‘ओली कम्पनी’ सँगको विद्रोह बिर्सेका छैनौं, प्रचण्डको टाङमुनि छिरेका होइनौं – Nepal Press

‘ओली कम्पनी’ सँगको विद्रोह बिर्सेका छैनौं, प्रचण्डको टाङमुनि छिरेका होइनौं

नेपालको राजनीतिक क्षितिजमा मडारिएको नयाँ बादल चुनौतीको चाङसहित खडा भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हठात् नेपाली कांग्रेससँगको सत्ता सहयात्रा तोड्नु र नेकपा एमालेसँग हात लम्काउनुसँग कुन राजनीतिक स्वार्थको साइनो छ भन्ने कुरा अबका दिनपछि देखिँदै जाने कुरा हो । ख्याल गर्नुपर्ने एउटै कुरा हो कि, वामपन्थी एकता, सहकार्य वा गठबन्धनको नियतका साथ यो काम भइरहेको छ कि छैन ? यदि छैन, नयाँ जामा मात्रै फेरिएको हो भने यो गठबन्धन दीर्घकालीन र फलदायी हुनेवाला छैन ।

नेकपा (एकीकृत समाजवादी) पनि यो सत्तायात्राको साझेदार बनेको छ । तर, जनमोर्चा, जसपाजस्ता समाजवादी मोर्चाका सहयात्री यसमा छैनन् । संसदभित्र जनमोर्चासँग संख्यात्मक उपस्थिति एकमात्र छ, जसपासँग राम्रो संख्या छ । तर, ‘जोगी देखेर भैँसी डराउने, भैँसी देखेर जोगी डराउने’ भनेजस्तो यो गठबन्धनले जसपालाई र जसपाले यो गठबन्धनलाई पत्याउने आधारहरू बनेनन् । त्यसैले वामपन्थी सहकार्यको नियतबाट प्रेरित भएर यस्तोखाले गठबन्धन बन्यो भन्ने कुरा पत्याइहाल्ने बेला भएको छैन । यदि हुँदो हो त, समाजवादी मोर्चा वा वामपन्थी दलहरूका बीच पहिल्यै कुनै न कुनै प्रकारको सहमति, सल्लाह हुनुपर्थ्यो । त्यस्तो केही भएन । जसपाको भर पर्ने स्थिति नभएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि सम्मानित नेता झलनाथ खनालसँग हारगुहार गर्दै बहुमतको संख्यात्मक सुनिश्चितता खोजियो ।

हिजो केपी ओली एण्ड कम्पनीसँग गरिएको विद्रोहका विषयहरू बिर्सिएर एकीकृत समाजवादी यो सरकारमा सामेल भएको होइन । माधव नेपालको नाम लिँदा पनि ‘मुख कुल्ला गर्छु’ भन्ने मान्छे ‘लौ न आइदिनुपर्‍यो, मिलेर जानुपर्छ’ भन्दै घरघर धाउने भएपछि माधव नेपालसँग उनीजस्तै हठी र दम्भी हुने सुविधा थिएन ।

यो सरकारमा नेकपा (एकीकृत समाजवादी) को सहभागिता मूलतः दुई अर्थमा भएको हो । पहिलो हो, यदि वामपन्थी ध्रुव्रीकरणको गुञ्जायस छ भने त्यसका निम्ति बाधक बन्नुहुँदैन । बरु, अग्रसरता नै लिनुपर्छ । दोस्रो हो, ‘पर्ख र हेर’ का नाममा एउटा चलायमान राजनीतिक शक्ति किंकर्तव्यविमूढ भइरहन सक्दैन ।

कुनै न कुनै भूमिका वा पक्षधरता लिनुपर्छ भन्ने मान्यताका साथ पार्टीले नयाँ गठबन्धनलाई साथ दिएको छ । उक्त पार्टीको सहभागिताको अर्थ ऊ प्रचण्ड वा ओलीको टाङमुनि छिरेको हैन, यदि त्यस्तो व्यवहार भएछ भने त्यहीँभित्र फेरि पनि अर्को विद्रोहको राँको बाल्नसक्छ । अर्थात्, गठबन्धनका प्रमुख सर्जकहरूको व्यवहारका आधारमा एकीकृत समाजवादीले सरकारको सहभागिताको विषयमा फेरि पनि समीक्षा गरेर अर्को बाटो लिने मार्गप्रशस्त गरेको छ ।

प्रश्न नैतिकताको

नेकपा (एकीकृत समाजवादी) को स्थापना किन भयो र आज कहाँ छ भन्ने विषयलाई प्रश्न बनाउने हो भने त्यसको जवाफमा आउने कुरा हो कि, ‘सही ठाउँमा छैन ।’ तर, ठाउँ सही नहुँदा नहुँदै ऊ नैतिक बन्धनमा घेरियो । वामपन्थी एकताको मक्सद बोकेर नयाँ गठबन्धन गरिएको भनिँदा त्यसबाट म अलग हुन्छु भन्ने ठाउँ उक्त पार्टीसँग थिएन । अलग हुन्छु भन्नु वामपन्थी नैतिकताका दृष्टिले गलत पनि हुन्थ्यो ।

त्यसैले हिजो केपी ओली एण्ड कम्पनीसँग गरिएको विद्रोहका विषयहरू बिर्सिएर एकीकृत समाजवादी यो सरकारमा सामेल भएको होइन । माधव नेपालको नाम लिँदा पनि ‘मुख कुल्ला गर्छु’ भन्ने मान्छे ‘लौ न आइदिनुपर्‍यो, मिलेर जानुपर्छ’ भन्दै घरघर धाउने भएपछि माधव नेपालसँग उनीजस्तै हठी र दम्भी हुने सुविधा थिएन । उनको स्वाभाव त्यस्तो होइन पनि । हिजो नमिलेका कुराहरू, नभएका कुराहरू वा जे–जे गलत थिए, त्यसलाई सच्याउने कुरा आउँछ भने किन त्यो सम्भावनाको ढोकालाई बन्द राख्ने ? यही प्रश्नको उत्तर हो, अहिले एकीकृत समाजवादी यो सरकारमा सहभागी हुनु ।

यदि प्रश्न नैतिकताकै हो भने त्यस्तो प्रश्नले सबैभन्दा बढी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई घोच्नुपर्ने हो । उनी सत्तारुढ हुनका निम्ति एकपटक हैन, दुई-दुई पटक ओलीसँग हात लम्काउन पुगेका व्यक्ति हुन् । २०७७ पुस ५ को संसद विघटनपछि दुई धारमा ध्रुवीकृत तत्कालीन नेकपाको एउटा ध्रुव हो, प्रचण्ड-माधव पक्ष ।

यो गठबन्धनलाई पत्याउने आधारहरू बनेनन् । त्यसैले वामपन्थी सहकार्यको नियतबाट प्रेरित भएर यस्तोखाले गठबन्धन बन्यो भन्ने कुरा पत्याइहाल्ने बेला भएको छैन । यदि हुँदो हो त, समाजवादी मोर्चा वा वामपन्थी दलहरूका बीच पहिल्यै कुनै न कुनै प्रकारको सहमति, सल्लाह हुनुपर्थ्यो । त्यस्तो केही भएन ।

अदालतले नेकपाको खारेजी र पुरानै नामका दलहरू कायम हुने गरी आदेश गरेपछि दलका नाम फरक हुँदा पनि विषयको उठान, विश्लेषण र भूमिकामा नेकपाको प्रचण्ड-माधव पक्ष एक ठाउँमै रह्यो ।

प्रचण्डहरू त छिटपुटमात्रै अलग थिए, तर माधव वा एमालेहरू झण्डै आधा-आधाका दरले यताउता भएका थिए । प्रचण्डहरूको माओवादी केन्द्र फुट्नुपरेन, केही व्यक्तिले छाडेबाहेक । तर, माधव नेपालहरूसँग त आफैँले रचेको इतिहाससँग विद्रोह गर्दै नयाँ घर बनाउनुपर्ने बाध्यता थियो । त्यो काम उनले ०७७ माघ-फागुनतिरै गरेको भए उनीसँग नेकपाकालीन एमालेको संख्यात्मक उपस्थिति अहिलेको भन्दा निकै बलियो हुनेवाला थियो ।

उनले ०७८ भदौसम्म पर्खिए, सकेसम्म फुट्नु नपरोस् भन्नका निम्ति । तर, जुट्ने आधारहरू भेटिएनन् । माधवको तर्फबाट ‘जुटाउनुपर्छ’ भन्नेहरू आ-आफ्नै हिसाब किताब गर्दै आफू-आफू एमालेतिर मिल्न पुगे, माधवलाई धोका दिए । त्यसबीचमा नेकपा (एकीकृत समाजवादी) को स्थापना भयो । त्यो पार्टी स्थापना हुने तहसम्म, अर्थात् एमाले फुट्नुपर्ने स्थिति निर्माणसँग प्रचण्डको कुनै न कुनै साइनो छ । एमाले ओलीको व्यक्तिवादी अहंकारले कम्युनिष्ट आन्दोलन विसर्जित हुने ठाउँमा पुगेपछि नै विभाजित भएको हो ।

एमालेको इतिहास, आदर्श र कम्युनिष्ट आन्दोलनका कार्यभारलाई पुनगर्ठित गर्ने पात्र माधव नेपालहरू नै हुन् । यद्यपि, प्रकारान्तरका घटनाले भन्दैछ, एमाले फुटाएर कहिले ओलीसँग, कहिले माधवसँग । अर्थात्, स्वाद फेर्दै प्रचण्डबाट आफ्नो ‘राजनीतिक चलाउने’ काम भइरहेको छ । नभए, यसपटक पनि गत वर्ष झैं ओलीसँग मिल्नुपरेपछि माधवको कुनै वास्ता भएन । सोध्ने त टाढाको कुरा, खोज्नेसम्म काम भएन । यसचोटि संख्याले साह्रै आपत पार्‍यो, त्यसैले हारगुहार गर्नुपर्‍यो । धन्न, नैतिकता, इमान र राजनीतिक संस्कार थियो र माधवले वाम सहकार्यको मूल्यमा साथ दिए । माधव पनि ओलीजस्ता दम्भी नेता परेका भए अहिले प्रचण्ड ‘घर न घाटको’ हुने अवस्था थियो ।

कि, प्रचण्डले भन्नुपर्छ, ०७७ पुस ५ पछि विकसित विद्रोहको पृष्ठभूमि र श्रृंखलाबाट ओली अझै सच्चिएका छैनन् । उनलाई सच्याएर ‘ठाउँमा’ ल्याउन बाँकी छ । हैन भने, आफ्नो राजनीतिमात्रै चलाउने नाममा बेतर्क वा बेतुकका साथ यस्तो पिपलपाते काम गर्नु हुँदैन थियो । आशा गरौं, प्रचण्ड वृहत् वामपन्थी एकता, ध्रुवीकरण वा सहकार्यको बलियो पक्षपाति हुन् । उनले पार लगाएरै छाड्ने छन् । यदि त्यस्तो भएन भने यो बालुवाको घर हुने छ, कुन बाढीले बगाउँछ ? टुंगो छैन ।

विश्वासजत्तिकै शंका

विश्वास गर्दागर्दै शंका गर्नुपर्ने क्रान्तिको नियम नै हो । यसलाई द्वन्द्ववादी चेत पनि भनिन्छ । त्यसैले प्रचण्ड र ओलीप्रति विश्वासजत्तिकै शंका गर्नुपर्ने ठाउँ स्वयं उनीहरूको भूमिका, कार्यशैली र इतिहासले तय गरेको छ । अहिले प्रचण्डले कुन उद्देश्यका साथ यो कदम चाले भन्ने प्रश्नमात्रै हो । तर, ओलीका हकमा प्रश्नैप्रश्न छन् ।

०७७ मा संसद विघटन गरेपछि भएका केही संवैधानिक अंगका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट अझै विचाराधीन छ । सम्भवतः अबको पेसीमा उक्त रिट आदेशसहित टुंगोमा पुग्दैछ । यदि ती नियुक्ति खारेज भए भने ओलीका थुप्रै मानिस संवैधानिक अंगबाट बिदा हुन्छन् । र, ती ठाउँमा नयाँ मानिसहरू नियुक्त गरिनुपर्छ ।

ओलीको प्रधानमन्त्रीकालमा विभिन्न घोटाला प्रकरण चर्चामा आए । कतिपय भित्रभित्रै गुपचुप राखिएका छन् । सरकारी हिसाबहरूको परीक्षण गर्ने महालेखा परीक्षकले चाहँदा जस्तासुकै घोटाला वा अनियमिततालाई भित्रभित्रै दबाउन सक्छन् । विभिन्न देशका राजदूत, राजनीतिक नियुक्तिका म्यादहरू सकिँदैछन् । ती ठाउँमा पनि नयाँ मानिस तयार पार्ने बेला आइसकेको छ ।

यी सन्दर्भहरू ओलीका निम्ति परीक्षणका विषय हुन् । के उनी ती कुराहरूको व्यवस्थापन गर्न हिजो आफूलाई लात मार्ने प्रचण्डको साथमा लागेका त हैनन् ? किनभने, पटक पटकका घटनाक्रमबाट आफ्नो स्वार्थरक्षाका निम्ति जेसुकै गर्न तयार व्यक्तिका रूपमा ओलीले आफूलाई उदाङ्गो पारिसकेका छन् । फेरि पनि वामपन्थी गठबन्धन, सहकार्यका निम्ति हैन, आफ्ना स्वार्थको रक्षाका निम्तिमात्रै उनी यो गठबन्धनमा सामेल भएका हुन् या साँच्चै नै आफू सच्चिएर वामपन्थी एकतालाई सुदृढ बनाउन चाहन्छन् ? उनका हकमा यी शंकाका विषय हुन् । निवारण गर्ने, नगर्ने उनकै हातमा छ ।

पर्ख र हेर

उपरोक्त परिस्थिति, घटनाक्रम र सन्दर्भलाई दृष्टिगर्दै एकीकृत समाजवादी नयाँ सरकारमा सामेल हुनुपर्ने अवस्था रह्यो । यद्यपि, सरकारमा सहभागी भएपछि पनि उक्त पार्टी ‘पर्ख र हेर’ कै नीतिमा अडिग छ । यो सरकार गलत हुँदा वा यसले जे-जे भनेर एकीकृत समाजवादीलाई सरकारमा सामेल हुन आह्वान गरेको छ, ती कुरा नहुँदा सरकारबाट वहिर्गमित हुने सम्भावना पनि उत्तिकै छ ।

एकीकृत समाजवादीलाई विभिन्न रंग र ढंगका भोटो फेर्दै सत्ताका लागि सत्ता चाहिएको होइन । संकटमा परेको कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका निम्ति नयाँ शीराबाट अगाडि बढ्न सकिँदैन भने, हिजो जे-जे कारणले विभाजित भएर अगाडि बढ्नुपर्‍यो, ती कुराहरूको हल हुँदैन भने मान्छेका अनुहार फेर्नमात्रै किन पुरानो गठबन्धनलाई तोडेर नयाँ बनाउनु परेको हो ? भोलि यो प्रश्न उठ्छ । सरकारमा सहभागी हुने एकीकृत समाजवादीको शर्त पनि तिनै पश्नमा निहित छन् ।

(सुवेदी नेकपा एसनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष हुन् ।)


प्रतिक्रिया

10 thoughts on “‘ओली कम्पनी’ सँगको विद्रोह बिर्सेका छैनौं, प्रचण्डको टाङमुनि छिरेका होइनौं

  1. सत्ता र भत्ताका लागि सरकारमा गएका हाै भन्न नसकेर यति लामो कथा हाल्नु कुनै तुक छैन है लेखकज्यू । नचिनेको व्यक्तिको बारेमा बखान गर्दा त ठिकै हुन्छ । तर अहिले यसरी बखान गर्नुको लेखनी कै लागि पनि न्यायसंगत मान्न सकिदैन । किन भने अर्कालाइ सरकार बनाउन सकस परेको देखेर दया लागेर सरकारमा गए झै लेख्दा विगत हेक्का राख्नु राम्रो हुन्छ ।

    1. नून समाजवादीको खाएपछि पत्रकार कम नूनको सोझो गर्ने बढी हुन्छ । यसलाई सामान्य रूपमै लिउँला । तर सकिने बेला भैसक्यो । अझै पनि तुजुक चाहिँ आईरहेको छ ।

  2. माकुने गुटको अन्त्य हुने बेला गुटका केहि तत्वहरुको खराब नियत यो लेखमा देखियो, यस्ता गुटवाला को लेखलाई सम्पादक ज्युले स्थान दिन हुने थिएन भन्ने लाग्छ, यद्यपी गलतै भएपनि फरक बिचारको लागि यस्ता तत्वहरुको लेखले साना तिना पार्टीहरुलाई मुतको न्यानो जस्तै उर्जा दिने रहेछ

  3. यो सरकारमा नआए माकुने एक्लै हुने अवस्था आइसक्यो के ठुला कुरा गरेकाे यो सुवेदीले

  4. बिचरा, यो लेखकलाई देखेर पो ज्यादा टिठ लाग्यो ।

  5. यो पनि एउटा रक्षा कवछ नै हो । जब हैसियत गुम्छ अनि मान्छेको होस पनि गुम्न पुग्छ । पार्टीका नेता र कार्यकर्ता भटाभट एमाले प्रवेश गर्दै छन । यिनी महासयका भने कुरै ठुला । कि त एक्लिएर बस्नु पर्यो कि भने टाङमुनी छिर्नै पर्यो । अरु त सवै खोक्ने कुरा हो ।

  6. एकीकृत समाजवादी अब माकुने पार्टीमा रुपान्तरित भइसक्यो , कार्यकर्ताले बुझे धमाधम आफ्नै थातथलोमा फर्किदैछन , यही बुझेर माकुने काका मिसिएका हुन र अर्को डर ललिता निवास काण्डमा ढिलो चाडाे जाकिने संभावनाले त्वम सरणं गच्छामी शैलीमा गठबन्धन छिरेको कुरा घाम जतिकै छर्लंग छ त ! लेखक महोदय ?

  7. अगामी जेठभित्रै एकीकृत समाजवादी एमालेमा विलय हुन्छ । पार्टी एकता होइन, केवल विलय । त्यसबेला के लेख्नुहुन्छ अध्यक्ष कमरेड ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *