रमजानको पूर्वसन्ध्यामा नजिर मियाँलाई ‘सरप्राइज गिफ्ट’ – Nepal Press

रमजानको पूर्वसन्ध्यामा नजिर मियाँलाई ‘सरप्राइज गिफ्ट’

पञ्चायतकालमा जनपक्षीय उम्मेदार, दुई पटक गाविस अध्यक्ष, संविधानसभा सदस्य हुँदै बने प्रदेश प्रमुख

रुपन्देही । मुस्लिम समुदाय मंगलबारदेखि सुरु हुने रमजान पर्वको पूर्वतयारी चलिरहेको थियो । यस्तै तयारीमा रहेको थियो अर्घाखाँची हाल बुटवलमा बस्ने नजिर मियाँको परिवार । यो पर्व मुस्लिम समुदायका लागि विशेष चाड हो ।

यही चाडको पूर्वसन्ध्यामा नजिर मियाँले ‘सरप्राइज गिफ्ट’ पाएका छन् प्रदेश प्रमुखको महत्वपूर्ण जिम्मेवारी । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका लागि नयाँ प्रदेश प्रमुखमा संविधान सभा सदस्य नजिर मियाँलाई सिफारिस गरेको हो । त्यहाँ रहेका प्रदेश प्रमुख देवराज जोशीलाई हटाई मियाँलाई सिफारिस गरेको हो ।

यो समुदायबादै राज्यको उच्च तहमा पुग्ने पहिलो मुस्लिम अगुवा बनेका छन् नजिर । नयाँ गठबन्धनपछि बनेको सरकारमा मुस्लिम दलित तथा पछाडि पारेको समुदायको सहभागिता नभएको भन्दै चर्को आलोचना भइरहेको बेला नजिर मियाँलाई सरकारले प्रदेश प्रमुखको महत्वपूर्ण जिम्मेवारी दिएको हो । मंगलबार रमजानको सुरुवातकै दिन बिहानै उनी यो जिम्मेवारी लिन काठमाडाैं लागेका छन् ।

‘मलाई खुसी नलाग्ने कुरै भएन, हाम्रो समुदायबाटै यो तहको सरकारी जिम्मेवारी कसैले पाएको थिएन, सिंगो समुदायलाई अपनत्व हुनेगरी जिम्मेवारी पूरा गर्नेछु, रमजानको पूर्वसन्ध्यामा मलाई दिएको यो जिम्मेवारीले निकै गर्व लागेको छ’–उनले नेपाल प्रेससँग भने–‘सोमबार बिहान म आफन्त बितेको ठाउँमा भेट्न दाङ पुगेको थिएँ, घरमा रमजानको तयारी थियो, साढे ९ बजे थाहा पाएको हुँ, आज बिहानै काठमाडाैं आएको छु ।’

पञ्चातकालीन समयदेखि राजनीतिमा जोडिएका उनी नेकपा एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य तथा हालका केन्द्रीय सल्लाहकार हनु् । २०४९ तथा २०५४ मा अर्घाखाँचीको पालीको तात्कालीन गाविस अध्यक्ष रहेका मियाँ नेपाल मुस्लिम इत्तेहाद संगठनको संस्थापक अध्यक्ष हुन् ।

उनले पञ्चालयकालमा पनि जनपक्षीय उम्मेदार बनेर थोरै मतले पराजित भएका थिए । २०६४ सालमा समानुपातिकतर्फबाट पहिलो संविधान सभा सदस्यको रूपमा उनले काम गरेका थिए ।

मुस्लिम समुदायमा सादगी सरल, पाका तथा अनुभवी राजनीतिज्ञको परिचय बनाएका मियाँ २००८ साल माघ १५ गते अर्घाखाँचीको पालीमा जन्मिएका हुन् । पञ्चायतविरुद्धको आन्दोलनबाट राजनीतिमा क्रियाशील मियाँले संविधान सभामा हुँदा मुस्लिम समुदायका सरोकारका विषयलाई समावेश गर्न महत्वपूर्ण योगदान रहेको मुस्लिम अगुवाहरु बताउँछन् ।

हाल मियाँ परिवारसहित बुटवलमा बस्दै आएका छन् । ७ दाजुभाई रहेका नजिरका ६ छोराहरु अधिकांश व्यवसायिक क्षेत्रमा भएपनि उनी भने सधै राजनीति तथा सामाजिक संघसंस्थामै आवद्ध रहेर काम गरिरहेका छन् ।

नजिरकै अगुवाईमा नेपाल मुस्लिम इत्तेहाद संगठन बनेको थियो र त्यसको नेतृत्व गरेर उनले देशैभरी संगठन बनाएका थिए । नेपाल मुस्लिम इत्तेहाद संगठनका संस्थापक अध्यक्ष रहेका उनलाई सिंगो मुस्लिम समुदायले अभिभावक मान्ने गरेका छन् । उनी संविधान सभाको समयमा सँविधानको अध्ययनको सिलसिलामा विभिन्न देशमा भ्रमण गरेका थिए ।

केही समययता उनी अन्तरधार्मिक सद्भाव महासङ्घ गठन गरी समाजमा धार्मिक हिँसा र द्वन्द्वको निराकरण गर्ने अभियानको नेतृत्व गरेका छन् । असल र आशालाग्दा सादगी नेताको पहिचान बनाएका उनले सङ्घर्षशील आवाजहरु नामक कृति प्रकाशन गरेका छन् ।

राष्ट्रिय मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले मियालाई प्रदेश प्रमुख बनाएर सरकारले यो समुदायको उच्च सम्मान गरेको बताउँछन् । ‘यसले समावेशीताको सिद्धान्तलाई कार्यान्वयन गरेको छ, यो समुदायबाट पनि राज्यको पहुँचमा पुग्न सकिन्छ भन्ने हिम्मत र आँट पलाएको छ, हाम्रो समुदाय निकै खुसी भएको छ, हौसला भएको छ, मन्त्री भएपनि यो तहको सर्वोच्च पदमा समुदायबाटै कोही पुगेको थिएन, उहाँलाई सिफारिस गर्ने पार्टी र नियुक्त गर्ने सरकारलाई धन्यवाद छ’–उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर