आरती साह मृत्यु प्रकरण : पक्राउ परेका देवर रविलाई छुटाउन अदालत अगाडि प्रदर्शन – Nepal Press

आरती साह मृत्यु प्रकरण : पक्राउ परेका देवर रविलाई छुटाउन अदालत अगाडि प्रदर्शन

जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा पक्राउ परेका देवर रवि साहलाई छुटाउन धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ ।

फाल्गुन २३ मा रविलाई जनकपुरधाम ९ थापा चोकस्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । अदालतको आदेशमा पक्राउ परेका उनी थुनामा छन् ।

आफन्तहरूको एक समूहले अदालत अगाडी रविलाई छाड्न र उजुरीकर्तालाई नै कारबाही गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले प्रहरी प्रशासन र अदालतविरुद्ध पनि नाराबाजी गरेका थिए ।

गत जेठ ७ मा आफ्नै घरमा आरती झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको कारण श्रीमान्, सासू, ससुरा, देवर लगायतले आरतीको हत्या गरेको माइती पक्षको आरोप छ ।

आरतीको हत्या आरोपमा उनका श्रीमान् मोतीबाबु साह पूर्पक्षका लागि अहिले कारागारमा छन् । सर्वोच्च अदालतको आदेशमा उनलाई धनुषा प्रहरीले गत पुस ९ मा पक्राउ गरेको थियो ।

आरतीको मृत्यु प्रकरणमा माइती पक्षले आन्दोलन गर्दा तत्कालै पक्राउ परेका उनका श्रीमान् मोतीबाबु अदालतबाट साधारण तारेखमा छुटेका थिए । त्यसपछि मुद्दालाई कमजोर बनाएको भन्दै आरतीको आमा, बुवा, दाइ र बहिनी आन्दोलन गर्दै आएकी छन् ।

उनीहरू काठमाडौंमा धर्ना बसेको आज १० महिना पुगेको छ । धर्नासँगै सर्वोच्च अदालतमा रिट हालेपछि आरतीको श्रीमानलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतले आरती मृत्यु प्रकरणमा उनकी सासू रेणु देवीलाई पनि पक्राउ गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ । तर पक्राउ पर्न सकेकी छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर