अमेरिकाबाट भोजराजको सहयोगमा पटाैनाको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका १ पटौनामा अवस्थित श्री आधारभूत विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ ।
स्व. गंगाप्रसाद पौडेलको ४१ औं स्मृति दिवसका अवसरमा नाति भोजराज घिमिरेको आर्थिक सहयोगमा कक्षा १ देखि ७ सम्म अध्ययनरत १२० जना छात्राछात्रालाई थ्रि पिस ट्र्याक सुट वितरण गरिएको हो ।
कक्षा एक देखि ८ सम्मका एक छात्रा र एक छात्रलाई पुरस्कृत गर्दै शैक्षिक सामग्री वितरण गरियो भने शिक्षक-शिक्षिकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरियो । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्य र उपप्रमुख हरिमाया घलालको विशेष आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।
वडा नम्बर १ र ४ का वडाध्यक्ष तथा वडा नम्बर १ का सदस्यहरु अतिथिका रुपमा आमन्त्रित थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाहरी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो अध्यक्ष केदारनाथ पौडेलको पनि उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै मेयर बुढाथोकीले विद्यालयको पक्की भवन र कम्पाउण्ड वाल निर्माणमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । विद्यालयको स्तरोन्नतिमा पनि आवश्यक पहल गर्ने उनले आश्वासन दिएका छन् । नगर उपप्रमुख घलालले पनि विद्यालयको उत्थानका लागि सक्दो सहयोग गर्ने बताइन् ।
यो विद्यालय स्वर्गीय गंगाप्रसाद पौडेलको स्मृतिमा उनका छोराहरु केदारनाथ पौडेल र दुर्गाहरी पौडेलले २०४१ सालमा स्थापना गरेका थिए । पौडेल परिवारले दान गरेको जग्गामा विद्यालय बनेको हो । अहिले विद्यालयमा ८ कक्षासम्म अध्यापन हुन्छ र १० शिक्षक शिक्षिका कार्यरत छन् ।
शिक्षक दिपेन्द्र तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरबहादुर लामाले स्वागत मन्तव्य राखेका थिए । व्यवस्थापन समितिका सदस्य सुरेश महतले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पारे । पानसमा वत्ति बालेर स्वर्गीय पौडेलको तस्विरमा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको थियो ।