गैँडाको संख्या र वासस्थान मिलाउँदै वन्यजन्तु विभाग, चितवन निकुञ्जमा पश्चिमको गैँडा पूर्व सारिँदै
चितवन । देश भित्रकै विभिन्न संरक्षित क्षेत्रमा गैँडा स्थानान्तरण गर्दै आएको चितवन राष्ट्रिय निकुञ्जले शुक्रवारदेखि निकुञ्ज भित्रै गैँडा सार्न लागेको छ । निकुञ्जले सौराहादेखि पूर्वी क्षेत्रमा पश्चिम क्षेत्रका गैँडा सार्न लागेको हो ।
वन तथा वातावरण मन्त्रालयको सचिव स्तरीय निर्णयको कार्यान्वयन गर्दै निकुञ्जले निकुञ्जको सौराहा पूर्वी भेगमा सार्न लागेको छ ।
गत माघ २४ गते मन्त्रालयको सचिव स्तरीय निर्णयबाट १० वटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने भनिएकोमा अहिले ६ वटा मात्रै सार्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
तीन वर्षअघि सार्वजनिक गरिएको गैँडाको तथ्याङ्क अनुसार अहिले देशका संरक्षित क्षेत्रमा ७ सय ५२ वटा गैँडा छन् । भने चितवन राष्ट्रिय चितवन निकुञ्जमा मात्रै ६ सय ९४ वटा रहेको तथ्यांक छ ।
सन् २०२१ को गणना अनुसार यहाँ भएका मध्ये ६४ दशमलव ९ प्रतिशत गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा रहेका छन् भने ३५ दशमलव १ प्रतिशत गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार साहले जानकारी दिए ।
‘गैँडाको सुरुआती गणनामा पूर्वी क्षेत्रमा धेरै पश्चिम क्षेत्रमा कम गैँडा थिए, वरिष्ठ इकोलोजिष्ट साहले नेपाल प्रेससँग कुरा गर्दै भने, — अहिले संख्या ठ्याक्कै उल्टो भएकोले कसरा पश्चिमका ६ वटा गैँडालाई पूर्वी क्षेत्रमा सार्न लागिएको हो ।
उनका अनुसार एकै क्षेत्रमा मात्रै गैँडाको संख्या बढी हुँदा गैँडाको संख्या वृद्धिदर पनि ह्रास हुँदै गएको छ । सन् २०११ को गणनामा ३ दशमलव ४ प्रतिशत वृद्धिदर रहेकोमा सन् २०२१ को गणना प्रतिवेदनमा चितवनमा गैँडा वृद्धिदर २ दशमलव ७ रहेको उनले जानकारी दिए ।
प्राविधिक टोली सहित चितवन आइसकेको गैँडा स्थानान्तरण टीमले प्राविधिक तयारी भोलिसम्म सकाउने जनाएको छ । पर्सि शुक्रवारबाट थालिने आन्तरिक स्थानान्तरणमा वयस्क भाले र पोथी गैँडा सारिने साहले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पूर्व र पश्चिमको जेनेटिक क्रस गराएर प्रजनन दर बढाउने उद्देश्य पनि गैँडा स्थानान्तरणले लिएको छ ।
निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा गैँडा बस्ती बस्तीमा पस्दा स्थानीय र वन्यजन्तुबीच द्वन्द्व पनि बढ्ने गरेको थियो । एकै क्षेत्रमा गैँडा बढी हुँदा पर्याप्त वासस्थानको अभाव पनि हुने गरेकोले बस्ती आसपासका गैँडा स्थानान्तरणले वासस्थान व्यवस्थापनमा पनि सहयोग उनले तिवारी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालको गैँडाको मूल वासस्थान हो । यहाँबाट देशका विभिन्न संरक्षित क्षेत्रमा अहिलेसम्म १ सय २ वटा गैँडा स्थानान्तरण गरिएको छ । भने, नेपालले विभिन्न ९ देशलाई अहिलेसम्म २६ वटा गैँडा उपहार पठाइसकेको छ ।