लुम्बिनीका मुख्यमन्त्रीको आशा चुँडियो, जसपा आएपछि नवगठबन्धनलाई बहुमत
रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ गठबन्धन दललाई ३ सांसद रहेको जसपाले साथ दिने भएपछि बहुमतको तौल पुगेको छ । यसअघि नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एमाले र माओवादीबाहेक साना दलको साथ लिएर प्रदेश सभामा विश्वासको मत जुटाउने प्रयास थालेका थिए ।
अहिलेसम्म साना दल सरकारमै रहेको र राष्ट्रिय जनमोर्चाले पनि समर्थन फिर्ता नलिने विश्वासमा रहेका चौधरीले राप्रपाको समर्थन लिने प्रयास गरिरहेका थिए । तर ३ सांसद रहेको जसपाले केन्द्रमा सत्ता साझेदारी गरेपछि मुख्यमन्त्री चौधरीको बहुमत पुग्ने संभावना टरेको हो । चौधरीले विश्वासको मत जुटाएरै अघि बढ्ने तयारी सुरुकै दिनबाट गरेका थिए ।
चौधरीलाई बहुमत पुराउन एमाले, माओवादी, बाहेकका सबै शक्ति आवश्यक पर्छ तर १ सांसद रहेको स्वतन्त्र, १ सांसद रहेको नेकपा एस र ३ सांसद रहेको जसपाले समेत नयाँ गठबन्धनमा साथ दिने निश्चित भएपछि त्यो आशा सकिएको छ । जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले केन्द्रमा भएको समीकरण अनुसार नै प्रदेशमा सहकार्य अघि बढ्ने बताए ।
‘प्रदेशमा केन्द्रमा भएको सहमतिअनुसार अघि बढ्छौं, माओावदीले समर्थन फिर्ता लिएपछि मुखयमन्त्री अल्पमतमा पर्नुभयो नै हामीले कसरी अगाडि जाने भनेर सल्लाह गर्दैछौ’ उनले भने ।
एमालेले पनि सरकार बनाउने तयारीका साथ राप्रपा, जसपा, एकीकृत र जनमोर्चासँग छलफल गरिरहेको छ । लुम्बिनी प्रदेशसभामा सहभागी १० मध्ये ८ दल र एक स्वतन्त्रसमेत गरी ५४ मतको समर्थनमा चौधरी गत वैशाख १४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सभामुखसहित ११ सांसद रहेको माओवादीले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएपछि मुख्यमन्त्री ४३ मतका साथ अल्पमतमा परेका हुन् ।
८७ सदस्यीय प्रदेशसभामा राप्रपाका जानकीप्रसाद यादव भ्रष्टाचार मुद्दामा निलम्बन भएपछि ८६ सदस्य कायम छन् । उनलाई समर्थन गरेको ३ मत रहेको जनता समाजवादी र एक मत रहेको एकीकृत समाजवादीले संघीय सरकारमा सहभागी भए पनि प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेका छैनन् ।
एमाले प्रमुख सचेतक तुलसी चौधरीले साना दलको साथ लिएर एमालेकै नेतृत्वमा सरकार गठन गर्ने गरी छलफल भइरहेको बताए । लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जसपाका ३, एकीकृत समाजवादी र स्वतन्त्र १–१ गरी ४५ सदस्य छन् । एमाले र माओवादीले ३ मत रहेको राप्रपा र १ मत रहेको जनमोर्चासँग पनि छलफल गरिरहेका छन् ।
त्यस्तै कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३र३ र जनमोर्चाका १ जना सांसद छन् । कांग्रेस नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति, लोसपा, जसपा, जनमत र जनमोर्चाको समर्थन अहिलेसम्म कायम छ । नयाँ गठबन्धनमा एमाले र माओवादी दुवैले सरकारको नेतृत्वका लागि दाबी छाडेका छैनन् ।
तर यसअघिको गठबन्धनमा एमालेले नेतृत्व पाएकाले अहिले पनि त्यसैलाई आधार हुने एमाले नेताहरुको दावी छ तर माओवादी नेताहरुले भने लुम्बिनी पार्टीको बलियो आधार इलाका भएकाले यहाँको नेतृत्व दावी रहने बताइरहेका छन् ।