काकाकुल हलेसीकाे प्यास मेटाउन लागिपरेकी मेयर विमला – Nepal Press
उदाहरणीय महिला जनप्रतिनिधि–१

काकाकुल हलेसीकाे प्यास मेटाउन लागिपरेकी मेयर विमला

विराटनगर । दानबहादुर राई खोटाङको च्यास्मीटार गाउँ पञ्चायतमा लामो समय प्रधानपञ्च भए । उनै दानबहादुरकी सातौं सन्तान विमला गणतन्त्रमा बाबुकै उत्तराधिकारी छिन् ।

३८ सालमा जन्मिएकी विमला एक दशक गैरसरकारी संस्थाको जागिरे भइन् । विमलाकै शब्दमा भन्ने हो भने ‘एनजीओको झोला’ बोकिन् । एनजीओको झोला बोक्न छाडेपछि भने उनी राजनीतिमा होमिइन् ।

ग्रामीण विकासमा स्नातकोत्तर पूरा गरेकी राईले कानूनमा स्नातक पनि अध्ययन गरेकी छन् । बुबाबाट प्रभावित भएर कांग्रेसको राजनीतिमा जोडिएकी विमला २०७४ सालको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।

२०७९ को निर्वाचनमा भने उनले मेयरको टिकट पाइन् । उनले निर्वाचनमा ६ हजार ३१७ मत पाइन् । उनका प्रतिस्पर्धी ५ हजार ९६६ मतमा रोकिए ।

विमला मेयर निर्वाचित भएको नगरपालिका धार्मिक पर्यटनको केन्द्र हो । तर, यहाँ पानीको हाहाकार छ । उपमेयर भएदेखि नै नगरवासीलाई पानी खुवाउने सपना देखेकी विमलाले आंशिक सफलता हात पारेकी छन् ।

अहिले ४ वटा वडामा दूधकोशीको पानी लिफ्टिङ प्रविधिबाट रिजर्भ टयांकीमा झरेको छ । घरघरमा धारा जडान भएका छन् ।

वडा नम्बर १ बाहुनी डाँडा, वडा नम्बर २ दिक्वा, वडा नम्बर ३ च्यास्मीटार र वडा नम्बर ४ बडहरे दूधकोशीको पानी पुगेको नगरपालिकाले जनाएको छ ।

‘टोल बस्तीमा पानी पुगेको छ । तर, सबै वडामा खानेपानीको समस्या छ । दूधकोशीको पानी गाउँमा पुर्‍याउने सपना छ । यसका लागि संघीय सरकारसँगको सहकार्यमा काम भइरहेको छ’, मेयर राईले सुनाइन्, ‘हाम्रो पालिकामा सुख्खा क्षेत्र बढी छ । खानेपानीको अभावलाई समाधान गर्न दूधकोशी र सुनकोशीको पानी लिफ्टिङ गर्ने काम अहिले सङ्घीय सरकारले गरिरहेको छ ।’

मेयर राईले अब सबै सुख्खा क्षेत्रमा खानेपानी पुर्‍याउने आफ्नो योजना रहेको सुनाइन् । खानेपानी पुर्‍याएपछि त्यहाँ पर्यटन प्रवर्द्धन र आन्तरिक उत्पादनमा जोड दिइने उनले बताइन् ।

‘हलेसीमा पर्यटन व्यवसाय बढाउन किराँतको उद्गमस्थललाई अझ प्रमोट गर्नेछु’, मेयर राईले भनिन्, ‘म नगरपालिकामा आएपछि भौतिक पूर्वाधार निर्माण पनि अघि बढेको छ । एक वर्षको अवधिमा ४ वटा वडा कार्यालय भवन बनेको छ । ४ वटा वडा कार्यालय भवन निर्माणाधीन छ ।’

पालिकामा ११ वटा वडा रहेका छन् । नगरपालिकाभित्र ९० वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा कक्षा ४ भन्दा माथिका विद्यार्थीहरूका लागि नगरपालिकाले एकीकृत परीक्षा प्रणाली सुरु गरेको छ । गएको शैक्षिक सत्रबाट सुरु भएको एकीकृत वार्षिक परीक्षा प्रणालीले विद्यालयको स्तर र शिक्षाको अवस्था पत्ता लागेको उनको भनाइ छ ।

उनका अनुसार पालिकाले नै परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोक्छ । फरक विद्यालय र फरक केन्द्र तोक्दा विद्यार्थीले परीक्षामा लेखेको उत्तरपुस्तिका पनि गोप्य रूपमा चेकजाँच गरिन्छ । आफूले पढाएका विद्यार्थीको उत्तरपुस्तिका कसले जाँच गर्‍यो भनेर शिक्षकले समेत थाहा पाउँदैनन् ।

‘यसले विद्यालयको अवस्था कहाँ छ भन्ने कुरा थाहा भएको छ । देखिएको ग्याप पूरा सहज भएको छ’, मेयर राईले भनिन् । तर, यसरी परीक्षा लिँदा अघिल्लो वर्ष अधिकतम २२ प्रतिशतमात्रै विद्यार्थी पास भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको शिक्षा शाखाका अनुसार सबैभन्दा कम १० प्रतिशतमात्रै विद्यार्थी पास भएको विद्यालय पनि फेला परेका छन् ।

आफैंले परीक्षा लिएर उत्तरपुस्तिका जाँच गर्ने विद्यालयमा १०० प्रतिशतसम्म विद्यार्थी पास भएका थिए । परीक्षा केन्द्र परिवर्तन गरी फरक केन्द्राध्यक्ष तोक्दा फेल हुने विद्यार्थीको संख्या अत्यधिक बढेको पाइएको शाखाले जनाएको छ ।

‘यसले हाम्रो शिक्षाको अवस्था थाहा भयो । त्यसपछि सुधारको योजना बनाउन सहज भयो’, मेयर राईले भनिन्, ‘वार्षिक एकीकृत परीक्षा प्रणालीले गर्दा शिक्षकहरूलाई कक्षा कोठामा गएर पढाउनैपर्ने बाध्यता सृजना भएको छ । यसले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सहयोग पुग्यो ।’

अहिले विद्यालय र शिक्षकहरूका बीचमा आन्तरिक प्रतिस्पर्धा गर्नु नै पर्ने दबाब भएको उनको भनाइ छ । राईले भनिन्, ‘म मेयर भएपछि यो प्रणाली सुरु गरिएको हो । एक वर्षमै नतिजा फरक हुनेवाला छ । यसलाई निरन्तरता दिइनेछ ।’

उनका अनुसार आफू मेयर भएपछि ९ वटा सामुदायिक विद्यालयको भवन निर्माण सुरु भएको छ । त्यस्तै ९० जना शिक्षकको तहगत दरबन्दी मिलान गरिएको छ ।

किसानको तरकारी नगरपालिकाले किन्ने

किसानले उत्पादन गरेको तरकारीको बजारीकरण गर्न नगरपालिकाले हलेसी कृषि मार्ट स्थापना गरेको छ । किसानलाई आयआर्जनसँग जोड्न नपाले मार्ट स्थापना गरी उत्पादित तरकारी किन्न थालेको हो ।

नगरपालिको आर्थिक वर्ष २०७९/८० मा मार्ट सञ्चालन गर्न १८ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा १९ लाख ९४ हजार ८३१ रुपैयाँ विनियोजन गरेपछि कृषि मार्ट र चिस्यान केन्द्र निर्माण भएको छ ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष कमल गिरीले नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका तरकारी कृषि मार्टमा लगेर बिक्री गर्ने व्यवस्था मिलाइएको बताए ।

केही दिनअघि नगरपालिकाले कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको छ । कृषिलाई आम्दानीसँग जोड्न र कृषि पेसाप्रतिको हीनताबोध हटाउन किसानले उत्पादन गरेका तरकारी नगरपालिका आफैंले किन्ने व्यवस्था मिलाएको मेयर राईले बताइन् ।

उनका अनुसार हलेसी आउने पर्यटकले यहाँ उत्पादन भएका अर्गानिक तरकारी पनि लैजाऊन् भनेर मार्ट सञ्चालन गरिएको हो । पालिकामा अहिले ५०० घरधुरी तरकारी खेतीमा संलग्न छन् ।

तरकारी उत्पादनका लागि पालिकाले महिला कृषि सहकारी र आमा समूह गठन गरेको छ । अहिले २०५ वटा आमा समूह तरकारी खेतीमा लागेको नगरपालिकाको तथ्याङ्क छ । यस्तै ८ वटा महिला कृषि सहकारीले समेत तरकारी खेती सुरु गरेका छन् । ती सहकारीमा ५०० भन्दा बढी महिला आबद्ध छन् ।

नगरपालिकाले उनीहरूलाई कृषि प्रविधिसँगै क्षमता विकाससम्बन्धी तालिम समेत दिन थालेको छ । यस्ता समूह र सहकारीलाई बीउ पूँजीसमेत उपलब्ध गराउन बजेट दिन थालिएको छ ।

‘रासायनिक मलले माटोमात्रै बिगारेन, मानिसको स्वास्थ्यसमेत बिगार्‍यो । यसैले हामीले रासायनिक मलको साटो झोल मल र कम्पोस्ट मलको प्रयोग बढाएका छौं’, मेयर राईले भनिन्, ‘कम्पोस्ट मल बनाउने प्रविधि किसानलाई हस्तान्तरण गरेका छौं ।’

पर्यटक आउने भए पनि हलेसीमा दूधको अभाव थियो । दूध अभाव हटाउन पालिकाले भैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले दुइटा माउ भैंसी पाल्ने प्रत्येक परिवारलाई एउटा अनुदानमा दिने नीतिगत निर्णय गरेको छ । पालिकाका अनुसार अनुदानमा दिएको भैंसी कम्तीमा ३ वर्षसम्म बेच्न नपाउने नियमसमेत बनाइएको छ ।

किराँत संस्कृति जोगाउन कपास खेती

हलेसी तुवाचुङ किराँतीहरूको बसोबास क्षेत्र हो । किराँत संस्कृतिसँग कपास र कपासबाट बनेका कपडा जोडिन्छन् । किराँतीहरूले लगाउने खाँडीको कपडाको तान बुन्ने इतिहाससँग यो नगरपालिकाको नाम जोडिन्छ ।

तायामी खियामी दिदीबहिनीहरूले तानबाट कपडा बुन्ने युगको थालनी गरेको किंवदन्ती छ । यिनै तायमी खियामी दिदीबहिनीहरूको नामबाट तुवाचुङ भएको जनविश्वास छ ।

किराँती संस्कृति जोडिएकाले हलेसी नगरपालिकामा कपास खेती प्रवर्द्धन गर्न थालिएको छ । कपास खेती हराएर गएको थियो । अहिले पुनः सुरु भएको छ ।

पालिकाले बेसार र गहत खेतीमा समेत प्रोत्साहन दिन थालेको छ । किसानलाई अनुदानमा बीउ र प्रविधि दिन थालेपछि सुख्खा ठाउँमा समेत उत्पादन हुने बदाम र गहतको उत्पादन बढेको छ ।

११ वटै वडामा बर्थिङ सेन्टर

कोशी प्रदेशको पहाडी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएको छ । ती बर्थिङ सेन्टरमा आवश्यक भौतिक पूर्वाधार पुर्‍याइएको छ । पालिकाले अहिले ५ बेडको नगर अस्पताल सञ्चालन गरेको छ । नगर अस्पतालमा बीमा कार्यक्रम लागू भएपछि बिरामीहरूले बीमाबाट औषधिसमेत पाउन थालेका छन् ।

स्थानीयका अनुसार बीमा कार्यक्रम नहुँदा बीमाको रेफर लिनसमेत जिल्ला अस्पताल खोटाङ जानुपर्ने बाध्यता थियो । कतिपय त छिमेकी जिल्ला ओखलढुङ्गामा रहेको मिसन अस्पतालबाट समेत बीमाका लागि रेफर सुविधा लिने गरेका थिए । अहिले नगर अस्पतालमा उपचार हुन नसके रेफर लिएर जिल्लाभन्दा बाहिर जान थालेका छन् ।

नगरपालिकाले अहिले एम्बुलेन्स सेवासमेत सञ्चालन गरेको छ । मेयर राईले भनिन्, ‘हामी आउनुभन्दा पहिले पालिकामा एम्बुलेन्स सुविधा थिएन । हामी आएपछि त्यो सुविधा थप गरेका छौं । पालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको छ ।’

पालिकाले बुवाआमा दुवै गुमाएका बालबालिका र एकल महिलाहरूका लागि आफैंले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । यस्तै अपाङ्गता भएकाहरूका लागि पनि पालिका आफैंले स्वास्थ्य बीमा गरिदिने गरेको छ ।

बालिकाको खातामा पालिकाको पैसा

नगरपालिकाले बालिका संरक्षण र शिक्षाका लागि वार्षिक ४ हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने नीति लिएको छ । स्वास्थ्य संस्था नियमित गर्भवती जाँच गराई बर्थिंङ सेन्टर या अस्पतालमा जन्मिएका बालिकाको खातामा पैसा जम्मा गरिदिने नीति लिएको नगरपालिकाले जनाएको छ । यो तीन वर्षसम्म चल्नेछ । पालिकाले बैंकमा जम्मा गरेको पैसा १५ वर्ष नपुगुञ्जेलसम्म झिक्न पाइँदैन ।

मेयर राईले भनिन्, ‘बालिकाको संरक्षणका लागि पालिकाले थोरै भए पनि पैसा जम्मा गरिदिन थालेको छ । गर्भवती जाँचका सबै प्रोटोकल पूरा गरेर जन्मिएका बालिकाले यो सुविधा पाउँछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर