बाँके प्रहरीले दुई दिनमा कसरी भेटायो डेढ करोड स्रोत नखुलेको रकम ? – Nepal Press

बाँके प्रहरीले दुई दिनमा कसरी भेटायो डेढ करोड स्रोत नखुलेको रकम ?

रुपन्देही । बाँके प्रहरीले नेपालगन्जबाट दुई दिनमा स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।

आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताएका छन् ।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हफिक अहमद पक्राउ परेका थिए। स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो।

प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए। उनीहरूको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको एसपी बोहराले बताए।

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र हसिक अन्सारी पक्राउ परेका छन्। उनीहरूको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको एसपी बोहराले जानकारी दिए।

बरामद रकम हुन्डी कारोबारको हुनसक्ने आशंका गरिएको भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। बाँके प्रहरीले स्रोत नखुलेको ठूलो रकम बरामद गरेको छ। नेपालगञ्जका दुई होटलमा छापा मारेर स्रोत नखुलेको ठूलो रकम बरामद गरेको हो। बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले पैसा धेरै रहेको र गनिरहेको जानकारी दिए। प्रहरीले पैसासँगै केही व्यक्तिलाई पनि पक्राउ गरेको छ।

बाँके प्रहरीले हिजो मात्रै ३८ लाख ६३ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको थियो। बर्दियाकी पूर्णिमा चौधरी, अनुप थारु र नेपालगञ्जका हसिव अहमद जसगढी पक्राउ परेका थिए।

हिजो र आज ठूलो रकमसहित केही व्यक्ति परेको घटनाले नेपालगञ्जमा हुन्डी कारोबार हुने गरेको आशंका गरिएको छ। बाँके प्रहरी प्रमुख एसपी बोहराले हुन्डी नै प्रमाणित नभएको र अहिलेलाई स्रोत नखुलेको रकम भन्न मिल्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *