भुईंमान्छेले महसुस गर्नेगरी काम गर्छु : मन्त्री गिरी – Nepal Press

भुईंमान्छेले महसुस गर्नेगरी काम गर्छु : मन्त्री गिरी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र बेरोजगारी भोग्नुपरेको बताएका छन् ।

रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले सबै जनतामा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको भन्दै सरकारले त्यसलाई पूरा गर्ने दाबी गरे । रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको उनले बताए ।

‘आज हाम्रा साथीहरु देशभित्र रोजगारी नपाएर विदेशिनु परेको छ । यो अत्यन्तै कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ । म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरु विदेशतीर पलायन हुने होइन, यही देशभित्र रोगगारी श्रृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्नेहुन्छ’, गिरीले भने ।

उनले नेपालमा छोटोछोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरुको चलखेल रहने गरेको बताए ।

’हाम्रो देशमा भएको राजनीतिक अस्थिरता, वर्ष दिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दापनि हाम्रो विकास निर्माणका कामहरु अवरुद्ध भएका छन् । हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौं। यो यथार्थ हो’, उनले भने ।

यस्तै उनले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताए ।

’हाम्रो नेपालको जनमत पनि त्यस्तै प्रकारले प्राप्त भयो । एउटै पार्टीले बहुमत प्राप्त नगर्ने, एउटै पार्टीले पाँच वर्ष काम गर्न पनि नपाउने, अनि एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछि त्यो काम छोडेर, अर्को काममा प्रवेश गर्छ, जसले गर्दा हाम्रो राज्यका अरबौअरब लगानीहरु बालुवामा पानी हालेजस्तो भएको छ । खेर गइरहेको छ । हाम्रा विकासको गतिहरु रोकिएका छन् । हाम्रा विकास र सम्वृद्धि र सपनाहरु त्यतिकै अधुरो भएका छन्। यसले हामी सबैलाई चिन्तित तुल्याएको छ’, उनले चिन्ता व्यक्त गरे ।

यसैगरी मन्त्री गिरीले विगत एकवर्ष पट्यारलाग्दो भएको दाबी गरे। गिरीका अनुसार वेरोजगारीले दैनिक २१ सयको संख्यामा विदेशीरहेको र देशभित्रका व्यवसायी आत्महत्या गर्ने बाटोसम्म पुगेको बताए । उनले यसक्रममा संसद भवन अगाडि भएको आत्मदाह प्रकरण नेपालमै केही गर्छु भन्ने युवाको निराशाको उपज भएको स्मरण गरे ।

‘विगतको एक वर्ष फर्केर हेर्ने हो भने त यति पट्यारलाग्दो अवस्था भयो, यति निसासिदो अवस्था भयो सारा जनताहरुमा निराशा बढेको छ, विश्वविद्यालय–क्याम्पसहरु खाली भएका छन् । नेपाली युवाहरु दिनको २१ सय संख्यामा विदेश पलायन भइरहेका छन्’, उनले भने, ’यो देशमा सारा उद्योग–व्यवसाय गर्छु भन्ने मान्छेहरु बैंकको व्याज तिर्न नसकेर मान्छे झुण्डिएर मर्ने स्थिति श्रृजना भएको छ, संसद भवन अगाडि आएर आफूलाई पेट्रोल खन्याएर आगो लगाएर मर्नुपर्ने अवस्था आएको छ ।’

उनले जनतामा चरम निराशा बढेको र आत्मविश्वास गुमाएको अवस्थामा रहेको बताए ।

यसका लागि विचार नमिल्ने दलहरुबीचको गठबन्धन सरकार भएको उनको संकेत थियो ।

‘किन त्यस्तो भयो भने विगतमा जुन गठबन्धनको सरकारहरु बनेका थिए उनीहरुका विचारहरु मिल्दैन थिए, उनीहरुका व्यवहारहरु मिल्दैन थिए । उनीहरुका सोचहरु मिल्दैन थिए । उनीहरु आफूहरुमा पनि मिलेका थिएनन् । कसैले बाहिरबाट मिलाइदिदैं उनीहरुको सरकार बनाउने वातावरण मिलाइएको थियो। त्यो नेपाली जनताको चाहाना पनि थिएन, नेपाली जनताको हितमा पनि थिएन, त्यो कसैले बनाइदिएको थियो । त्यो कसैले उचाल्दिएको, कसैले मिलाइदिएर यो देशको राजनीतिक समस्याको समाधान गर्ने , सुशासन र सम्वृद्धिको बाटोमा लिएर जाने सम्भावना पनि थिएन। त्यही कारण विगत अत्यन्त कष्टकर भयो, अत्यन्तै निराशाजनक भयो, असाध्यै पट्यारलाग्दो भयो’, उनले भने ।

यसैगरी अब त्यस्तो अवस्था नआउने उनको भनाइ राख्दै त्यसमा जनतालाई विश्वस्त हुन उनले आग्रह गरेका छन् ।

‘अब त्यस्तो अवस्था रहँदैन । आम जनतामा नयाँ विश्वास दिलाउने काम गर्छौं । महिला तथा दिदीबहिनीहरुलाई विश्वास दिलाउँछौं, तपाईंहरु अब आत्मनिर्भर हुने बाटोमा अघि बढ्न चाहिने नीतिहरु अब हामीले लिएर आउनेछौं । युवाहरुले यही देशमा रोजगारी र स्वरोजगारी श्रृजना गर्नेगरी हामीले कार्यक्रमहरु लिएर आउनेछौं, धराशायी भएको अर्थतन्त्रलाई माथि उठाउने गरी हामी ठोस कार्यक्रम लिएर आउनेछौं । आमजनतामा नीजि क्षेत्रमा सम्पूर्ण तमाम जनसमुदायहरुमा यो देशभित्र मेरो भविष्य छ, यो राष्ट्रभित्र हाम्रो भविष्य छ भन्ने आत्मविश्वास जगाएर सिंगो ३ करोड नेपाली जनता राष्ट्र निर्माणमा लाग्ने खालको परिस्थिति निर्माण गर्छौं । त्यो संकल्पकासाथ हामी काममा जुटेका छौं । यो हाम्रा निम्ति नेपाली जनताले दिएको अन्तिम अवसर हो’, उनले भने ।

‘अब हामीलाई इतिहासले कहिले पनि यो समय दिने छैन । आज हामीले यो मूल्यवान समयलाई बुझ्न सकेनौं भने यो जनता निराशाको चरम उत्कर्षलाई बुझ्न सकेनौं भने जनताको अपेक्षालाई बुझ्न सकेनौं भने इतिहासले हामीलाई सँधैलाई सोध्ने छ । हामी तयो कुरा बुझेर जनताको काममा, हितमा, राष्ट्रको हितमा सम्पूर्ण रुपले समर्पित भएर केन्द्रिकित भएर लाग्ने छौं’, उनले थपे, ‘हामीलाई दिनरात केही नभनी जनताको काममा लाग्नुपर्नेछ । त्यो हिसाबले, त्यो आत्मबोधका हिसावले सरकारमा सामेल भएका हौं । एउटा नयाँ युवाको तर्फबाट मलाई पनि पार्टीले यस सरकारमा सामेल हुनका निम्ति पठायो ।’

उनले आफूलाई पार्टीले एक युवालाई अवसर दिनुपर्ने नीतिअनुसार सरकारमा पठाएको बताउँदै विगतमा छोटो समयमा स्वस्थ्यमन्त्री हुँदा काम गर्ने समयमा सरकार छाड्नुपरेको स्मरण गरे ।

‘विगतमा थोरै समयमात्र स्वास्थ्य मन्त्रीका रुपमा रहें। केही कामको सुरुवात हुँदै थियो, जब मैले मन्त्रालयका सबै कुरा बुझेर सबै गरिब जनताहरुले नेपालमा जस्तोसुकै ठूलो रोग लागेपनि निशुल्क उपचार गर्ने, कोही मान्छे उपचार नपाएर मर्नुपर्ने अवस्थाकोमअन्त्य गर्नुपर्छ भनेर त्यो संकल्प लिएर म मन्त्रालयमा छिरेको थिएँ । तर सबै कुरा बुझेर काममा जानका लागि गेयर बदलेर मेरो गाडी अगाडि बढ्दै थियो, सरकार छोडेर हुँड्नुपर्ने अवस्था आयो’, उनले भने ।

अब उनले कानुनमन्त्रीका रुपमा पाएको जिम्मेवारीलाई भूईंमान्छेले महशुस गर्नेगरी पूरा गर्ने वाचा गरे ।

‘आज कानुनमन्त्रीको रुपमा नयाँ जिम्मेवारी प्राप्त गरेको छु । मलाई राम्रोसँग थाहा छ देशको विकाश एउटा राम्रो बाटोले मात्रले हुँदैन, दुई चारवटा खानेपानीका धाराले हुँदैन । दुई–चार वटा अस्पताल बनाउँदैमा पनि देश बन्दैन । देश बन्नका लागि असल नीति बन्नपर्छ । असल कानून निर्माण गर्नुपर्नेछ । अत्यन्तै गरिब भूईंमान्छेका हितमा कानुन बनाउनुपर्नेछ’, मन्त्री गिरीले भने, ‘पारदर्शिता र सुशासनका निम्ति चाहिने कानुनहरु बनाउनुपर्नेछ । सार्वजनिक हितका निम्ति काम गर्नुपर्नेछ । त्यो काम गर्नका निम्ति मैले रातभरी नसुतेर भएपनि म खट्नेछु, मेरो टिम खट्नेछ । यो नेपालको इतिहासमा कानून मन्त्रालयको तर्फबाट सबै जिम्मेवारी पूरा गरेको थियो भनेर आमजनताले भन्नसक्ने गरी म पनि काम गर्नेछु ।’

 

 

 


प्रतिक्रिया

One thought on “भुईंमान्छेले महसुस गर्नेगरी काम गर्छु : मन्त्री गिरी

  1. यस्ता भाषण भूषण अवदेखि कहाँ पनि दोस्रो पटक नहोस्, ऐन कानूनलाई चुष्टदुरूष्ट रूपमा बनोस् कार्यान्वयन हुन सकोस्, मन्त्रालय, अदालतसम्म धाउन नपरोस्, जनताले यहि कुरा बुझेका छन्, जयहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर