उस्तै कथा र उस्तै कमेडी फिल्महरुको ह्याङ मेटाउने ‘अगस्त्य’
काठमाडौं । मुख्य कुरा त यो फिल्म समीक्षाभन्दा ज्यादा दर्शकीय टिप्पणी हो । उस्तैखाले कमेडी फिल्महरुले बोर बनाइरहेको वेला ‘अगस्त्य : द अनब्रेकेबल’ले रिफ्रेस गराएपछि केही लेख्ने कोसिस गरिएको हो । गएको शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : द अनब्रेकेबल’ले दोस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । यसको एकै कारण हो, यस फिल्मले दर्शकलाई पस्किएको नयाँ र भिन्न स्वाद । कमेडी फिल्महरुको बाढी लागिरहेको वेला भरपुर एक्सन र ट्वीस्टका साथ अगस्त्यले दर्शकलाई नयाँ अनुभूति दिलाइरहेको छ भन्दा गलत नहोला ।
सीमा क्षेत्रमा हुने मानव तस्करको अपराध अनुसन्धानको वास्तविक घटनामा आधारित ‘अगस्त्य’ले दर्शकलाई पहिलो मध्यान्तरसम्म झुम्मझुम्म पार्छ । फिल्म धिमी गतिमा अगाडि बढेको छ । तर, जब मध्यान्तरपछि फिल्म सुरु हुन्छ, यसपछि भने दर्शकको दिमागलाई फनफनी घुमाउँछ । लगातारको ट्वीस्टले दर्शकलाई बाँधेर राखिरहन्छ ।
अपराध अनुसन्धानको परिधिमा घुमेको ‘अगस्त्य’को सुरुवातमा निशान (नाजिर हुसेन)को एक्सन दृश्यबाट हुन्छ । उक्त दृश्यको निचोड हुन्छ, सौर्य (सौगात मल्ल)को खोजी । फिल्म सुरु भएको केही मिनेटमै भारतको गोरखपुर सडकमा मानसिक सन्तुलन गुमाएका सौर्यलाई केही मान्छेले लखेटिरहेको हुन्छ । तर, किन लखेट्छन् त तिनीहरुले ? ठूलो क्यानभासको फिल्ममा यो सामान्य दृश्यको साइनो के छ त ? यसका लागि दर्शकले अन्त्यसम्म फिल्म हेर्नुपर्ने हुन्छ ।
सीमा क्षेत्रमा हुने तस्करीका साथै चेलिबेटी बेचबिखनको कथा ‘अगस्त्य’को प्रमुख कथा हो । चेलिबेटी जोगाउन लागिपरेका प्रहरी अफिसर र दलाल, तस्करबीचको द्वन्द्व नै फिल्मको केन्द्रीय द्वन्द्व हो । प्रहरीको भूमिकामा सौगात र नाजिर छन् भने मुख्य तस्कारको भूमिकामा त्रिपाठी (प्रमोद अग्रहरी) छन् ।
तर, सिंगो कथा सौर्यको वरिपरि घुमेको छ । सौर्य को हो, कहाँ छ, के गरिरहेको छ, जीवित छ या मरिसकेको छ ? सौर्यको खोजीमा व्यग्र भएर लागेका छन् निशान । सौर्यको यही खोजीकै क्रममा अन्य पात्रहरु पनि जोडिँदै जान्छन्, केही थपिन्छन् र केही छुट्छन् ।
निर्देशक सौरभ चौधरीको लखेन तथा निर्देशन रहेको ‘अगस्त्य’ले कथा भन्दै जाँदा छुटाउँदै पनि जान्छ । कथा दौडाउँदै जाँदा कहीँकतै रोक्दै पनि जान्छ । केही कथा किन छुटे ? केही कथा किन रोकिए ? यसको जवाफ फिल्मले अन्त्यमा दिएको छ । दोस्रो हाफपछि कथा जोडिँदै जान्छ । त्यसैले फिल्मले दर्शकलाई दोस्रो हाफपछि मनोरञ्जन दिन सक्षम छ ।
‘अगस्त्य’ले कथाहरु भन्दै जाँदा कथाहरु छुटाउँदै पनि जान्छ । कथाहरु दौडाउँदै जाँदा कथाहरु रोक्दै पनि जान्छ । केही कथा किन छुटे ? केही कथा किन रोकिए ? यसको जवाफ फिल्मले अन्त्यमा दिएको छ ।
कथा मधेसको हो । तर, पात्रहरुले प्रायः नेपाली नै बोल्छन् । त्यो पनि स्पष्ट नेपाली । पात्रहरुले नेपाली बोल्नुमा समस्या भएन । तर, मधेसको परिवेशमा पात्रहरुलाई मैथिली भाषा नै बोलाइदिएको भए फिल्म थप बलियो हुने थियो । रवीन्द्र झाले निभाएको पात्र र उसकी श्रीमतीले शुद्ध नेपाली उच्चारण गर्छन् । कोर मधेशमा रहेका कतिपय नेपालीहरु राम्रोसँग नेपाली भाषा नै बुझ्दैनन् । उनीहरु मैथिलीबाहेक अरु भाषा नै बोल्दैनन् । मधेशको कथा टिपिएपछि यसमा निर्देशक सचेत हुनुपर्थ्यो ।
मुख्य खलपात्र त्रिपाठीको घरका दृश्यहरु जम्मा दुई भाइको वरिपरिमात्रै छन् । घरको परिवेश कति भयानक थियो, घरमा महिलाहरु किन छैनन् ? के कारणले त्रिपाठी र उनका भाइहरुमात्रै छन् ? यस्ता सवालको जवाफ खोज्न सकिन्थ्यो । तर, ठूलो क्यानभासमा फिल्म बनाउन खोज्दा निर्देशकले यस्ता कुराहरु नजरअन्दाज गरेका छन् ।
फिल्ममा ट्वीस्टको मात्रा भरपुर छ । तर, कथावाचनमा थर्ड पर्सन न्यारेटिभ्सको प्रयोग गरिएको छ । कतिपय ठाउँमा थर्ड पर्सन न्यारेटिभ्स आवश्यक थिएन । तैपनि प्रयोग गरिएको छ । त्यसो नगरिएको भए फिल्म अझै गजब हुन सक्थ्यो ।
समग्रमा व्यवसायिक उद्देश्यका साथ बनाइएको ‘अगस्त्य’ ‘आइ प्लिजिङ’ छ । मुख्य रुपमा यसको सिनेम्याटोग्राफी र कलरिङले दृश्यहरुलाई सुन्दर बनाएको छ । कलाकारहरुले मेहनत गरेका छन् । विशेष गरेर सौगात मल्लले मल्टी लेयरमा अभिनय गरेका छन् । उनको अभिनयले दर्शकलाई खिचिरहन्छ । नाजिर, प्रमोद अग्रहरी, रवीन्द्र झालगायतको अभिनयले पनि दर्शकलाई रमाइलो प्रदान गरिरहन्छ । मलिका महतको अभिनय ठीकठाकमात्रै छ । सौगात, नाजिर, रवीन्द्र, प्रमोदहरुको सामुन्ने उनी फिका लाग्छिन् ।
‘अगस्त्य’ ट्विस्टहरुको खानी हो । दर्शकलाई त्यही ट्विस्टले नै बाँधेर राख्छ । उही विषय, उही कथा, उही सपाट कमेडी फिल्महरुको बाढीले हलहरु ढाकेको वेला ‘अगस्त्य’ नयाँ स्वाद लिएर आएको छ । यदि सपाट कमेडीले तपाईंहरु बोर हुनुभएको छ र थ्रिलिङ फिल्म हेर्न चाहनुहुन्छ भने ‘अगस्त्य’ बलियो विकल्प हुनसक्छ ।