इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
काठमाडौं। लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक नेपालीलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
इलाम नगरपालिका–१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ ठेगाना भएका २५ वर्षीय विकास बसेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।
थप अनुसन्धान एवम् सोधपुछको क्रममा उक्त लागूऔषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २५ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा बुझाइएको छ ।