दुनाटपरी उद्योगमा रमाउँदै बेलौरीका महिला, कमाउने थलो बनेको छ महोत्सव र मेला – Nepal Press

दुनाटपरी उद्योगमा रमाउँदै बेलौरीका महिला, कमाउने थलो बनेको छ महोत्सव र मेला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन् ।

गत मंसिरयता दुनाटपरी बनाउन थालेका उनीहरुलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ । कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिञ्ज संघले आयोजना गरेको मेलामा उनीहरुको दैनिकी व्यस्त बनाएको छ ।

‘मेला प्रदर्शनी कक्ष थापेका छौँ । गाउँमै उत्पादित दुनाटपरी बेच्छौँ’, उनले भनिन्, ‘दुनाटपरी निकै रुचाइएको छ । यसले बजारीकरणमा टेवा पुर्याएको छ ।’ विभिन्न आकारको दुनाटपरी उत्पादन गरेर बिक्रीका लागि राखिएको छ । गाउँ नजिकैको रामघाट सामुदायिक वनबाट पात सङ्कलन गरेर दुनाटपरी तयार गर्ने गरिन्छ ।

‘दुनाटपरी बनाउनेमा कार्यमा दश महिला संलग्न छन् । बिहानै जङ्गल गएर सालको पात टिपिन्छ’, उनले भनिन्, ‘पात सुकाएर पछि सिन्काले जोडिन्छ । त्यसपछि मेसिन राखेर दुनाटपरीको आकार दिइन्छ ।’ बैतडीको दोगडाकेदार गाउँपालिका–७ का टेकबहादुर कार्कीले पनि महेन्द्रनगरको महोत्सवमा डोको, सुप्पो, दलहन, अचार, घ्यू, महलगायत स्थानीय उत्पादनको प्रदर्शनी कक्ष राखेका छन् ।

उनले बैतडीमा निगालोबाट तयार पारिका डोको, सुप्पा बिक्रीका लागि महेन्द्रनगर ल्याएका छन् । ‘कैलाली कञ्चनपुरका मेला महोत्सवमा बिक्री गरिन्छ । बैतडीमा उद्यु उद्यममा उत्पादन गरिएका वस्तु बिक्री गरिन्छ’, उनले भने, ‘कतिपय वस्तु स्थानीयबाट सङ्कलन गरेर ल्याउँछौँ । प्रचारप्रसार राम्रो भएको छ । बिक्री पनि राम्रै छ ।’

संघको आयोजनामा यही फागुन २१ गतेदेखि महेन्द्रनगरमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ जारी छ । मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याएको सङ्घका अध्यक्ष पिताम्बर जोशीले विश्वास व्यक्त गरे ।

‘स्थानीयस्तरमा उत्पादित खाद्यान्न, कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकतामा राखिएकोे छ’, उनले भने, ‘दिनहुँ सयौँले अवलोकन गरिरहनुभएको छ । यसले यहाँ उत्पादनको प्रचारप्रसार भइरहेको छ ।’ पहिलो पटक मेलामा थारु समुदायको मौलिक परिकारसहितको थारु गाउँ पनि राखिएको छ । त्यहाँ थारु मौलिक पहिचान झल्किने सङ्ग्रहालय तथा परिकार ढिक्री, घुँगी, माछा, सुँगुरको मासुलगायत छन् ।

‘मेला महोत्सवमा थारु परिकार बेच्न लागेको आठ वर्ष भयो । एक याममा तीन÷चार लाख आम्दानी हुन्छ’, कैलालीको जोशीपुर गाउँपालिका–६ सिमरीका अञ्जुराज डगौँरा भन्छन्, ‘मेला महोत्सव हाम्रो लागि कमाउने थलोजस्तै बनेको छ ।’ -रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *