बिहानसम्म क्रिकेटको समाचार हेर्दै थिए व्यञ्जनकार, दिउँसो अस्ताए
१० पटक वडाध्यक्ष जितेका व्यञ्जनकारलाई बालेनले मानेका थिए राजनीतिक गुरु
काठमाडौं । ५० वर्षसम्म निरन्तर वडाध्यक्ष बनेका कीर्तिमानी राजनीतिज्ञ नरसिंह व्यञ्जनकार सधैँका लागि अस्ताएका छन् । दमको समस्याबाट पीडित उनको हिजो दिउँसो नर्भिक अस्पतालमा देहावसान भएको हो ।
पारिवारिक स्रोतका अनुसार ८२ वर्षीय व्यञ्जनकारको स्वास्थ्यमा हिजो बिहानसम्म कुनै गम्भीर समस्या थिएन । क्रिकेटका पारखी उनी नेपाल र हङकङबीच हुने टी-२० खेलमा चासो दिएर समाचार हेरिरहेका थिए । यद्यपि, हिजोको खेल ८ ओभरपछि वर्षाका कारण रद्द भएको थियो ।
व्यञ्जनकार दिउँसो नियमित थेरापीमा जाने गरेका थिए । त्यसै अनुसार हिजो पनि निस्कने तयारी थियो । तर अचानक दम बढेर उनी छट्पटाए । त्यसपछि ट्याक्सी बोलाएर छोराहरूले अस्पतालतिर लगे । नर्भिक अस्पतालमा लैजाँदा उनी पूर्ण अचेत भइसकेका थिए । चिकित्सकहरूले उनको कृत्रिम श्वासप्रश्वास दिने प्रयास गरे । तर, सफल भएन । त्यसपछि उनलाई मृत घोषणा गरियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, व्यवसायी विनोद चौधरी लगायतले सामाजिक सञ्जालमा व्यञ्जनकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
को हुन् नरसिंह व्यञ्जनकार ?
ललितपुर महानगरपालिका वडा नम्बर १० का भूतपूर्व वडाध्यक्ष हुन् व्यञ्जनकार । एक पटक–दुई पटक होइन, उनले १० पटक वडाध्यक्ष जितेर कीर्तिमान राखेका थिए । यद्यपि, गत वर्षको स्थानीय चुनावमा भने उनी आफ्नै भतिज रविन व्यञ्जनकारसँग पराजित भए ।
५० वर्षदेखि व्यञ्जनकारले कुनै पनि स्थानीय चुनाव लड्न छुटाएनन् । पहिलो पटक २०२९ सालमा अध्यक्ष जितेपछि उनको स्वतन्त्र राजनीतिक यात्रा अगाडि बढेको थियो । पञ्चायतमा वडाध्यक्ष बने पनि २०३६ सालको जनमतसंग्रहमा उनी बहुदलको पक्षमा उभिए । २०३९ सालमा निर्विरोध वडाध्यक्ष भए तर एक वर्षपछि प्रधानपञ्चसँग कुरा नमिलेर राजीनामा दिए । रिक्त स्थानमा एक वर्षपछि भएको चुनावमा फेरि उठे र जिते ।
उनको विजय यात्रा प्रजातन्त्र पुनर्स्थापनपश्चात पनि रोकिएन । ४६ सालपछि उनी कांग्रेस नेताहरूसँग नजिकिए । २०४९ सालको स्थानीय चुनावमा कृष्णप्रसाद भट्टराईले उनलाई टिकट दिलाए । व्यञ्जनकार निर्विरोध भए । २०५४ सालमा उनले कांग्रेसको टिकट पाएनन् । उनले स्वतन्त्र चुनाव लडे र फेरि जिते ।
२०५९ साल शाही शासनकालमा व्यञ्जनकार मनोनीत वडाध्यक्ष बने । २०७४ सालको स्थानीय चुनाव पनि जित हासिल गरे । अन्तिम पटकको चुनावमा भने व्यञ्जनकारले पराजय सहनुपर्यो । उनी २८२ मतान्तरले कांग्रेस उम्मेदवार रविन व्यञ्जनकारसँग पराजित भए ।
नेपाल प्रेससँगको अन्तरवार्तामा व्यञ्जनकारलाई २०८४ सालको चुनाव लड्न सक्ने सम्भावनाबारे सोधिएको थियो । उनले यस्तो जवाफ दिएका थिए :
‘अर्को चुनावमा शरीर कस्तो हुन्छ, त्यसले अर्थ राख्छ । कामै गर्न नसक्ने भएँ भने त पद लिएर मात्रै भएन । राति कुनै मान्छेलाई केही समस्या पर्ला, दौडिएर जानुपर्यो । दश–पाँचको अफिस गरेर मात्रै पुग्दैन नि ! मैले सक्ने स्थिति रह्यो भने लडिन्छ । तर, अहिले नै मान्छेहरू काम गर्न सक्दैनन् भनेर हल्ला गरिरहेका छन् । काम गर्न सक्छु कि सक्दिनँ भनेर जनतालाई सोध्ने हो, हल्ला गरेर हिँड्ने होइन ।’
बालेनका राजनीतिक गुरु
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले व्यञ्जनकारलाई आफ्नो राजनीतिक गुरु मान्ने गरेका छन् । उनी सरसल्लाह लिन व्यञ्जनकारलाई भेटिरहन्थे । गत स्थानीय चुनावमा उनी व्यञ्जनकारको वडामा मतगणना प्रतिनिधि बन्न पुगेका थिए । तर, निर्वाचन आयोगका कर्मचारीले उनलाई प्रतिनिधि बस्न दिएनन् ।
व्यञ्जनकारका छोरा कुमार बेन अहिले मेयर बालेनसँग अति निकट छन् । मेयरको चुनावदेखि नै कुमारले बालेनलाई सघाउँदै आएका थिए । अहिले पनि उनी बालेका दाहिने हातको रूपमा चिनिन्छन् । यद्यपि, कुनै औपचारिक पद लिएका छैनन ।