रुपन्देहीको तिलोत्तमामा चैत १४ र १५ गते प्रथम दलित ज्ञान उत्सव हुँदै – Nepal Press

रुपन्देहीको तिलोत्तमामा चैत १४ र १५ गते प्रथम दलित ज्ञान उत्सव हुँदै

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४ र १५ गते प्रथम ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रिडरको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो ।

तिलोत्तमा नगरपालिकामा प्रथम दलित ज्ञान उत्सव हुन लागेको जानकारी गराउन पाउँदा गौरवान्वित भएको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले जानकारी दिए ।

दलित तथा सीमान्तकृत समुदायका विभिन्न सामाजिक आन्दोलनको उर्वर भूमिको रूपमा मात्र नभएर विश्वलाई समानता र करुणाको ज्ञान दिने गौतम बुद्धको जन्मभूमिमा उत्सव आयोजना हुनु आफैमा सामाजिक न्यायका लागि नयाँ अध्यायको सुरुवात भएको उनको भनाइ छ ।

नेपाली समाजको सामाजिकीकरण र गतिशीलताका लागि दलित समुदायको महत्त्वपूर्ण योगदान रहेको समेत उनले बताए । उत्सवले गुमेको दलित समुदायको आत्मसम्मान र स्वाभिमान जगाउन महत्त्वपूर्ण योगदान दिने नगरप्रमुख खाँणको विश्वास छ ।

तीव्र विकास हुँदै गरेको तिलोत्तमा नगरले सामाजिक न्यायको क्षेत्रमा पनि काम गर्दै आइरहेको अवस्थामा दलित ज्ञान उत्सवले नयाँ इट्टा थप्ने तिलोत्तमा नगरपालिकाले जनाएको छ । यो उत्सवमा सहभागी हुनका लागि नगरपालिकाले सबैलाई आग्रह गरेको छ ।

तीन दिनसम्म चल्ने ‘दलित ज्ञान उत्सव’मा १४ भन्दा बढी सेसन तथा सांगीतिक प्रस्तुति हुने दलित रिडरका सल्लाहकार सुभाष नेपालीले जानकारी दिए ।

ज्ञान उत्सवको मुख्य विषयमा दलित समुदायका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक लगायतका विविध विषयमा विमर्श हुने उनको भनाइ छ ।

बुटवलस्थित होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन चल्नेछ । उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हातेमालोका लागि हामी सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धानदाता तथा पत्रकारको उपस्थिति रहने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर