सबै विद्यार्थीले एउटै प्रकारको पोशाक लगाउनुपर्ने निर्णयमा उच्च अदालतले इटहरी उपमहानगरसँग माग्यो जवाफ – Nepal Press

सबै विद्यार्थीले एउटै प्रकारको पोशाक लगाउनुपर्ने निर्णयमा उच्च अदालतले इटहरी उपमहानगरसँग माग्यो जवाफ

विराटनगर । नगरभित्रका सबै विद्यालयमा एकै किसिमको पोषाक लगाउनुपर्ने निर्णयसम्बन्धमा उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिकालाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

इटहरी उपमहानगरले नगर क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेपछि यसविरुद्ध उच्च अदालतमा रिट परेको थियो । रिटउपर सुनुवाइ गर्दै उच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

प्याब्सन इटहरीका सचिव सूर्यमणि निरौलाले पालिकालाई विपक्षी बनाएर गत फागुन २ गते रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले बिहीबार ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने ? आधार, कारण र प्रमाणसहित १५ दिनभित्र हाजिर हुन’ उपमहानगरलाई आदेश गरेको हो ।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन् । करिब ६३ हजार ५२६ विद्यार्थी नगरमा अध्ययनरत छन् । इटहरीभित्रका निजी तथा सबै सामुदायिक विद्यालयका विद्यार्थीले एक खालको पोसाक लगाउनुपर्ने नगरको निर्णयप्रति आलोचना हुुँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर