मतदाता अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगको सबै मतदातालाई आग्रह
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।
आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका मतदाताको नामावली अद्यावधि गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलन भएको मतदाता नामावलीको अद्यावधि तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ भइसकेको जनाएको हो ।
निर्वाचन कार्यालयबाट फागुन १३ गतेसम्म संकलन भएका विवरणमध्ये २०८१ वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधि गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
उनका अनुसार मतदाता नामावली अद्यावधि तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ गतेदेखि चैत पाँच गतेसम्म सञ्चालन हुनेछ ।
यसका लागि फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुनेछ । उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि आयोगको वेबसाइटमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिनेछ । मतदाता नामावली अद्यावधि कार्यक्रम सम्पन्न भएपछि चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।
मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अन्तरगत सञ्चालन हुने कार्यक्रमको प्रभावकारिता अभिवृद्धि एवं आवश्यक सुरक्षा, सहयोग, समन्वय र प्रचार प्रसारका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारीसँगको समन्वयमा जिल्लाका राजनीतिक दलसँग बैठक राखेर कार्यक्रम सम्बन्धी सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको प्रवक्ता पौडेलले बताए ।
उनका अनुसार स्थानीय तहबाट समन्वय तथा सहयोग हुनुपर्ने कार्यका विषयमा समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा परिपत्र गर्न मन्त्रालय र यस कार्यक्रममा सूचना प्रवाह, सहजीकरण, समन्वय र सहयोगका लागि संघीय संसद, प्रदेशसभा स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्राचार पनि भइसकेको छ ।
त्रुटिरहित अद्यावधि र प्रविधिमा आधारित मतदाता नामावली स्वच्छ, स्वतन्त्र र निष्पक निर्वाचन व्यवस्थापनकाको प्रमुख आधार भएको भन्दै आयोगले आफ्नो विवरण अद्यावधि गराउन सबै मतदातालाई अपिल पनि गरेको छ ।
आगामी २०८१ वैशाख १५ गते शनिवारका लागि इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुई र बझाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा उपनिर्वाचन तोकिएको छ ।