अन्जन विष्ट बंगलादेश प्रिमियर लिग (बीपीएल) को फोर्टिस एफसीमा आवद्द
हेटौंडा । नेपाली फुटबल स्टार अन्जन विष्ट बंगलादेश प्रिमियर लिग (बीपीएल) को फोर्टिस एफसीमा आवद्द भएका छ्न् । बंगलादेश प्रिमियर लिग (बीपीएल) को दोस्रो लेगका लागि नेपाली फरवार्ड अन्जन विष्टलाई अनुबन्ध गरेको क्लबले जनाएको छ ।
क्लबका प्रबन्धक रसिदुल इस्लामले शुक्रबार विष्ट आफूहरूको क्लबमा आवद्द भएको जानकारी दिए ।
‘अञ्जन नेपाली राष्ट्रिय टोलीका नियमित र अनुभवी खेलाडी हुन् । उनले बंगलादेशविरुद्ध पनि ह्याट्रिक गरेका थिए । हामीलाई विश्वास छ उनले हामीलाई अगाडि बढाउन सक्छन्,’ विष्टको आगमनबारे रसिदुलले भने ।
उनले थपे, ‘हाम्रा चारै विदेशी खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् र उनीहरुको प्रदर्शनबाट हामी पूर्ण सन्तुष्ट छौँ तर कहिलेकाहीँ निलम्बन र चोटजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ, त्यसैले खेलको स्तर बढाउनको लागि हामीले अञ्जनलाई अनुबन्ध गरेका हौं ।’
२०२२ मा भएको मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध ३-१ ले हराएर ह्याट्रिक गरेका विष्ट ६० खेलमा १३ गोल गरेका हरि खड्का र निराजन रायमाझीसँगै नेपालका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
२५ वर्षीय अञ्जन मार्च २६ मा हुने विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको तर्फबाट खेलेपछि सीधै ढाका जाने बताइएको छ । फोर्टिस एफसी ९ खेलबाट १२ अंकसहित १० टोलीको तालिकामा पाँचौं स्थानमा छ। उनी बङ्गलादेशको पहिलो डिभिजन खेल्ने प्रथम नेपाली फुटबलर भएका छ्न् ।