम्मको अवस्थामा पुग्नै सकेनन् । उनले यो मात्र होइन, प्रत्येक गाउँमा किताब, दस्तावेज र हतियार लुकाउन र सुरक्षित लुक्न सुरुङ खन्ने योजनासमेत बनाएका थिए ।

– रत्नकुमार बान्तवाका पिता बेलायती गाेर्खा सैनिकका कोर्टगार्ड हवल्दार थिए । अवकास भएपछि राणा सरकारले बनाएको कांग्रेसको मुक्ति सेनासँग प्रतिकार गर्ने दस्तामा पनि उनी आबद्ध थिए । यस्तो पारिवारिक विगतबाट आएका रत्नकुमार कसरी कम्युनिष्ट बन्न पुगे ?

रत्नकुमार सानैदेखि आममानिसभन्दा फरक स्वभावका थिए । उनी कहिल्यै खाली हात नबस्ने, केही न केही काम गरिरहने, समाजमा कसैको दमन, अत्याचार र अन्याय सहन नसक्ने स्वभावका थिए । उनमा विद्रोह चेत आउनुको पछाडिको मुख्य कारण इलाममा क्याम्पस पढ्न आउँदादेखि नै कम्युनिष्ट पार्टीको सम्पर्कमा पुग्नु, तत्कालीन विश्व कम्युनिष्ट आन्दोलनका पुस्तकहरुको अध्ययन र धरानमा बीए पढ्न आउँदा बम देवानसँगको संगत नै हुन् । जसले उनमा विद्रोह चेतको बिजारोपण ग¥यो ।

– रत्नकुमार बान्तवाका सानिमाका छोरा एवं दाजु बम देवानले रत्नकुमारलाई झापा काण्डको जस्तो काममा रुचि नभएको किताबमा भनेका छन् । फेरि पनि उनले किन सुरुङ युद्ध घोषणा गरे, त्यो पनि केन्द्रीय सदस्य भएको उनको दल तत्कालीन कोकेलाई जानकारी नदिएर ? किन यस्तो अलग युद्ध तयारी गरे बान्तवाले ?

रत्नकुमारले पहिलो कुरो त आफ्नो लागि संघर्ष गरेकै थिएनन् । सिङ्गो नेपाली समाजको रुपान्तरण र वर्गीय मुक्तिको आन्दोलन हो भनेर नै विद्रोहको बिगुल फुकेका थिए । झापामा २०२८ सालको जस्तो विद्रोहमा आफ्नो रुचि थिएन भन्नुको पछाडि नेताहरुका बीचको मनमुटाव पनि हुनसक्छ । तर, रत्नले आफ्नै गाउँबाट, आफ्नै ठाउँबाट र आफ्नै समुदायबाट विद्रोह, परिवर्तन र संघर्षको सुरुवात गर्छु भन्ने प्रणका साथ काम गरेका थिए । त्यसैले स्थानीय पार्टी पंक्ति र कमिटीलाई जानकारी दिएर, उनीहरुलाई संलग्न गराएर सुरुङ खनेका थिए । त्यसमा उनका भाइ मोहन, महेश र गाउँका डिल्लीराम, देउमाया जस्ता कार्यकर्ताहरु समेतलाई संलग्न गराएका छन् ।

– रत्नकुमार बान्तवाको युद्ध व्यवस्थासँग थियो । तर, उनले स्थानीय चमौताका पञ्च नेता पहलमान राईको हत्या गर्न खोजे । तर, उनलाई गोली लागेन । उनीकी श्रीमतीलाई लाग्यो । तत्कालीन पञ्चायती प्रहरीले बान्तवाको हत्या गर्दा उनीसँगै रहेकी नेतृ सुशीला भाग्न सफल भइन् । उनी लुकेको भनेर जंगलमै आगो लगाइयो । विद्रोही रत्नकुमार र सत्ता दुवैका काम कत्तिका जायज लाग्छ तपाईंलाई अहिले सम्झिँदा ?

विद्रोह, युद्ध भनेकै तत्कालीन सत्ताका नजरमा नाजायज नै हुन् र देखिन्छन् । जहिले पनि राज्यसत्ता सञ्चालकहरुले कुनै पनि प्रकारको सत्ताको विरुद्धको आलोचनालाई पचाउन सक्दैनन् र दबाउने प्रयास गर्छन् । यो सामान्य राज्यसत्ताको नियम नै हो । राज्यसत्ताले आफ्ना कमी-कमजोरीहरुविरुद्ध आमनागरिकका कुरा सुन्ने र त्यसलाई सम्बोधन गर्ने हो भने संसारमा कहीँ पनि विद्रोह नै हुँदैन । गरिब, जनतामाथि अन्याय अत्याचारका विरुद्ध उनको युद्ध एउटा वर्ग संघर्षको अभ्यास थियो । उनले भियतनाममा जसरी हो चि मिन्हले बाल रेडगार्ड भनेर दस्ता बनाएका थिए । त्यसैगरी आफ्नो सुरुङ युद्धमा पनि बालबालिकालाई कसैले वास्ता नगर्ने, सूचना प्रवाहमा सजिलो हुने भएकाले बालबालिकालाई प्रयोग गरेका थिए । बाल अधिकारको आँखाबाट हेर्दा यो गलत हो ।

तर, उनले त्यसलाई जनताको पक्षमा प्रयोग भएको भनेर उल्लेख गरे । जहाँसम्म पहलमान राईको हत्या प्रयास गरे र उनकी श्रीमतीलाई गोली लाग्यो भन्ने सन्दर्भमा पहलमान राई तत्कालीन राज्यसत्ताको निकटका मानिस थिए, उनले रत्नकुमारहरुका सबै सूचना प्रहरीकहाँ पु¥याउने, सुराकी गर्ने र आन्दोलन दबाउन सघाएको आरोपमा उनीमाथि गोली चलाइएको थियो । जुन आममानिसको, राज्यसत्ताको आँखाबाट हेर्दा गलत हो, विद्रोहीको आँखाबाट हेर्दा सही ।

– २०७२ फागुन २२ मा ओली सरकारले रत्नकुमार बान्तवालाई शहीद घोषणा गर्‍यो । उनका सालिक बने । उनको नाममा चलचित्र, कविता, गीत, उपन्यास बने । तर, रत्नकुमार बान्तवाको परिवारलाई घरपकड गरेको कारण विस्थापित उनका भाइ मोहन बान्तवा धनकुटा आएर नक्कली बाबु र नाममा नागरिकता लिन बाध्य भए । उनले सुवास नेम्बाङ कानूनमन्त्री हुँदा आफ्ना कानूनी झमेला मिलाइदिन भन्दा नभएको गुनासो गरेका छन् । बम देवानले पनि भनेका छन्, ‘सानै उमेरमा उसले जे गरे देश र जनताको लागि राम्रै गरे । तर, उनी मूर्ति भए । मूर्ति बन्नु वर्षमा एक पटक खादा ओढ्यो बस् । उनी बाँचेका भए देशलाई राम्रै फाइदा पुग्ने थियो ।’ यी दृश्य र अभिव्यक्तिमा तपाईंको निजी टिप्पणी के छ ?

रत्नकुमार संलग्न भएकै पार्टीले कैयौं पटक राज्यसत्ताको नेतृत्व गर्दा उनले देखेको सपना साकार पार्ने र आमजनताको मुक्तिका लागि काम गर्ने बाटो भुलेकै हो । हामीले डकुमेन्ट्रीको सुटिङ गरिसकेपछि त्यसले पनि एउटा दबाबको काम गर्‍यो र रत्नकुमारलाई केपी ओली प्रधानमन्त्री भएको बेला २०७२ मा शहीद घोषणा गरियो । यसलाई हेर्दा उनको पार्टीले रत्नलाई बेवास्ता गरेको देखिन्छ । परिवर्तनको खातिर जीवन आहुति गर्नेहरुको सालिक बनाएर ठड्याएपछि आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने कम्युनिष्ट नेतृत्वको स्वभाव नै देखिन्छ । रत्नका भाइ विस्थापित भएर आफ्नो थातथलो छोडेको कुरा बारम्बार राख्दा पनि सुवास नेम्वाङले समेत त्यसलाई बेवास्ता गरेकै थिए ।

अहिले पनि मोहन वान्तवाको देशद्रोहको मुद्दा खारेज भएको छैन, जहाँ उनी संलग्न भएको पार्टीको कमजोरी नै हो । त्यसमा अझ गजबको कुरा त रत्नकुमार वान्तवाको हत्या गर्दा सँगै रहेकी देउकला राईले के भन्नुभएको छ भने, ‘रत्नको बिहे भएको थिएन, उनको परिवार (श्रीमती र छोराछोरी पनि थिएनन्) उनका लागि उनी मरिसकेपछि बोलिदिने कोही भएन, भाइहरु विस्थापित भए, भूमिगत भए, कमजोर भए, उनीहरुको पनि आफ्नै परिवारको दायित्वले थिच्यो, रत्नको आफ्नो परिवार भएको भए उनीहरुले आवाज उठाउँथे, माग राख्थे, नेतालाई घचघच्याउँथे र पो उनी २०४६ को परिवर्तनलगत्तै शहीद हुन्थे त ! कसैमाथि न्याय स्थापित गर्न त लडिदिन उसको आफ्नै परिवार चाहिने रहेछ ।’

हामीले पुस्तक लेख्न घटनास्थल र उनको गाउँ तथा सेल्टरहरु घुम्दा आममानिसबाट पाएको सूचना के हो भने रत्नकुमार बहु प्रतिभाशाली थिए । उनी एकै पटकमा पढ्ने, लेख्ने र समाचार सुन्ने तीन वटा काम गर्न सक्थे । जहाँ संगठन गर्दै पुग्यो, त्यही समाजमा घुलमिल हुने, घरायसी सामान बनाउने सीप सिकाउने र जनताको खेतबारीको काममा सघाउने गर्थे भन्ने छ । यसबाट पनि उनी बाँचेको भए अहिलेका नेता जस्तो निजी स्वार्थमा भन्दा सामूहिक हितमा काम गर्थे होला भन्ने लाग्छ ।

– रत्नकुमार बान्तवा सिर्जनशील थिए, कविता लेख्थे, पुस्तक पढ्थे । उनको अध्ययन बलियो देखिन्छ । अहिलेका नेपाली नेताहरुले अध्ययन गर्न छोडे भनेर स्वयं कमरेडहरुको गुनासो हुन्छ । यस्तो किन भइरहेको छ ?

कम्युनिष्ट भनेको विचार हो, दर्शन हो । त्यो विचार दर्शनबाट निर्देशित व्यवहार पनि हो । यो कुरा रत्नकुमारले राम्ररी बुझेको देखिन्छ । तर, अहिलेका कम्युनिष्ट भनेको चाहिँ नाममात्रै कम्युनिष्ट हो, त्यो व्यवहार र विचारमा कहीँ पनि देखिँदैन । कम्युनिजममा विश्वास गर्नेहरु सामूहिकतामा विश्वास गर्छन्, जहाँ निजी सम्पत्तिको कुरै हुँदैन । कम्युनिष्टहरुमा अनुशासन हुन्छ र कमरेडी (सहयोद्धा) को भावना हुन्छ । तर, यहाँ त सबै कम्युनिष्ट नेताको निजी सम्पत्ति जोड्ने होड चलेको देखिन्छ । विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर सुरा सुन्दरी र मदिरामा लठ्ठिएको भेटिन्छ ।

यो भनेको विचार स्खलित भई शून्यको अवस्थामा पुगेको भन्ने बुझ्नुपर्छ । यस्ता स्खलित भएकाहरुले अध्ययन गर्ने, सर्वहारा वर्गको हितमा काम गर्ने, सामूहिकतामा विश्वास गर्ने भन्ने कुरै हुँदैन, अहिले भएको त्यही हो ।

– भियतनामको सुरुङ युद्धबाट प्रभावित भएर रत्नकुमार बान्तवाले सुरुङ युद्ध तयारी गरेको कुरा आएको छ । दुई सुरुङ भएको पाइसकिएको छ । भियतनाममा हो चि मिन्हको प्रेरणाले बनाइएका सुरुङलाई व्यापक पर्यटन क्षेत्रमा जोडिएको छ । स्थानीय, प्रदेश तथा संघ सरकारले रत्नकुमार बान्तवाका सुरुङलाई पर्यटनसँग जोडेर बेच्न तथा ब्रान्डिङ गर्न किन सकिरहेको छैन ?

अहिले पनि नेपालमा सत्ता सञ्चालकहरु २०२० सालभन्दा अगाडिकै बुढा, पुराना, थोत्रा जो हिजोको विरासतलाई भजाएर आफ्नो निजी स्वार्थ पूर्तिका लागि राजनीतिको नाममा सत्ताको दोहन र शक्तिको दुरुपयोग गरिरहेका छन्, तिनीहरु नै सत्ताका सञ्चालक छन् । यिनीहरुसँग न इच्छाशक्ति छ, न दूरदृष्टि छ न त काम गर्ने कुनै तौरतरिका र ढंग छ, अनि कसरी रत्नकुमारको सुरुङ र युद्धको डोबहरुमा पर्यटनको सम्भावना देख्छन् ? अहिलेका पढेलेखेका, विश्व चिनेका, समाज रुपान्तरण र पर्यटनको सम्भावना देख्न सक्ने युवा पुस्तालाई ती बुढा पुरानाहरुले कुनै पनि पार्टीमा ढिम्किनै दिँदैनन् न युवाहरुले ती समयले छोडिसकेका नेताहरुका विरुद्ध विद्रोह नै गर्न सक्छन् ? जसले गर्दा सुरुङ युद्ध ब्रान्डिङ हुनै सकेन र सक्दैन पनि ।

– मैले सोधेका प्रश्नमा नअटाएका तर तपाईंलाई भन्न मन लागेका केही महत्वपूर्ण केही छन् कि ?

कुरा त धेरै छन् । सबै कुरा यही अन्तर्वार्तामा अटाउन पनि सकिँदैन । तर, रत्नकुमार बान्तवा नेपाली राजनीतिमा एउटा वास्तविक र विम्ब पात्र दुबै हुन् । रत्नकुमारले त्यहीबेला राई भाषामा विद्रोहका गीत लेखेर, गाएर सांस्कृतिक पहिचानको कुरा उठाएका थिए । मार्क्सवादी सौन्दर्यशास्त्रको राम्रो अध्ययन गरेका र गहिरो ज्ञान भएका जुझारु कम्युनिष्ट नेता थिए रत्नकुमार भन्ने उनको भूगोल सुँघेर फर्किएपछि मैले थाहा पाएको हुँ । अहिले पनि रत्नबम प्रतिष्ठानका नाममा उनीमाथि न्याय गर्दैछौं भन्नेहरुले वास्तवमा रत्नलाई चिन्न नसकेको र उनीमाथि अपमान भएको जस्तो लाग्छ मलाई चाहिँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *