जनकपुरकी आरती साह मृत्यु प्रकरण : देवर रवि पनि पक्राउ
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोककी आरती साहको मृत्यु प्रकरणमा उनका देवर रवि साहलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले घरबाटै रबिलाई पक्राउ गरेको बताए । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएकाले रबिलाई पक्राउ गरेको उनको भनाई छ ।
उनका अनुसार आरतीकी सासु रेणु देवीलाई पनि पक्राउ गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ । तर सासु रेणु भने पक्राउ पर्न सकेकी छैन ।
गत जेठ ७ मा आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको कारण श्रीमान, सासु, ससुरा, देबर लगायतले आरतीको हत्या गरेको माइती पक्षको आरोप छ ।
आरतीको हत्या आरोपमा उनका श्रीमान मोतीबाबु साह पूर्वपक्षका लागि अहिले कारागारमा छन् । सर्वोच्च अदालतको आदेशमा उनलाई धनुषा प्रहरीले गत पुस ९ मा पक्राउ गरेको थियो ।
आरतीको मृत्यू प्रकरणमा माइती पक्षले आन्दोलन गर्दा तत्कालै पक्राउ परेका उनका श्रीमान मोतीबाबु अदालतबाट साधारण तारेखमा छुटेका थिए । त्यसपछि मुद्दालाई कमजोर बनाएको भन्दै आरतीको आमा, बुवा, दाई र बहिनी आन्दोलन गर्दै आएकी छन् ।
२६५ दिनदेखि उनीहरु काठमाडौंमा धर्नालाई निरन्तरता दिएका छन् । धर्नासँगै सर्वोच्च अदालतमा रिट हालेपछि आरतीको श्रीमानलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।