नेपाली क्रिकेटमा वर्चस्व जमाउँदै रुपन्देही, खेलाडी उत्पादनसँगै थपिँदै भौतिक संरचना
रुपन्देही । नेपालको क्रिकेटका अधिकांश खेलाडी उत्पादन गर्ने जिल्ला हो रुपन्देही । क्रिकेट खेल र खेलाडी जन्माउने जिल्लाको पहिचान बनाएको रुपन्देहीबाट नेपाली क्रिकेटका दर्जनौँ खेलाडीहरू उत्पादन भएका छन् । राष्ट्रिय टोलीमा धेरै खेलाडी उत्पादन हुन थालेसँगै रुपन्देही अहिले क्रिकेटमय छ ।
भैरहवामा निर्माणाधीन सिद्धार्थ रंगशाला छ भने तिलोत्तमामा अहिले निजी क्षेत्रबाट पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला खेल्नलाई तयार भइरहेको छ । साढे ५ विगाहमा बन्दै गरेको यो रंगशाला ४० करोड लगानीमा बन्दैछ ।
भैरहवामा सिद्धार्थ रंगशाला छँदै छ यसमा केही काम बाँकी रहे पनि अहिलेसम्मका खेल यहीँ हुँदै आएका छन् । सिद्धार्थ रङ्गशालामा अहिले छ वटा पिच रहेका छन् । करिब साढे ७ बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालामा आफ्नै एकेडेमीसमेत तयार पार्ने लक्ष्यसहित रुपन्देही क्रिकेट सङ्घले अहिले तीन सिमेन्ट पिच र दुई टर्स पिच निर्माण गरिसकेको छ ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार त्यसमध्ये तीनमा रातो माटो तीन वटामा पहेँलो माटो प्रयोग गरिएका पिच छन् । सैनामैनामा पनि ठूलो मैदान बन्दैछ । अहिलेका राष्ट्रिय खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छवि बनाउँदै आफ्नो शहरसहित देशलाई नै चिनाएका छन् ।
क्रिकेट खेलका जानकारहरूका अनुसार वि.सं २०४० ताका काठमाडौं बाहिर रुपन्देहीको भैरहवासहित तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको हो ।
यहाँ ४० को दशकदेखि निरन्तर दक्ष क्रिकेटर जन्माउँदै र यसको नेतृत्व गर्दै आएको इतिहास छ । यहाँबाट सञ्जय गुरुङ, मनोज शाही, जगत टमाटा, अनुप थापा, सत्यजीत सरकारलगायत आदि ५० को दशकका रुपन्देहीका नाम चलेका क्रिकेटर हुन् । जगत राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक र सञ्जय अन्तर्राष्ट्रिय ‘अम्पायर’ हुन् । गुरुङ अहिले प्रदेश क्रिकेट संघको अध्यक्ष छन् । त्यसयता राजु खड्का, सञ्जीव जोशी, दुर्गा सिंह, दुर्गा सेन, अमित श्रेष्ठ, दलबहादुर थापा, प्रशान्तविक्रम मल्ल, देवश कर्ण पनि जिल्लाबाटै क्रिकेटमा पकड जमाए । तीनै जनाले रुपन्देहीसँगै देशका पनि नाम चम्काए । प्रशान्तविक्रम त क्यानको पदाधिकारी बनेर पनि काम गरे । तेस्रो पुस्ताको रूपमा शक्ति गौचन, वसन्त रेग्मी, अमृत भट्टराई, कृष्ण कार्की, सागर पुन, आकाश गुप्ता र अन्तिम थापा राष्ट्रिय टोलीबाट खेलेका खेलाडी हुन् । यिनीहरूमध्ये रुपन्देहीका लागि क्रिकेटको धरोहरमा पर्छन् गौचन र रेग्मी । गौचन अहिले खेलाडी उत्पादनमा लागेका छन् ।
शक्तिका बुवा भारतीय सेनामा कार्यरत थिए । उनी उतै जन्मेका हुन् । भारतको कलकत्तामै जन्मिएर हुर्किएका उनले सानैदेखि क्रिकेट खेल्न सिकेका हुन् । नेपाल आएपछि उनले रुपन्देहीलाई आधार मानेर खेल्दै गए । भौतिक पूर्वाधार अभावका बीच युवाहरू लगावका कारण रुपन्देहीका क्रिकेट फस्टाएको र यसलाई अन्य जिल्लामा बस्ने खेलाडीले राम्रो मानेको शक्तिको भनाइ छ ।
‘यो क्षेत्र क्रिकेटका लागि महत्त्वपूर्ण भएको छ, यहाँबाट उत्पादित खेलाडी सफल भएका हुन्, आवश्यक पूर्वाधार जुट्न नसक्दा पनि खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए । क्रिकेट सुरु गर्दा खेलकुदका लागि चाहिने स्रोत–साधन थिएन । तर खेलप्रतिको आकर्षण युवामा बढ्दो थियो’ उनले भने ।
खेल खेल्ने समयमा राष्ट्रिय टोलीबाट विभिन्न देश तथा आन्तरिक प्रतियोगितामा भाग लिएर उनले सन्न्यास लिएपछि यसैको प्रवर्द्धनमा लागेका छन् । शक्तिले रुपन्देहीमा नै एकेडेमी सञ्चालन गरी विद्यालय तहदेखि क्रिकेट खेलाडी उत्पादन गर्न जुटेका छन् भने रुपन्देहीमा बनेको एक्ट्राटेक क्रिकेट मैदानको ब्राण्ड एम्बेस्डर हुन् ।
त्यसैगरी अहिले राष्ट्रिय टोलीका सदस्य रहेका कुशल भुर्तेल, कुशल मल्ल, देव खनाल, सुशन भारी रुपन्देहीकै खेलाडी हुन् । यीमध्ये देव यू–१९ टोलीका कप्तान हुन् । यिनीहरू सबै शक्तिकै प्रशिक्षणबाट अगाडि बढेका हुन् । भुर्तेल, मल्ल, खनाल र भारीको टीम अहिले जमेको छ ।
रुपन्देही जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष तथा क्यानका निवर्तमान काबा महासचिव प्रशान्तविक्रम मल्ल रुपन्देही क्रिकेट खेलाडी उत्पादन गर्ने कारखानाजस्तै बनेको बताउँछन् ।
‘अहिले देशको अधिकांश क्रिकेट खेलमा पुग्ने यहाँको खेलाडीको वर्चस्व रहेको छ, ८० जनाभन्दा बढी खेलाडी अहिले फिल्डमै छन्, पहिले खेलेका पनि उस्तै चर्चामा र नेतृत्वमा छन्’ उनले भने ।
विसं २०४७ देखि २०५२ सम्म भैरहवाले पाँच वर्ष लगातार क्रिकेट प्रतियोगिता गर्दै आएको यहाँका पूर्वअधयक्ष प्रेम सेन्चुरी बताउँछन् । त्यसपछि २०५२ मा नै जिल्ला क्रिकेट संघको संस्थापक अध्यक्ष भएपछि यसले संस्थागत विकासमा गति लिन थालेको हो ।
‘त्यसपछि रुपन्देहीको क्रिकेटले फड्को मार्न थालेको हो, अहिले राष्ट्रिय टोलीमा हाम्रै जिल्लाबाट धेरै खेलाडी सहभागी छन् । यो भन्दा धेरै खुसी रुपन्देहीवासीलाई के हुन्छ ?’ उनले भने ।
क्रिकेट संघका अनुसार जिल्लामा अहिले र पुराना गरेर ६६ जना राष्ट्रिय खेलाडी छन् । ४ जना क्रिकेट प्रशिक्षक र ४ जना अम्पायर रहेका छन् ।
आवश्यक पूर्वाधार निर्माण भएको खण्डमा क्रिकेटले यस क्षेत्रमा विकासको थप गति लिनेमा रूपन्देहीबासीले विश्वास लिएका छन् । राष्ट्रिय क्रिकेट टोलीले हात पारेको सफलताले क्रिकेट प्रेमी मात्र नभएर देशवासीलाई समेत खुशी छर्दै आइरहेको छ । पछिल्लो समय नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दै गइरहेको छ ।
संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार रुपन्देहीमा क्रिकेटको विकास छपियाबाट सुरु भएको हो । त्यहाँ विस २०४५–४६ तिर दलबहादुर थापासहितले यो खेल सुरु गरेका हुन् । उनले स्मरण गरे ‘छपियाको दयानगरमा क्रिकेट मैदान थियो । त्यहाँ पिच बनाउने धुलो नउडोस् भनेर, गोबर माटोले लिपिन्थ्यो । चुना छर्केर रेखा कोरिन्थ्यो । त्यसपछि छपियाबाट क्रिकेट खेल भैरहवातर्फ आएको हो ।’
उनका अनुसार त्यो बेला भैरहवा लुम्बिनी खुकुरी क्लब, तिरुपति क्लब, गल्लामण्डी क्लब र एयरपोर्टका बीच क्रिकेट प्रतियोगिता हुन्थे ।
अध्यक्ष थापाले भने, ‘हिजोको त्यो संघर्ष गरेर बनाएको इतिहास अहिले निकै खुसी लाग्छ तर जति यसको भौतिक संरचना विकास हुनुपर्ने हो त्यो भएको छैन, खेलाडीले कुनै सुविधा पाएका छैनन् तर रुपन्देही क्रिकेटमा अब्बल बन्यो । जति पनि यहाँबाट खेलाडी माथि पुगे त्यो सफलता हात पारे, त्यो सब आफ्नै परिश्रम र मिहिनेतको फल हो, त्यो यहाँको सम्पत्ति हो’ उनले थपे ।
लुम्बिनी क्रिकेट संघका अध्यक्ष सन्जय गुरुङका अनुसार यू–१९, महिला क्रिकेटरदेखि अन्तर्राष्ट्रिय अम्पायर, प्रशिक्षकदेखि राष्ट्रिय टोलीमा खेल्ने धेरै खेलाडी रुपन्देहीले जन्माएको र पछिल्लो समयमा पनि रुपन्देहीमा विद्यालय तहबाटै अब्बल क्रिकेटर तयार भइरहेका छन् । धेरै विद्यालय तहमै यसको प्रतियोगिताले सहज बनाएको उनको भनाइ छ ।
अहिले रुपन्देहीमा एक्स्ट्राटेक क्रिकेट मैदान बनेको छ । यसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता दिएर प्रतियोगिता सुरु गर्नसक्ने अवस्थामा छ भने औपचारिक उद्घाटनसँगै खेल पनि सोमबारबाट सुरु हुने भएको छ । यो रंगशालाले रुपन्देहीमा क्रिकेट खेलाडी उत्पादन गर्न धेरै नै सहयोग पुग्ने यहाँका क्रिकेटप्रेमीहरु बताउँछन् ।
यसअघि भैरहवास्थित सिद्धार्थ रंगशाला क्रिकेट मैदानको रूपमा विकास भइरहेको छ । तर लामो समय यसले पूर्णता पाउन नसकेको भन्दै आलोचना भएको छ । सरकारी तहबाट आउने बजेट पूर्ण नआउने र समयमै काम हुन नसकेको तर निजी क्षेत्रबाट तिलोत्तमाको मैदान १ वर्ष नहुँदै धेरै काम सकिएको क्रिकेट संघका पूर्वकावा महासचिव प्रशान्तविक्रम मल्ल बताउँछन् ।
जिल्लामा क्रिकेट खेलको गतिविधि र खेलाडीको अन्तर्राष्ट्रिय सहभागिताको हिसाबले सबैभन्दा अगाडि रहेको र रुपन्देही क्रिकेट संघ नेपालकै सबैभन्दा क्रियाशील जिल्ला संघ र यहाँबाट खेलाडी उत्पादन धेरै भइरहेका मल्लले बताए ।
रुपन्देही क्रिकेट संघ नेपालकै सबैभन्दा क्रियाशील जिल्ला संघ रहेको र यसैकारण यहाँबाट खेलाडी उत्पादन धेरै भइरहेको मल्ल बताउँछन् । उनका अनुसार अहिले रुपन्देही जिल्लाभित्र राम्रो खेल्न सक्ने खेलाडीका लागि रोजगारीको कुनै समस्या छैन ।
‘यहाँका खेलाडीहरू नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्कूल–कलेजहरूमा रोजगारी पाइरहेका छन्, उनले भने ‘जसले गर्दा उनीहरू खेललाई निरन्तरता दिँदै आर्थिक रूपमा पनि सबल भइरहेका छन् । रुपन्देहीका खेलाडीहरू विभागीय टोलीका कर्मचारी भई राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । त्यसैले प्रगति गरिरहेका छन् ।’
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले रुपन्देहीलाई क्रिकेटको हबका रूपमा विकास गर्न सकिने प्रशस्त आधारहरू तय भएको र निजी क्षेत्रले समेत यसमा लगानी गरेकाले धेरै राम्रो भएको बताए ।
‘यसै पनि नेपाली क्रिकेटको इतिहासमा रुपन्देहीका खेलाडीको वर्चस्व रहेको छ, त्यसमाथि अहिले थपिएका खेलाडी, भौतिक संरचनाको विकासले त्यसलाई थप संस्थागत बनाउने छ, प्रदेशले त्यसलाई संस्थागत बनाउन थप साथ दिनेछ’ उनले भने ।
रुपन्देहीको क्रिकेटलाई यहाँ आयोजना गरिएको लिजेन्ड्स कपले अझै बलियो बनाउने भएको छ । देशकै क्रिकेटका हस्तीहरू यहाँ सहभागी हुनेछन् भने सबै खेल क्षेत्रका पत्रकारहरूसमेत आएका छन् । यसले पनि यहाँको महत्वलाई बढाएको छ ।
क्रिकेटका सबै हस्ती सोमबारको लिजेन्ड्स कपमा
सोमबार तिलोत्तमामा टी–१० संरचनामा हुने लिजेन्ड्स कप प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार वटा टोलीले प्रतिष्पर्धा गर्दैछन् ।
नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन् । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् ।
पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन हो, रेस्ट अफ नेपाल । विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरू रहेका छन् ।
हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरू रहेका छन् ।
नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन् ।
त्यस्तै गायक प्रमोद खरेलले रेष्ट अफ नेपाल, बढी पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्नेछन् । प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रूपमा यति एयरलायन्सले सहयोग गरेको छ ।