सातौँ चरणको चेम्बर एक्स्पो शुरु : भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तानका व्यापारी सहभागी – Nepal Press

सातौँ चरणको चेम्बर एक्स्पो शुरु : भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तानका व्यापारी सहभागी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने एक्स्पोको नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको समेत उनले बताए ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरू प्रदर्शनीमा राखिएको छ । घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू समेत प्रदर्शनीमा रहेका छन् ।

एक्स्पोलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितिकाबीच अर्थतत्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए ।

उनले भने, ‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडी बढिरहेको छ, लगानीको वातावरण सिर्जना हुन सकेको छैन । एक्सोबाट आर्थिक गतिविधि केही बढ्ने अपेक्षा गरेका छौँ, ।’

कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन एवं साना व्यवसायीहरूको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।

चेम्बर अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय बस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा समेत जोड दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र संगको सहकार्यमा चेम्बर एक्स्पो शुरु भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन् ।

आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर