कांग्रेस र कम्युनिस्टबाट आएका मधेशी नेताहरूमा पनि औपनिवेशिक र नश्लीय चिन्तन देखियो : राजेन्द्र महतो – Nepal Press

कांग्रेस र कम्युनिस्टबाट आएका मधेशी नेताहरूमा पनि औपनिवेशिक र नश्लीय चिन्तन देखियो : राजेन्द्र महतो

जनकपुरधाम । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले कांग्रेस र कम्युनिस्टबाट आएका मधेशी नेताहरू पनि औपनिवेशिक र नश्लीय चिन्तनले भरिएको आरोप लगाएका छन् ।

जनकपुरधाममा आयोजित बहुल राष्ट्रिय राज्य निर्माणका लागि बृहत् सम्वादात्मक कार्यक्रममा उनले मधेशी नेताहरूमाथि आक्रोश पोखे । उनले भने, ‘कांग्रेस र कम्युनिस्टबाट मधेशी नेता उत्पादन भयो । तर उनीहरूको रगतमा मदेशवाद भरेको देखिएन ।’

‘कांग्रेस र कम्युनिस्टमा औपनिवेशिक र नश्लीय चिन्तनले भरिएको पार्टी हो,’ नेता महतोले भने, ‘त्यहाँ नेतालाई पनि त्यस सम्बन्धी शिक्षा दिन्छ । त्यसैले त्यहाँबाट नेताहरू त आए, तर आफूमा सुधार गर्न सकेनन् ।’

उपेन्द्र यादव र महन्त ठाकुरलाई लक्षित गर्दै उनले मधेशी नेताबाटै आफूले धेरै दुख पाएको पीडा पोखे । उनले प्रश्न गरे, ‘मधेश त ६ वर्षदेखि मधेशी नेताकै हातमा छ । सत्ता चलाइरहेको छ । तर के परिवर्तन भयो ? जनता त विकासको अनुभूति नै गर्न पाएको छैनन् नि ।’

नेता महतोले पृथ्वीनारायण साहले विभिन्न राज्यलाई एकीकरण गरेपछि नेपाल बनाएर राम्रै गर्‍यो तर पहिचान समाप्त पारेर ठिक नगरेको गुनासो गरे । उनले पृथ्वीनारायणदेखि प्रचण्डसम्मले शासन गर्दा पनि हरेक जातजाति र समुदाय पहिचान र अधिकारबाट वञ्चित रहेकाले बहुल राष्ट्रिय राज्य बनाउन अभियान सुरु गरेको बताए ।

‘पृथ्वीनारायण साहले त यो देशलाई चार वर्ण ३६ जातको फूलबारी त भन्यो तर शासकहरूले साझा फूलबारी बनायो त ? बनाएन,’ नेता महतोले भने, ‘मधेशी, जनजातीय, थारु लगायतले पहिचान र अधिकार लामो संघर्ष गर्दा पनि पाएनन् । अधिकारका लागि आन्दोलन गर्दा दमन गरियो । छाती र टाउकोमा गोली मारेर संविधान बनायो ।’

शासन र संविधान सधैं शासकले आफ्नो अनुकूल मात्र बनाएको कारण पनि देश बरबादतर्फ गइरहेको नेता महतोले गुनासो गरे । ‘अब एकल जातीय शासन अन्त्य गर्न जरुरी रहेको र त्यसका लागि मधेशी, जनजाति, थारुसहित अधिकारबाट वञ्चित सबै शक्ति एक भएर लड्नुपर्छ, उनले भने ।


प्रतिक्रिया

One thought on “कांग्रेस र कम्युनिस्टबाट आएका मधेशी नेताहरूमा पनि औपनिवेशिक र नश्लीय चिन्तन देखियो : राजेन्द्र महतो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर