टी-२० विश्वकप तयारीका लागि सरकारले दिएको ५ करोड के-केमा हुँदैछ खर्च ? – Nepal Press

टी-२० विश्वकप तयारीका लागि सरकारले दिएको ५ करोड के-केमा हुँदैछ खर्च ?

काठमाडौं। आईसीसी टी-२० विश्वकपको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई उपलब्ध गराएको छ।

विश्वकपमा नेपाल छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब कसरी सहयोग गर्न सक्छ भनेर क्यान पदाधिकारीसँग चासो राखेका थिए।

नेपालमा आयोजित टी-२० विश्वकपको एसियाली छनोटको फाइनल हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका बेला प्रधानमन्त्री प्रचण्ड,क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्काबीच त्यस विषयमा छलफल भएको थियो।

अमेरिकामा प्रतियोगिता सुरु हुनुभन्दा एक महिना पहिल्यै पुगेर तयारी गर्न पाए राम्रो हुने भन्दै त्यसका लागि आर्थिक सहयोग आवश्यक पर्ने क्यान पदाधिकारीले प्रचण्डलाई बताएका थिए।

क्यान सचिव खड्काले प्रस्ताव गरिए बमोजिम नै सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराएको बताए। ‘ हामीले जति रकम मागेका थियौँ, सरकारले त्यति नै दिएको छ’, पारसले भने। उनका अनुसार प्राप्त रकम अमेरिकामा एक महिना पहिल्यै पुगेर तयारी गर्न प्रयोग हुने छ।

‘त्यसबाहेक क्यानडासँगको शृङ्खला आयोजनामा पनि पैसा खर्च भएको छ। अब हङकङ पनि जाँदै छौँ। आयरल्यान्डको ए टिम पनि आउँदै छ। टिमलाई आवश्यक पर्ने कन्सल्ट्यान्टमा पनि खर्च हुने छ’, खड्काले भने। नेपालले इतिहासमा दोस्रो पटक टी-२० विश्वकप खेल्दै छ। नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो।

आगामी टी-२० विश्वकप जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदै छ। विश्वकप तयारीका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसीसीले पनि नेपाललाई तयारी बजेट उपलब्ध गराउने छ। त्यो रकम आई नसकेको र कति आउँछ भनेर पनि तय नभएको क्यानले जनाएको छ।

नेपालले आगामी विश्वकपको पहिलो चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्ड्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। नेपाली टोलीले हालै मात्र नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो। अब हङकङमा पनि त्रिकोणात्मक टी-२० शृङ्खला खेल्दै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर