रुपन्देहीमा व्यक्तिगत लगानीमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार – Nepal Press

रुपन्देहीमा व्यक्तिगत लगानीमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार

१०० जनालाई आवासीय प्रशिक्षण दिने एकेडेमी सञ्चालन गर्ने लक्ष्य

रुपन्देही । गुल्मीका युवा विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरेर खेल सञ्चालन गर्ने भएको हो ।

फागुन १४ गते नै उद्घाटन गर्ने भनिएकोमा क्रिकेट खेलाडीहरुको तालिका नमिलेपछि २ साता धकेलिएको रंगशाला निर्माणकर्ता कुँवरले बताए । उनका अनुसार गएको जेठ ३० गते शिलान्यास भएको रंगशालामा उद्घाटनको दिन लिजेण्ड्स कप क्रिकेट आयोजना गर्ने तयारी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले जानकारी दिए ।

हाल अष्ट्रेलियामा बस्दै आएका कुँवरले आफ्नी श्रीमती सदीक्षाको सहयोगमा तिलोत्तमा नगरपालिका- १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशाला निर्माण गरेका हुन् । रंगशाला खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी रहेको कुँवरले बताए ।

‘यो मैदानमा प्याराफिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ, प्याराफिट बनाउने काम सुरू भइसकेको छ । यसका लागि करिब १८ करोड खर्च हुनेछ’, उनले भने ।

अष्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट बनाएको रंगशालाबाट फाइदा नहुने भन्दै धेरैले प्रश्न गरेका छन् । तर, उनी पछि हटेका छैनन् । रंगशालाको स्थायित्वको लागि गुरुयोजना नै बनाइसकेका उनले यसलाई व्यवसायिक रुपमा अघि बढाएर नमुना योजना बनाउने सुनाए ।

‘यसै पनि देशमा रंगशाला कम छन्, क्रिकेटको क्रेज बढ्दैछ, त्यसमाथि मैले व्यवसायिक तरिकाले योजना बनाएको छु, त्यहीअनुसार लगानी गरेको हो, म मेरो योजनामा ढुक्क छु, पूर्वघोषित समयमै यसलाई पूर्ण सञ्चालनमा ल्याउँछु, यो मेरो संकल्प हो’, उनले भने ।

कुँवर व्यक्तिगत लगानीमा एकेडेमीसहितको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका छन् । सोहीअनुसार अहिले क्रिकेट मैदान तयार भएको छ ।

मैदान उद्घाटनको दिन ४ टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुने कार्यक्रम छ । प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन् । सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्दा रेस्ट अफ नेपालको टीमलाई कलाम अली तथा रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्नेछन् ।

हाललाई प्रतियोगिता आयोजनाको लागि तयार पारिएको मैदानमा थप भौतिक पूर्वाधार थप्दै लाने योजना रहेको कुँवरले बताए । यसै साता प्याराफिट तथा एकेडेमी भवनको शिलान्यास हुनेसमेत उनले जानकारी दिए ।

नेपालका पूर्वक्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बासडर छन् । यो क्रिकेट रंगशाला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिइएको छ । रंगशाला कम्पाउन्डमा एकेडेमीको चार तले भवन बन्नेछ , जसमा १०० जनालाई आवासीय प्रशिक्षण दिइने बताइएको छ ।

यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन् ।

धुर्मुस-सुन्तलीले चन्दा उठाएरै बनाउन खोजेको चितवनको क्रिकेट रङ्गशाला वर्षौं अलपत्र परेर अहिले संघीय र बागमती प्रदेश सरकारसँगै भरतपुर महानगरपालिकाले बनाउने प्रक्रिया अघि बढाएका छन् । काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी रंगशालाको स्तरोन्नति गर्ने काम सुरू हुन सकेको छैन । यस्तो अवस्थामा व्यक्तिगत लगानीमा क्रिकेट मैदान तयार गर्नु कम उपलब्धि होइन ।

जेठ ३० मा शिलान्यास गर्न नेपाल आएका कुँवर यसबीचमा तीन पटक अष्ट्रेलिया-नेपाल आउजाउ गरिसकेका छन् । कुँवरकै पहलमा मैदान तयार भएपछि क्रिकेटर शक्ति गौचन पनि निकै खुशी छन् । खेलबाट सन्न्यास लिएर क्रिकेट क्षेत्रको विकासमा लागेका उनले कुँवरलाई यहाँको व्यवस्थापन र रेखदेखमा पूर्ण साथ दिएका मात्रै छैनन्, क्रिकेटसँग सम्बन्धित सबै तहका नेतृत्वसँग समन्वय गरिरहेका छन् ।

‘यो मैदानमा जुनसुकै अन्तर्राष्ट्रिय तहको खेल खेल्न मिल्छ’, गौचनले भने ।

करिब २५ हजार दर्शक क्षमताको रङ्गशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ ।

रुपन्देही आफैंमा क्रिकेटका लागि चिनिएको जिल्ला हो । यहाँ धेरै राष्ट्रिय खेलाडी जन्मिएका छन् । राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल, ईन्दु वर्मा रुपन्देही जिल्लाकै उत्पादन हुन् । यो रङ्गशालाले रुपन्देहीबाट थप खेलाडी तयार हुने विश्वास क्रिकेटप्रेमीहरुले लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *