माधव बरालको ‘भूमि–चिन्तन’ विमर्श
काठमाडौं । कर्मचारीतन्त्रमा दुई दशक काम गरेका माधव प्रसाद बरालले ल्याएको पुस्तक ‘भूमि–चिन्तन: स्वामित्व र उपयोगमा पुनर्विचारनको बहस’ को विमर्श भएको छ ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा पुस्तकको औपचारिक विमर्श भएको हो । विमर्श समारोहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व सचिव किशोर थापा लगायतका वक्ताहरूले आफ्नो विचार राखेका थिए ।
भट्टराईले पुस्तक चुस्त, सहजै पढ्न सकिने भएको भन्दै चिया गफमा वा मदिरा लिएको अवस्थामा मात्रै भनिने सत्यहरू लेखक बरालले हाकाहाकी किताबमै भन्ने आँट गरेको बताए ।
उनले नेपालको राज्य फैलावटमै पनि भूमिको मुद्दा एक प्रमुख मुद्दा भएको भन्दै भूमि चिन्तन किताबमा लेखकले बहस राम्रो ल्याएको बताए । पूर्व सचिव किशोर थापाले नेपालमा भूमिको समस्या अन्त्य भएमा ठूला परियोजना आधि सकिएको आफूले मान्ने बताएका छन् ।
भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकमा लेखकले नेपालमा राज्यको स्वामित्वले भूमि आएमा नेपालको ‘विद्यमान ८० प्रसिशत भ्रष्टाचार समाप्त भएर जानेछ’ भनेका छन् ।
यस्तै समृद्धिको सवालमा पनि राज्यको स्वामित्वको भूमि उपयोग अनिवार्य भएको भन्दै किताबको निष्कर्षमा बरालले भनेका छन्, ‘राज्यको स्वामित्वमा रहेको ७२ प्रतिशत भूमिको विविध र बहु आयामिक उपयोग बिना नेपाल र नेपाली जनताको समृद्धि सम्भव छँदै छैन ।’
बजारमा उपलब्ध १८० पेजको यो पुस्तकको मूल्य ४०० छ ।