बेइजिङका नेपाली वैज्ञानिक कट्टेल भन्छन्- नेपाल र चीनबीच विज्ञान कूटनीति अत्यावश्यक
काठमाडाैं । चिनियाँ प्रधानमन्त्रीलाई नेपालीले भेट्ने सामान्य साइत भनेको नेपाल आउँदा वा चीन जाँदाको उच्च तहको भ्रमण दलका सदस्यले मात्रै हो । तर, भोजपुरका डीबी कट्टेलले तत्कालीन चिनियाँ प्रधानमन्त्री लि खस्याङलाई उच्च तहको भ्रमण दलमै नमिसिएर भेटे ।
उनले चीनमा भएका विदेशी वैज्ञानिकको रुपमा सन् २०२१ फेब्रुअरी २ मा खस्याङलाई भेटेका थिए । चीनले दिने सात लाख चिनियाँ युआनको फेलोशिप पनि पाए उनले ।
उनले सन् २०२३-२०२४ को लागि उक्त फेलोशिप पाएका थिए । चीन सरकारको विज्ञान अनुसन्धानको मुकाम चाइनिज एकेडेमी अफ साइन्सेजमा आबद्ध कट्टेल तिब्बती प्लेट्युको अध्ययन केन्द्रमा आबद्ध छन् । दुई दर्जनभन्दा धेरै खोज अनुसन्धानपत्र लेखेका उनका लेखहरुको साइटेसन तीन हजारभन्दा धेरै पटक भएको छ ।
भोजपुरको दिङ्लाका कट्टेलले अरुण उपत्यका सेरोफेरोको अरुण माध्यमिक विद्यालयमा पढेका थिए । प्रवेशिका परीक्षामा प्रथम डिभिजन ल्याएपछि उनी विज्ञान पढ्न काठमाडौं आए । काठमाडौं आएर विज्ञान पत्रकारिता गरे । विज्ञान सञ्चार गरे । नेपालमा स्नातकोत्तरसम्म पढेका उनले विद्यावारिधि चीनमा र महाविद्यावारिधि जर्मनीमा गरे ।
भोजपुरको दुर्गम गाउँदेखि विश्वको शक्ति केन्द्रको मुकामसम्म कट्टेललाई पु¥याउने शक्ति विज्ञान हो, अनुसन्धान हो । उनै कट्टेललाई सबैभन्दा पहिलो प्रश्न चिनियाँ प्रधानमन्त्रीसँगको भेटको सोधियो ।
प्रश्नमा उनी खुशी र दुःखी भए । खुशी किनभने उनले एक नेपाली वैज्ञानिकको रुपमा चिनियाँ प्रधानमन्त्री भेटे । भेटमा प्रधानमन्त्रीले उनलाई हार्दिकता देखाएर आउजाउ हुँदाको आँखा जुधाइमा ‘नेपाल’ भनिरहे । दुःख हुने कारण चैँ उनले भेटको प्रधानमन्त्री खस्याङको गत अक्टोबर २७ मा मृत्यु भयो ।
चिनियाँ प्रधानमन्त्रीले विदेशका वैज्ञानिकलाई पनि चासो गरेर भेट्ने नजिरका साक्षी कट्टेल आफैं हुन् । नेपालको नास्टमा कुनै बेला जोडिएका उनलाई प्रधानमन्त्रीले नेपाली वैज्ञानिकलाई समय दिएर भेटेको याद छैन । हौसला दिएको त झनै याद छैन । विदेशमा रहेका नेपाली वैज्ञानिकलाई मानमनितो र संवाद गर्ने त परको कुरा ! नेपालमा विकास र समृद्धिको कुरामा पछि हुने एक कारण यस्तो खालको प्रवृत्ति पनि हो भन्ने लाग्छ कट्टेललाई ।
उनी भन्छन्, ‘नेपालमा सरकार र वैज्ञानिक जोड्ने कुनै सञ्जाल नै छैन जस्तो लाग्छ ।’
चीन भ्रमणमा पुगेका नेपालका मन्त्री, प्रधानमन्त्री राष्ट्रपतिले समेत चीनका नेपाली वैज्ञानिकहरुको कुरा सुन्ने, आफ्नो भ्रमण दलमा राख्ने वा सल्लाह लिने काम नगरेको कट्टेल बताउँछन् । यसो हुनुमा सरकारको मात्रै दोष देख्दैनन् कट्टेल । उनी भन्छन्, ‘वैज्ञानिकहरुकै पनि व्यक्तिगत, व्यवसायिक र राजनीतिक स्वार्थले यस्तो भएको हो ।’
यद्यपि यस्ता काममा सरकारले नै अगुवाइ गर्नुपर्नेमा भने उनी प्रतिबद्ध छन् । भन्छन्, ‘विदेशमा भएका खोज अनुसन्धान गर्ने विज्ञहरु गुममान छन् । उनीहरुले देशलाई दिनसक्ने योगदानको कुनै लेखाजोखा छैन ।’
चीनमा नेपालीहरु विद्यार्थी वा व्यापारीको रुपमा मात्रै नगएर विज्ञको रुपमा जाने कुरा कुनै नौलो होइन भन्ने कट्टेलको तर्क छ । भिक्षु बुद्धभद्रले संस्कृत भाषामा भएका बुद्ध धर्मका ग्रन्थहरु पाँचौँ शताब्दीमा चिनियाँमा अनुवाद गर्न चीन पुगेको उनी सम्झन्छन् ।
उनी सम्झन्छन्- सातौं शताब्दीमा तिब्बत पुगेर नेपाली कीर्ति फैलाउने लिच्छवि राजकुमारी भृकुटी र तेह्रौं शताब्दीमा युआन वंशको कालमा चीनको बेइजिङ पुगेर कलाकारिता फैलाउने अरनिको । नेपाल र चीनको विज्ञ केन्द्रित आउजाउ पाँचौं शताब्दीमै भए पनि विज्ञान केन्द्रित आउजाउ भने धेरैपछि भएको कट्टेल बताउँछन् ।
उनी भन्छन्, ‘नेपाल र चीनको उच्च तहको विज्ञान कार्यक्रम सन् २००९ मा मात्रै सुरु भएको हो ।’
नेपाल र चीनको विज्ञान तहको कार्यक्रम ढिलो सुरु भए पनि त्यसको सम्भावना ज्यादै भएको उनी ठान्छन् । नेपालको विकासमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा विज्ञान क्षेत्रमा व्यापक विकास गरिरहेको चीनसँग सहकार्य गर्न सक्ने उनी बताउँछन् ।
उच्च हिमाली भागको वैज्ञानिक तथा जलवायु अध्ययन, अनुसन्धानमा चीनतर्फ भएको कामले नेपाल र नेपालतर्फ भएको कामले चीनलाई फाइदा हुने उनको भनाइ छ । बेइजिङ बस्दै आएका उनले तिब्बतको हिमाली क्षेत्रको अध्ययनमा आफूहरु लागेको र त्यसले नेपालमात्रै होइन विश्वलाई नै सहयोग गर्ने बताए ।
नेपालमा उच्च हिमाली भागको अध्ययनमा सन् १९८० र १९९० को दशकबाट फ्रान्स, जर्मनी, इटाली, जापान जस्ता देशको उपस्थिति भएकोमा पछिल्लो समयमा नेपालको आफ्नै उपस्थिति भइरहेको बताउँछन् कट्टेल ।
उनी भन्छन्, ‘सन् २०१० सम्म नेपालमा उच्च हिमाली क्षेत्रको खोज अनुसन्धान एकदम कमजोर थियो । पछिल्ला वर्षहरुमा नेपाली खोज तथा अनुसन्धाताहरुले राम्रो काम गरिरहेका छन् ।’
सन् १९८९ बाट विज्ञान सञ्चार तथा विज्ञान पत्रकारितामा जोडिएका कट्टेललाई अहिले पनि विज्ञान पत्रकारिता तथा विज्ञान सञ्चारसँग चासो छ । उनी मूलधारका मिडियाहरुमा विभिन्न लेखहरु लेखिरहन्छन् । विज्ञान पत्रकार तथा सञ्चारकसँग भेटघाट गरिरहन्छन् । जस्तै गत असारमा नेपाल आएका उनले नेपालका केही विज्ञान क्षेत्रमा कमल चलाउने पत्रकारहरुसँग छलफल गरेका थिए ।
विज्ञानको प्रगति र देशको विकासमा विज्ञान सञ्चार र विज्ञान पत्रकारिता महत्वपूर्ण हुने कट्टेल बताउँछन् । भन्छन्, ‘नेपालमा मात्रै होइन विश्वका सबै देशमा विज्ञान क्षेत्रको खोज अनुसन्धान र विकासमा व्यवसायिक विज्ञान पत्रकारिता महत्वपूर्ण हुन्छ ।’
चीनको विज्ञान क्षेत्रको तीव्र प्रगतिको सकारात्मक असर नेपालमा पर्ने तर त्यो स्वतः भने नहुने कट्टेल बताउँछन् । चीनको विज्ञान प्रगतिको सकारात्मक असर पार्न नेपाल आफैं सक्रिय र जागरुक हुनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘यसमा देशको भूमिका र सहभागिता प्रमुख कारक हुन्छ ।’
बेल्ट एण्ड रोड इनिसिएटिभबाट चीनको विज्ञान प्रगतिको सकारात्मक फाइदा नेपालले लिनसक्ने कट्टेल बताउँछन् । त्यसको लागि नेपाल सरकारले विज्ञान कूटनीति गर्नुपर्नेमा उनी जोड दिन्छन् । भन्छन्, ‘नेपाल र चीनको विकास साझेदारी, प्रविधि हस्तान्तरण र समृद्धिको लागि विज्ञान कूटनीति अत्यावश्यक छ ।’
नेपाल-चीन विज्ञान कूटनीतिमा सरकारले नेपालका जनशक्तिमात्रै नभएर चीनका नेपाली विज्ञान क्षेत्रका जनशक्तिलाई सदुपयोग गर्नसक्ने कट्टेल बताउँछन् । नेपालले विज्ञान कूटनीतिमा नेपाल-चीनमात्रै होइन नेपाल-भारतबीच पनि देखिने काम गर्न नसकेको कट्टेल बताउँछन् । नेपालको परराष्ट्र नीतिमा विज्ञान कूटनीतिले कुनै गतिलो स्थान नपाएको उनको गुनासो छ । भन्छन्, ‘दुःखद सत्य यो छ कि नेपालले छिमेकीहरुबाट फाइदा लिने प्रस्ट विज्ञान कूटनीति अख्तियार गर्न सकिरहेको छैन ।’