पर्यटन मन्त्रालयबाट सुदन किराँतीको बहिर्गमन: के भन्छन् पर्यटन क्षेत्रका जानकार ? – Nepal Press

पर्यटन मन्त्रालयबाट सुदन किराँतीको बहिर्गमन: के भन्छन् पर्यटन क्षेत्रका जानकार ?

काठमाडौं । सत्ताको पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेर सोमबार नयाँ मन्त्रीहरु चयन भएसँगै पुराना मन्त्रीहरु बाहिरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती पनि बहिर्गमनमा परे ।

मन्त्री चयन हुँदाका भावुक सामाजिक सञ्जालका पोस्ट हुन् वा खादाको सट्टा चन्दा देउ भनेर दान पेटिका राखेर होस्, सुदन किराँती हेडलाइन बनिरहे । उनले ईसाई धर्मको सभामा गएर दिएको अभिव्यक्ति होस् वा हर्क सम्पाङसँगको सवालजवाफ होस्, किराँतीले मिडिया र सोसल मिडियामा नाम कमाए । बद्नामी कमाए । तर, उनी गुमनाम भने भएनन् ।

कार्यकाल सुरु गर्दा सेतो सर्ट लाएर आएको कालो नपोत्नु भनेर भन्ने उनले लेखेका स्पष्टीकरण र त्यसपछिका गुमनामले उनी चर्चामै आए । नियुक्तिका मुद्दामा उनको आलोचना भइ नै रह्यो । यी भए मिडिया र सोसल मिडियामा मुखर भएर आएका सवाल ।
पर्यटन क्षेत्रका भित्रियाहरु चैँ के भन्छन् त मन्त्री किराँतीबारेमा ? नेपाल प्रेसले केही पर्यटन हस्तीसँग कुराकानी गरेको छ ।

केही गरौं भने हुटहुटी थियो तर, कार्यकाल सफल मान्दिनँ : पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण साह

नेपाल पर्यटन बोर्डको सदस्यबाट केही अगाडिमात्रै कार्यकाल सकिएर बाहिरिएका कृष्ण साह किराँतीमा केही गरौं भन्ने सोचाइ भएको तर, प्राविधिक तथा कानूनी कुरामा कमजोर भएको मान्छन् ।

विमानस्थल सुधार, पर्यटन ऐनको मस्यौदा र विमान खरिदका कुरा एक तहमा पुर्‍याउनु केही राम्रा काम भएको भन्दै साहले ईयूको कालोसूचीबाट नेपाली विमान हटाउन नसक्नु, पोखरा र भैरहवा विमानस्थललाई सफल सञ्चालन गर्न नसक्नु किराँतीको कमजोरी भएको बताए ।

‘मैले समिटर्स समिट गरौं भनेर प्रस्ताव गरेको थिएँ’, साहले भने, ‘उहाँले मान्नु भएन । कञ्चनजंघाको मात्रै गरौं भन्दा पनि सुनुवाइ भएन ।’

पर्यटनमन्त्रीले विदेशसँग राम्रो बजार र ब्राण्ड बनाएर नेपाली पर्यटनलाई राम्रो बनाउनु पर्नेमा किराँतीको कुनै राम्रो वैदेशिक कदम नभएको साहले बताए ।

चीनसँगका भने केही राम्रा काम गर्न खोजेको उनले बताए । पोखरामा भएको ड्रागन बोट फेस्टिबल एक भएको उनको भनाइ छ ।

कुरा चैँ ठूला गर्नुभयो, कामको ढङ्ग देखिएनः आरोही तथा उद्यमी छिरिङ जाङ्बु शेर्पा

नेपालको प्रथम सगरमाथा मापनका शेर्पा गाइड तथा नेपालका चिनिएका पर्यटन पेशाकर्मी तथा लेखक छिरिङ जाङ्बु शेर्पाले पर्यटनमन्त्री किराँती कुरा ठूलो गर्ने तर कामको ढंग नभएको मन्त्री भएको बताए ।

हिमाल, साहसिक पर्यटन, पर्वतारोहण र त्यसको प्राज्ञिक पक्षमा उनको जानकारी नभएको शेर्पाले बताए ।

‘नेपाल माउन्टेन एकेडेमीलाई नाथममा गाभ्नुले उहाँलाई हिमाली पर्यटन र त्यसको प्राज्ञिक अध्ययनबारेमा जानकारी नभएको देखिन्छ’, शेर्पा भन्छन्, ‘पर्यटन क्षेत्रमा केही जानकारी भएर आउनुभएको भए यस्तो गर्नु हुन्थेन ।’

मन्त्री हुँदा पनि साधारण शैली थियो, कार्यकाल पूरा हुन पाएनः पर्यटन उद्यमी एलिना मगर

धरानबाट हाल काठमाडौंमा मुकाम बनाएर पर्यटन कर्ममा सक्रिय एलिना मगरले किराँतीमा मन्त्री भएर पनि मन्त्रीहरुको जस्तो दम्भ चैँ नभएको पाएको बताइन् ।

एक वर्ष अगाडि पत्रकारिता पुरस्कारको लागि धरानमा अतिथि बोलाएपछि आफूले नजिकबाट चिन्दा त्यस्तो महसुस भएको उनले बताइन् ।

‘उहाँमा केही गरौं भन्ने थियो’, मगर भन्छिन्, ‘तर, पूरा कार्यकाल हुन पाएनन् । त्यस्तो धेरै काम हुन पाएन ।’


प्रतिक्रिया

2 thoughts on “पर्यटन मन्त्रालयबाट सुदन किराँतीको बहिर्गमन: के भन्छन् पर्यटन क्षेत्रका जानकार ?

  1. पोखरा र भैरवा बिमान स्थलअन्तराष्ट्रीय बनाउन कूनै इन्द्रेको बाऊ चन्द्रे आए पनि सक्दैन।कुन सरकारले कमिसनको लोभमा बिमान स्थल बनाको हो । हाम्रो देशको जनता जहाज कति नै छन र सुधार गर्नु आबश्यक छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर