सिंगै देश झुक्याउने पञ्चाङ्ग समिति पुनर्गठन गरौं, तीनथरी ल्होसारबारे यी तीन तथ्य बुझौं – Nepal Press

सिंगै देश झुक्याउने पञ्चाङ्ग समिति पुनर्गठन गरौं, तीनथरी ल्होसारबारे यी तीन तथ्य बुझौं

पञ्चाङ्ग निर्णायक समितिको लापरवाही र अज्ञानताको कारण आज २०८० फागुन २८ गतेलाई ग्याल्पो ल्होसार भनेर सरकारी क्यालेण्डरमा राखिदिँदा राज्यको एक दिन अनावश्यकरुपमा खेर गएको छ ।

ग्याल्पो ल्होसार एक महिना अघि नै माघ २७ गते नै शेर्पा समुदायले मनाइसकेका छन् । हिन्दू समुदायले दशैं मनाएको एक महिनापछि दशैं बिदा दियो भने मजाक हुँदैन ? ठीक त्यस्तै हो यो प्रकरण पनि ।

यस वर्ष सोनाम ल्होसार, ग्याल्पो ल्होसार र चिनियाँ ल्होसार एकैदिन परेको थियो । यस्तो संयोग प्रत्येक तीन वर्षमा आइपर्छ । यति कुरा पञ्चाङ्ग निर्णायक समितिले थाहा नपाएका कारण आज सिंगो राज्य झुक्कियो । यसको जिम्मेवारी कसले लिने त ?

समितिको यस्तै चरम अज्ञानताको कारण राष्ट्रपतिदेखि सबै विशिष्ट व्यक्तित्वहरुले शेर्पा समुदायले एक महिनाअघि नै मनाइसकेको चाडको शुभकामना दिनुभयो । सरकारले सार्वजनिक बिदा दियो । एकदिनको बिदाले समग्र आर्थिक तथा शैक्षिक क्षेत्रमा कति असर पर्छ भन्ने हेक्का राखिनुपर्छ ।

ल्होसारबारे विशेषगरी तीनवटा कुरा थाहा पाइराख्नुपर्छ । गुरुङ समुदायले मनाउने तमु ल्होसार प्रकृति पर्व हो । हिउँदे र बर्खा सिजनको बीचमा अर्थात सबैभन्दा लामो दिन सुरु भएकै दिन तमु ल्होसार मनाइन्छ ।

त्यस्तै तामाङ, ह्योल्मोलगायत उच्च हिमाली क्षेत्रका अधिकांश आदिवासी जनजाति समुदायले मनाउने सोनाम ल्होसार हो । सोनाम ल्होसार भनेको मजदूरको अर्थात श्रमिकको पर्व भनेर बुझिन्छ । चाइनिज ल्होसार पनि यसै दिन पर्छ ।

यसबाहेक विशेषगरी तिब्बतका राजाको पर्व भनेर ग्याल्पो ल्होसारलाई बुझिन्छ । यो दलाइ लामाको पर्व हो । हाम्रो नेपालका शेर्पा समुदायले पनि यो पर्वलाई एडप्ट गरेका छन् । खासमा नगरेको भए पनि हुन्थ्यो ।

यी तीन मुख्य ल्होसार प्रत्येक तीन वर्षमा एकैदिन पर्छन् । यसपालि माघ २७ गते एकैदिन हामी सबैले मनाइसकेका हौं । तर सरकारी क्यालेण्डरमा फागुन २८ गते ग्याल्पो ल्होसार भनेर राखिएकाले सिंगो देश झुक्कियो ।

सिंगो देश झुक्किएको यो घटना सामान्य होइन । विशिष्ट व्यक्तिहरुलाई मजाकको पात्र बनाइएको यो प्रकरणबाट हामीले पाठ सिकेर पञ्चाङ्ग निर्णायक समितिको पुनर्गठन गरिनुपर्छ । त्यो समितिमा ल्होसार मनाउने समुदायका संस्कृतिविद तथा विज्ञको समेत प्रतिनिधित्व गराइएको भए आज देश झुक्किने थिएन ।

यसबाट पाठ सिकेर अब पञ्चाङ्ग निर्णायक समितिलाई पुनर्गठन गरि भिन्न संस्कृतिका विज्ञलाई पनि समावेश गरौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबाट पाठ सिकेर अवश्य यो त्रुटी सच्याउन पहल गर्नेछ ।

(लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.खेन्पो छिमे छिरिङ (ल्हारक्याल लामा) बौद्ध धर्म दर्शनका विज्ञ हुन्)


प्रतिक्रिया

2 thoughts on “सिंगै देश झुक्याउने पञ्चाङ्ग समिति पुनर्गठन गरौं, तीनथरी ल्होसारबारे यी तीन तथ्य बुझौं

  1. जाति अनुसारको गुरूपुरोहितहरूलाई तु समावेश गरि पुनर गठन होस् ।

  2. यस्तो कमेन्ट २८गते अगाडी नै आएको भए त सरकारले बिदा क्यान्सिल गर्ने सक्थे होलानी 🤔 जसरी सरकारले फागुन १ गते जनयुद्ध दिवस क्यान्सिल गरेको थियो जस्तो लाग्छ।समय मै छलफल मा ल्याइएको भए सान्दर्भिक हुने थियो कि 🤗

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर