जहाँकी कार्यालय सहायक थिइन्, त्यहाँकै मेयर बन्न सफल माडीकी ताराकाजी – Nepal Press
उदाहरणीय महिला जनप्रतिनिधि–२

जहाँकी कार्यालय सहायक थिइन्, त्यहाँकै मेयर बन्न सफल माडीकी ताराकाजी

चितवन । गएको स्थानीय निर्वाचनमा चितवनको माडीका स्थानीय थारु बस्तीमा पुगेर आफ्नो मेयर कार्यकालका उपमेयर ताराकाजी महतोविरुद्ध ठाकुर ढकालले भनेका थिए- छोरीचेलीलाई भोट दिने होइन । सुनको सिक्री दिएर पठाउने हो ।

आफ्नो चुनावी अभियानमा शान्त स्वभावकी महतोले कुनै प्रतिक्रिया दिइनन् । आफ्नै सरल शैलीमा माडीका ९ वटै वडाका घरघर पुगिन् । आफू उपमेयर हुँदा गरेको कामबारे मतदाताहरुलाई खुलेर बताइन् । मेयरमा जिम्मेवारी दिए गर्न सकिने सम्भावनाबारे प्रस्ट पारिन् । मतदाताले पनि सरलतासँग पत्याए । यसअघि गरेको न्याय सम्पादनमा विश्वास गरे । गठबन्धनबाट उठेका प्रतिद्वन्द्वी पुरुषको महिलाद्वेषी अभिव्यक्तिलाई मतमार्फत जवाफ दिए ।

अन्ततः नेपालकै विशेष भौगोलिक अवस्थिति रहेको पूर्ण मध्यवर्ती उपत्यका माडी नगरको मेयर बनिन् स्थानीय धर्तीपुत्री ताराकुमारी काजी महतो ।

कार्यालय सहायकदेखि मेयरसम्म

माडीमै २०३२ सालमा जन्मिएकी महतोले मेयर निर्वाचित भएपछि एउटै जीवनकालमा कार्यालयको तल्लो पद सहयोगीदेखि सबैभन्दा माथिल्लो पद मेयरसम्म हुने अवसर पाइन् ।

पातलो जीउडाल । सरल जीवनशैली । नम्र बोलीचाली । स्थानीय सिंहदरबारका बाघ झैं बनेर शासन गरिरहेका पुरुष वा सत्ता र पदको ठाँट गर्नेहरुले पहिलो पटक भेट्दा महतो मेयर झैं महसुस नहुन पनि सक्छ । तर, उनको समन्वयात्मक शैली गजबको छ । फरक मत राख्नेहरु पनि महतोको कार्यशैलीको तारिफ गर्छन् । समकक्षी पनि उनको सरल स्वभावका फ्यान छन् ।

संघीयतापछि भएको स्थानीय तह निर्वाचनमा माडी नगरपालिका पटक पटक विवादमा पर्‍यो । कहिले अनियमित रुपमा सार्वजनिक जमिन भाडामा दिएर, कहिले जिम्मेवारी लिएर आइसकेका कार्यकारी अधिकृत फिर्ता पठाएर त कहिले निकुञ्जको कोर क्षेत्रमा डोजर चलाउने अनुमति दिएर मुद्दासमेत जनप्रतिनिधिले खेपे । तर, अहिले न निकुञ्जसँगको रस्साकस्सी सतहमा आएको छ न त अनियमितताको खबर नै ।

नेकपा माओवादीका स्थानीय युवा नेता सन्तोष पनेरुको घर मेयर महतोको नजिकै छ । महतोको जीवनशैलीबारे उनी भन्छन्, ‘सरल बानी व्यवहार र पारदर्शी जीवनशैली उहाँको मुख्य विशेषता हो ।’

छोरीसँगै १२ कक्षा पास

सामान्यतया चितवनका आदिवासी थारु समुदायको जीवनशैली प्रकृतिको समीपमा बितेको पाइन्छ । महतो २०३० सालमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको दुई वर्षपछि जन्मिएकी थिइन् । माडी पूरै निकुञ्जले घेरेको बस्ती । अहिले झैं बस्ती र विकास फैलिएको थिएन । निकुञ्जको छेउछाउ घाँसदाउरा गर्दै हुर्किइन् उनी ।

त्यो समय पुल थिएन । पक्की सडक थिएन । चितवनको सदरमुकाम भरतपुरबाट कोशौँ टाढा कर्णाली झैं व्यवहार गरिन्थ्यो माडीलाई । एक वस्तीबाट अर्कोमा पुग्न खोलाले बाधा दिन्थ्यो । उनलाई वर्खाले वस्तीबाटै विछोड गराउने खोलामा हेलिँदै विद्यालय पठाए उनका निरक्षर बुबाआमाले ।

माडीकै खैरहनी प्राथमिक विद्यालयबाट कक्षा ७ सम्म अध्ययन गरिन् । त्यसमाथिको पढाइ उक्त विद्यालयमा थिएन । उतिबेला थारु समुदायका पढ्ने छोरी नै कम थिए । २०४८ सालमा उनले एसएलसी उत्तीर्ण गरिन् ।

एसएलसी पास गरेपछि पढाइको थप अवसर भएन । केही वर्ष मेलापात, घाँसदाउरामै बित्यो । २० वर्षमा परिवारले बिहे गरिदियो । बिहेपछि दुई छोरीको जन्म अनि घरपरिवारको जिम्मेवारीमै पूर्ण दिन बितिरहेको थियो उनको । एसएलसी उत्तीर्णको महत्व भएर पनि उनले घर बाहिरको अवसर पाएकी थिइनन् ।

त्यही समयमा युनिसेफले आमा तथा बालबालिकाको स्वास्थ्य, पोषणलगायतको अवस्था सुधारको लागि डकाउ कार्यक्रमको थालनी गरेको थियो । त्यही डकाउ कार्यक्रममा महतोले सामुदायिक सहजकर्ताको रुपमा काम पाइन् ।

त्यही कामको थालनीपछिको निरन्तर यात्रा मेयरसम्म आइपुगेको छ । डकाउ कार्यक्रम सरकारी कार्यक्रममै समाहित गरिएपछि उनको पनि काम वडामा सुरु भयो । २०६१ सालमा महतो बघौडा गाउँ विकास समितिमा कार्यालय सहयोगी नियुक्त भइन् । पढाइ एसएलसी उत्तीर्ण भएकाले उनको काममै पदोन्नति भयो । राज्य संघीय संरचनामा जानुअघि २०६७ सालमा उनी बघौडा गाउँ विकास समितिको वडा नम्बर ३, ४ र ५ को संयुक्त वडा सचिव बनिन् ।

यहीबीचमा उनले आफ्नो पढाइ पनि अघि बढाउने निर्णय गरिन् ।

‘जेठी छोरीलाई कक्षा ११ पढ्न भरतपुरको एक कलेज पठाएँ’, उनी भन्छिन्, ‘मलाई पनि पढ्नुपर्छ भन्ने लाग्यो, माडी माविमा कक्षा ११ भर्ना भएँ । हामी आमाछोरी दुबैले १२ कक्षा सँगै पास गरेका हौं ।’

वडा सचिवबाट सुरु भयो राजनीतिक जीवन

महतोको पृष्ठभूमि सक्रिय राजनीतिक होइन । उनका बाबुआमा सामान्य किसानमात्रै हुन्, श्रीमान पनि प्राथमिक विद्यालयका शिक्षक ।

राजनीतिक पृष्ठभूमिको नभए पनि उनको परिवार नेकपा एमालेप्रति आस्थावान थियो । त्यही समय नेकपा एमालेले पनि थारु बहुल बस्ती भएको माडीमा उपमेयर थारु समुदायकै खोजिरहेको थियो । समुदायको प्राथमिकतामा छानिएकी थिइन्, महतो ।

उनले जिम्मेवारी स्वीकार गरिन् । तर, राजनीतिक तिकडम नजानेकी उनलाई उम्मेदवार बनेर कति सही गरें वा गरिनँ अझै यकिन थिएन । यद्यपि उपमेयरमा उनलाई माडीका मतदाताले विश्वास गरे ।

त्यो समय आफूले के गर्ने भन्ने नै निर्क्योल थिएन । चितवनमा यहाँकै युवाहरुको समूह बेटर चितवनले आयोजनाको प्यानल छलफलका क्रममा महतोले भनेकी थिइन्- ‘मैले त्यो बेला आफ्नो जिम्मेवारी थाहा पाउन ऐन-कानून कति पढें पढें ।’

हुन पनि स्थानीय न्याय सम्पादनमा उनको कार्यकाल अब्बल भयो । विवाद चर्किंदै अदालतसम्म पुगेको घटना पनि उनको न्यायिक च्याम्बरमा छलफल र सहमतिपछि अदालती छिनोफानोमा पुग्न थाल्यो ।

‘एक पटक त श्रीमानश्रीमती सम्बन्ध विच्छेद गर्न अदालत गइसकेका रहेछन्’, उनले न्याय सम्पादनको अनुभव सुनाउँदै भनिन्, ‘अदालतमा लामो समय मिल्न नसकेपछि मकहाँ आउनुभयो । मैले छलफल गराएँ । त्यसपछि माइती पक्षले विवाहमा दिएको दाइजो र घर पक्षले दुलहीलाई दिएको गहना लिस्टसहित नै बोकेर मकहाँ आउनुभयो । यता छलफल गरेर अदालतमा मिलेर आउनुस् भनेर पठाएँ । उहाँहरु मेलमिलापबाट सम्बन्ध विच्छेद गरेर आउनुभयो र आआफ्नो सामान लिनुभयो ।’

यस्ता र यीभन्दा निकै जटिल घटनाहरुको न्याय सम्पादन, अनुगमनलगायतका काममा उनले कहिल्यै पदीय सीमा मिचिनन् । धेरै स्थानीय तहमा मेयर र उपमेयरबीच पानी बाराबारका घटना सार्वजनिक भइरहँदा माडी नगरपालिकाकी तत्कालीन उपमेयर महतो विवादित भइनन् ।

चेलीलाई सुन होइन भोट ‘दाइजो’

निर्वाचित भएको दुई वर्ष पुग्न लाग्दा पनि मेयर महतोलाई बेला बेला चेलीलाई ‘सुनको सिक्री’ भन्ने अभिव्यक्तिले पीडाबोध गराउँछ । सार्वजनिक कार्यक्रमहरुमा महिला भएकाले केही गाह्रो भयो भन्दा उनी यही किस्सासहित स्त्रीद्वेषी अभिव्यक्तिको उदाहरण पनि दिने गर्छिन् ।

२०७० सालको स्थानीय तह निर्वाचनले यूटर्न गरिदिएको उनको जीवनको यात्रा मेयरसम्म आइपुगेको छ । यसमाथि उनको राजनीतिक यात्रामा दल र नागरिकले पत्याउलान् या नपत्याउलान् । तर, आफ्नो काम शालीन र भद्र तरिकाले गर्न सकिन्छ भन्ने विश्वास भइसकेको छ उनलाई ।

पदीय हिसाबमा पहिलो र दोस्रो हुँदाको फरक अनुभूति भने अझ राम्रोसँग गरिरहेकी छन् । आफ्नो नीतिगत सीमा बुझेकीले त्यसबाहिर जाँदिनन् महतो । तर, नागरिकले त्यो किन भयो बुझ्दैनन् ।

‘हाम्रोमा सडक चाहियो, यस्तो कुरा गरिदिनुस् भनेर नागरिकहरु जुनै समयमा पनि आउनुहुन्छ’, मेयर महतो भन्छिन्, ‘बजेटको प्रक्रिया, सीमा र सीमित स्रोतसाधनका कारण उहाँहरुले भने जस्तो चित्त बुझाउन पनि सकिँदैन ।’

महिला मेयर भएकाले उनले चर्को अनुभूत गरेको अर्को भोगाइ पनि छ । ‘पुरुषहरु चियाचौतारामा हाट्टहुट्ट गर्ने र आफ्नो कामको प्रचार गर्ने गरिहाल्थे’, उनी भन्छिन्, ‘म जुनै पदमा पुगे पनि महिला नै हो । आफ्नो प्रचार गर्न भ्याइँदैन, दायित्व बढी छ । हल्ला कम हुन्छ ।’


प्रतिक्रिया

2 thoughts on “जहाँकी कार्यालय सहायक थिइन्, त्यहाँकै मेयर बन्न सफल माडीकी ताराकाजी

  1. प्रगतिको मार्ग समाउनुस् जनताको काममा एकाकार हुनुस् शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर